‘‘जीवन ’’

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

प्रभु ! जीवन फूल कि पत्थर हो ?
कि त यो “जिउँदो” चिनिने भर हो ?
नमिठो सपना कि त ठक्कर हो ?
कि त यो भ्रमको विषसागर हो ?

यदि जीवनको विधि हुन्छ भने
किन जीवन उच्च र निम्न बने ?
जब जन्म हुँदा सम हुन्छ कला
तर भिन्न बने किन भूमि-तला ?

 

मन ईश्वरको घर हुन्छ भने
कसका मनमा कुन तीर्थ बने ?
मन नै “शुभ” को दरबार भए
रिसराग नशा किन भित्र रहे ?

यदि जीवन हो सुरअंश भने
किन भक्षक, हिंस्रक भाव बने ?
कि त केवल मारिन जन्म भयो ?
तमको पथ झैं अलमल्ल छ यो !!

हर दर्शनमा हर चिन्तनमा
पथ-काननमा तनमा मनमा
प्रभुका हुलिया कुन आश्रम छन् ?
सबका सबमै भ्रम नै भ्रम छन् !!

क्रसमा उनिने पनि ईश्वर छन्
मठमै थुनिने पनि ईश्वर छन्
नभमाथि छुने पनि जीवन छन्
मृत झैं जिउने पनि जीवन छन् !!

यदि राम थिए बलपूर्ण भने
उनका किन वानर सार बने ?
यदि माधव हुन् अति उच्च भने
यदुवंश सबै किन भस्म बने ?

यदि इन्द्र थिए प्रभुअंश भने
सुखभोग-तिरै किन लुब्ध बने ?
शुभ मार्ग रचे यदि ईश्वरले
विष-भाङ पिए किन शङ्करले ?

कसरी म बुझूँ गति जीवनको
कुन मेट्तछ उत्सुकता मनको ?
प्रभु मै कि त जीवनको गुरु हुँ ?
कि त अन्त्य म नै कि त मै सुरु हुँ ?

दृढ सत्य छ- जीवन भङ्गुर हो
क्षयमै छुन आतुर बन्दछ यो
तर भाजित मै अनि भाजक हुँ
गुरु-शिष्य म नै शुभ चिन्तक हुँ !!

मन शान्त हुँदा सुर गौतम हुँ
मन अन्ध हुँदा तम झैं भ्रम हुँ
रिसराग हुँदा खल दानव हुँ
यदि धर्म चिने शुभ मानव हुँ !!

सबका हरिको शुभ अंश भए
किन मानवमै पनि कंस भए ?
त्यस-कारण दीन भएँ प्रभुजी !
तम जीवन यो सकिएन बुझी !!
○○
लख-चिन्तन हो कि त दर्शन हो
कि त यो व्ययमै सकिने धन हो ?
प्रभु ! तथ्य र शास्वत सत्य मिलोस्
अनि जीवनको अपनत्व मिलोस् !!

रचना मितीः १, १, २०७४

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *