‘ए नयाँ वर्ष’

Nilkantha, Subedi, निलकण्ठ सुबेदी, pallawa,पल्लव

निलकण्ठ सुबेदी

ए नयाँ वर्ष
तिमी सगरमाथाको शिखरबाट
शान्तिको सन्देश छर्दै आऊ
बुद्धको देश भनेर
म गर्व गर्न सकुँ
अन्तुको घामसंगै हॉसी खुसी रमाउँदै
सुनौलो बिहानी लिएर आऊ
थाती रहेका यात्रा सहजै पूरा गरी सुनौलो भविष्य नियाल्न सकुँ
वागमतिको आशिर्वाद लिएर आऊ
जहाँमेरा पुर्खाहरुको बिडो थाम्न सकुँ
तीनकोटी नेपालीमाझ
साझा आशा ,

 


अनि विश्वास बनेर आऊ
गोधुली साँझसंगै भोका पेटहरू
र नाङ्गा शरीरहरूको
आवश्यकता पूरा गर्न आऊ
निर्दोष अक्षरहरू
सफल हुन पाउनु पर्छ
अब तिमी
वैमनष्यताको तुष फालेर आऊ
यहाँ हजारौ गोविन्द जन्माउनु छ
आमाको ममताको इतिहास लेख्नु छ
एकताको बिज उमार्नु छ
नौलो जोस जाँगर र स्नेह भाव लिएर आऊ।
तिमी त्यही मानचित्र कोर्दै आऊ
त्यही गन्तव्य र त्यही सपना
जुन मैले, उसले र सबैले देखेको छ।
जुन कल्पनामा शहीदले रगत पोखेको छ।
जुन सपनामा मेरो देश तड्पिएको छ।
तिनै हाम्रा सुन्दर सपना पूरा गर्न आऊ
तिमी
निदाएकाहरूलाई ब्युँझाउँन आऊ
उङ्ग्नेहरूलाई सचेत पार्नु छ
दुःखका गल्लि र गल्छेडा नाघेर
दूर दरार बस्ति पुग्नु छ
मेट्नु छ थकानका सुस्केराहरू
मौनतामा टोलाएका अनुहारहरू
लगाउनु छ चहर्याएका घाउमा
मलम पट्टीहरू।
त्यसेलै त ए नयाॅ वर्ष
दीर्घकालीन निकास लिएर आऊ
आऊ छिटो अब
हरेक नेपालीको सहारा बनेर आऊ
अनि विश्वास र भरोसा बनेर आऊ ।।।

One thought on “‘ए नयाँ वर्ष’

  1. मेरो रचनालाई स्थान दिनुभएकोमा पल्लव साहित्यिक ई-पत्रिका परिवारलाई हार्दिक धन्यवाद एवं आभार ब्यक्त गर्दछु ।


Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *