खै त खै ! भन्दिनू . . . . . .

Spread the love
Taranath, Bhandari, तारानाथ भण्डारी , pallawa, पल्लव

तारानाथ भण्डारी

अश्रुको तालमा पौडँदा हे प्रिय ।
प्रेमको जालमा दौडँदा हे प्रिय ।।
बुझ्न को सक्छ यो दर्द यो मर्म यो ।
निश्ठुरी निश्ठुरी रौरगी कर्म यो ।।

आततायी हरू घुम्दछन् रोडमा ।
पौरखी हात हुन् भन्दछन् जोसमा ।।
प्रेमको मूल्य को बुझ्दछन् क्रोधमा ?
मोहका पारखी के हुनन् होसमा ।।

 

देश दुख्दैछ है आँतमा बेस्सरी ।
प्रेमको बाडुली बल्झिँदा जस्तरी ।।
ल्याइद्यौ ल्याइद्यौ कण्ठमा ल्याइद्यौ ।
कृष्ण ! त्यो बाँसुरीको धुनी ल्याइद्यौ ।।

राधिका मात्र हुन् प्रेमिका कृष्णकी ।
सोह्र ती भक्त हुन् गोपिका-गोप-ती ।।
सुन्दछौ गुन्दछौ बुझ्दछौ जो कुरा ।
सत्य संकल्पमा गर्जियून् पाखुरा ।।

आसुरी वृत्तिले हुन्न है उन्नति ।
द्वेषको भावले हुन्न है उन्नति ।।
त्यागिद्यौ त्यागिद्यौ मोहको काँचुली ।
ज्ञानको ज्योति भै फैलियोस् जिन्दगी ।।

भन्दिनू भन्दिनू भूल त्यो भन्दिनू ।
अश्रुको मूलको शूल त्यो भन्दिनू ।।
शान्ति खै देशमा पारखी भन्दिनू ।।
चेतना ! देशमा खै त खै ! भन्दिनू ।।

छन्द- स्रग्विणी ।
तारानाथ भण्डारी ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *