बहरबद्ध गजल– १,
हिजो बन्धु आफ्ना बनायौ सखाप
गरी धर्म ऐले पखालिन्न पाप
भनेथ्यौ नयाँ राष्ट्रनिर्माण गर्छौ
भयो युद्धमात्रै कहाॅ भो मिलाप
छली भ्रष्ट नेता विलासी हुनाले
युवामा त्यसैको परेको छ छाप
छ बिन्ती सबैमा निजी स्वार्थ राखी
‘जलाएर यो देश आगो नताप ‘
गरे काम राम्रो उही हुन्छ दोषी
परेको हुनाले सतीकी सराप ।।
छन्द: भुजङ्गप्रयात, बहरे मुतकारिब मुसम्मन सालिम
रुक्न: फऊलुन् × चार
बहरबद्ध गजल– २,
छ टिस्टा र बर्मा पुगेको कहानी
कहीँ छैन हामी लुकेको कहानी ।
दुई पाखुरामा हुँदा शौर्यधारा
कतै छैन हामी झुकेको कहानी ।
खपे पीर गोली सहे युद्ध गर्दा
कतै छैन छाती दुखेको कहानी ।
रहन्थे शिला भै र पो शत्रु डर्थे
कहाँ हुन्छ हामी चुकेको कहानी ।
लगे भूमि केही, भरे एक गाग्री
कहाँ हुन्छ गङ्गा सुकेको कहानी ।
छन्द: भुजङ्गप्रयात, बहरे मुतकारिब मुसम्मन सालिम
रुक्न : फऊलुन् × चार