राष्ट्र महिमा

Spread the love
Mani, Raj, Joshi, Doti, मनिराज जोशी, pallawa, पल्लव

मनिराज जोशी

ऐना झैँ म जमौं जमाउँ मृतिका, पाषाण झैँ स्थिरता ।
एकै अङ्गुलमा उठाउँ म धरा, शैलेन्द्रको सम्पदा ।।
मौरी झैं म बनेर गोल मधुझै, पारौं म स्वादिष्टता ।
फक्रौँ सुन्दर बागमा कुशुम झैँ, फैलाउँ सौगन्धता ।।१।।

देखाऔं श्रमशीप झैँ म कमिला, आकार सानो बनि ।
पैराऔं म गुलाव झैँ सुमनमा, छर्दै प्रभा रोशनी ।।
पानी रङ्गतरङ्ग झैँ पथलियौं, थाक्दै नथाकी हिडूँ ।
बैरीमा अरिगाल चाल म रहौ, शालीनताले भिडूँ ।।२।।

 

माटो झैँ शत या सहस्त्र म दिऊँ, होऔं म उत्पादन ।
नौनी झैँ म मथेर सार म लिऊँ, कर्तव्य सम्पादन ।।
कालो वादल झैँ म सिञ्चन गरौं, सञ्जीवनीको रस ।
हालौँ गोल अगालमा अघिसरौं, आजन्म शान्तीपथ ।।३।।

होऔँ दीपित झैँ दिवाकर सरी, छापेर विश्वम्भरा ।
मौलाऊ लटरम्म पत्रलहरा, बन्धुत्वका आँकुरा ।।
आफ्नै गर्व गरौं पराक्रम भरौं, आफ्नै खियाऊँ बल ।
खार्इ साग परन्तु काख बसने, नेपालकै केवल ।।४।।

मेरो हाड पहाड घोट्न म सकौ, जाऔ छहारी मनि ।
होऔ हेम हिमाल खप्तड अपी, शैलेनद्रको नन्दिनी ।।
दौराकोट बनोट स्वच्छ छविमा, आफ्नो चिनारी दिऊँ ।
ठाडो गर्धन शत्रुमर्दन गरौं, नेपाल झण्डा लिऊँ ।।५।।

हत्केला सरि एकता भईजुटौ, यो राष्ट्र उत्थानमा ।
खोलौ द्वार मुहार हार पहिरौ, सम्मानमा मानमा ।।
मेरो देश र भेष शान्त सुकिलो, पारेर बाँचौ सदा ।
इच्छा यो छ महेश पूर्ण गर है, मेरो मनो भिष्टता ।।६।।

मणिग्राम, धनगढी, कैलाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *