फर्की आऊ

Sankar, Dhakal, Palpa, शंकर ढकाल, pallawa, पल्लव

शंकर ढकाल

जान्छौं बाहिर काम गर्न किन हो बाँझो छ नेपालमै।
गर्नैपर्छ छ उब्जनी जमिनमा नेपाल संसारकै।।
चाले हात हुँदैन के इलममा आधार बाँच्ने हरू।
हुन्छन् त्रास र कष्ट बाहिर निकै फर्केर आऊ बरू।।

गर्दैमा धन लोभ जीवन सदा लाचार साँच्चै हुने।
के भो लक्ष्य भविष्य बाहिर गए हो चन्द्रमा ती छुने।।
साहूको करले विदेश रहँदा बाँच्ने कि मर्ने डर।
छन् कालो अझ गाउँठाउँ सबमा फर्की उज्यालो छर।।

 

पैसा बाहिर टिप्नमा सहजता के हुन्छ त्यस्तो फल।
स्बार्थी हुन्छ विदेश जीवन सदा बन्दैन नी उज्वल।
चोखो प्रेम असाध्य छन् घरतिरै साथी बुबा मातृका।
हो फर्के त सदैव देश भरमै दीयो बल्यो शान्तिका।।

कोदालो अब छोप्नु पर्दछ दशै नङ्ग्राहरू चाल्नु छ।
आफ्नो सुन्दर देश मात्र पसिना सक्दो सधैं फाल्नु छ।।
यो माटो भोलि पार्न बलियो आधार नै खोज्नु छ।
पीडा त्रासहरू त जन्मस्थलमा मात्रै सदा भोग्नु छ।।

जे गर्छौ सहजै सबै इलम ती भेटिन्छ नेपालमै।
सिस्नो साग ढिँडो र गुन्द्रुक भए मेटिन्छ ती भोकनै।।
आफ्नो जन्म थलो र गाउँघर ती सम्झेर आऊ अब।
साहूको कर त्रास दु:ख सहजै मेटिन्छ आए सब।।

छन्दः शार्दूलविक्रिडित
शंकर ढकाल
तानसेन– ११, काजिपौवा, पाल्पा

One thought on “फर्की आऊ


Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *