चक्रव्यूह !

Uttam, Krishna, Majgaiyan, Ghorahi, Danga, उत्तमकृष्ण मजगैया, pallawa, पल्लव

उत्तमकृष्ण मजगैया

आ-आफ्ना काँधमा भिरेका
ठुल्ठुला झोलाहरूमा
घोषणापत्रका नयाँ संस्करणका साथ
परिवर्तनका केही सुन्दर सपना
महझैँ मीठा आश्वासन तथा
अलिकति लज्जा र
अलिकति क्षमायाचनाका
नयाँ प्याकेजहरू बोकेर
घोषित शत्रुहरूप्रति आक्रामक
तर हामीप्रति नतमस्तक बन्दै
हिमाल-पहाड-तराईका
गाउँ-सहरभित्र पस्दैछन्

सुरक्षाका चौघेरासाथ
अब फेरि विदूषकहरू !

 


कति निहुरेको छ !
कति शिथिल छ !
किच्च-किच्च हाँस्दै
लिसोले टाँसेझैँ
दुवै हात जोडेको जोड्यै छ,
आफ्नो पवित्रताको विश्वास दिलाउन
जानेजति किरिया खाँदै छ,
तर स्यालको धुर्त्याइँ र
ब्वाँसोका दाह्रा लुकाउन कठिन भो
त्यसैले प्रजातन्त्रको गीत गाउँदै
शहीदहरूको रामनामीले
आफूलाई गम्लङ्ग छोपेको छ
अनि, विकास र परिवर्तनका नाममा
रचिरहेको छ जनताको वरिपरि
अब अर्को नयाँ चक्रव्यूह !
अभिमन्युको भूमिकाका लागि श्रापित
भोको निमुखो र सोझो जनता
धेरै कुरा जान्दाजान्दै पनि
पूर्ण निकास जान्दैन, त्यसैले
पुन: फस्छ चक्रव्यूहको नियतिमा
अर्को पाँच वर्षका लागि !!

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *