यहाँ फाँट बाँझै छ नाङ्गो छ डाँडो
बजारी कुरा मात्रले भर्छ भाँडो
न सङ्लो छ पानी न खाना छ शुद्ध
सदा मौनता साध्न सक्छन् प्रबुद्ध ।।
कतै छैन विश्वास सद्भावनामा
पराधार झल्कन्छ अायोजनामा
न ता वृत्तमा स्वच्छ हावा बहन्छ
न यो जिन्दगी जिन्दगी झै रहन्छ ।।
नखुल्ने भयो चेतना चेतनामा
नचल्ने भयो देश अाफ्नो पनामा
यहाँ भेट्न गाह्रो भयो मिष्ठ भाव
छचल्किन्छ सारा तनावै तनाव ।।
सबै धूर्तले नाक ठाडो बनाए
उनैसङ्ग लागेर नेता गन्हाए
नगर्ने भए स्वार्थ छाडेर काम
सबैका सबै नक्कली छन् तमाम ।।
सधैँ अाशमा श्वास सञ्चार हुन्छ
सधैँ वेदना छट्पटाएर रुन्छ
अहो ! देशको दर्द बुझ्नै छ गाह्रो
समस्या सदा बन्छ जङ्गी तगारो ।।
छन्दः भुजङ्गप्रयात
हर्कपुर, नवलपरासी ।