वियोग

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

छ आत्मा नेपाली रगत छ विदेशी बगरमा
प्रिया खोज्छिन् तातो प्रियतम फस्यो खण्डहरमा
अँगालाको न्यानो रहर नपुगी जर्जर भयो
चखेबी छे एक्ली फिटफिट चखेबा पर भयो !!

किनाराले थापे सलिलसित बग्थें म सलल
ममा बाढी आए बगरसित गर्थेँ खलबल
म आँधीका धक्का पनि सहन गर्थें शिखर झैं
बगैंचाले डाके भुनुभुनु चहार्थें भ्रमर झैं !!

 

चलेका बास्नाले जति छलिन खोजून् तर पनि
दगुर्दै प्यासीले पछिपछि लखेट्छन् पद गनी
मुना एक्ली रानी हृदयभरि कुण्ठा-जलन छ
यता एक्लो प्यासी “वनबिच बिरामी मदन” छ !!

कहाँ हेरूँ मेरा हिमशिखरका गौरव यहाँ ?
बनेका छन “खाडी” सय सकसका रौरव यहाँ
यहाँ नेपाली झैं सरल मन भेटिन्न कहिल्यै
स्वदेशी मायाको सरसपन भेटिन्न कहिल्यै !!

धुवाँ बन्दै उड्थें हुरहुर म दावानल भए
म दर्केरै पुग्थें जलसहितको बादल भए
फुटे फोकाजस्तै रहर मरुमै क्रन्दन गरी
कठै टुक्र्यो नाता “नगदपिंजडा”को वश परी !

कहाँ पस्थें खाडी स्वमुलुकतिरै आश्रय मिले !
धरा आफ्नो बन्ला हर गरिबका निम्ति कहिले ?
दुखेको बस्तीमै शवसहित बाक्सा किन खस्यो ?
प्रिया खोज्छिन् आत्मा तर खसम आगातिर पस्यो !!

भुँडी ! तेरा कस्ता नियम रचिएछन् विगतमा
बनें तेरै घोडा मरुथल चहार्दै मफतमा
छुटिन् “माया” मेरी ! न शव-नजिकै सन्ततिहरू
मजस्तै जल्दै छन् दनदन चितामा कति अरू !!

छन्द: शिखरिणी

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *