’पिंजराकी चरी’

Spread the love
Taranath, Bhandari, तारानाथ भण्डारी , pallawa, पल्लव

तारानाथ भण्डारी

परें पिंजरामा अताली रहन्छु ।
सधै भोकभोकै म केके सहन्छु ।।
म आहार खोज्दै उडें भुर्र भुर्र ।
थियो एक ब्याधा दगुर्दै खुरुर्र ।।

गुलेली समाई सिकारी छ डुल्दै ।
यतै मार्छ झैं भो कुटीमा नपुग्दै ।।
लिने भो कि मेरो सफा स्वच्छ आत्मा ।
म मर्नेछु राती बचाऊ विधाता ।।

 

बचेराहरू छन् गुँडैमा अकेला ।
पुगूँ खै कसोरी ! भयो है अबेला ।।
मट्याङ्ग्रा उठाई छ घेल्दै सिकारी ।
रुँदैछन् बचेरा मलाई पुकारी ।।

पखेटाहरू यी भए अङ्गभङ्ग ।
लगायो निसाना यतै झट्टपट्ट ।।
हरे दैव के यो हतासा दिदैछौ ?
अभागी चरीको तमासा लिदैछौ ।।

मनुष्यत्व यै हो ! दया-धर्म तिम्रो ?
बुझेनौ बुझेनौ दुखाई चरीको ।।
बिचल्ली बनायौ बचेराहरूको ।
कठै के छ चाला परेवाहरूको ।।

छन्द- भुजङ्गप्रयात,,
तारानाथ भण्डारी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *