‘यादहरूको कारागार’

Archana, Baral, अर्चना बराल, pallawa, पल्लव

अर्चना बराल

जसरी
छुट्नै लाग्यो समयको रेल,
प्रिय,
छट्पटिएँ म यसरी
जसरी दुई चिरा पार्दैछ मुटुलाई कोही
निदर्यी सिकर्मी
काँटी ठोकेर सेन्ट भ्यालेन्टाइनको
हातपाउ
रगताम्य पार्दैछ कोही तानाशाह
पीडाको गहिराईमा
स्वास पनि टक्क रोकिएको
समयको त्यो मौन क्षण,

 

हो त्यही मौन विन्दु,
हाम्रो प्रेमको त्यो उचाई हो,
जहाँ यादहरूले
पखेटा फिजाउँदै
गाउँछ प्रेमगीत
भर्छ निर्भय उडान
सौम्य, प्रेमिल र शान्त तिम्रै अनुहार
जस्तो
मौन–मौन आकाशमा
थाहा छैन,
निशब्द त्यो मौन आकाश
प्रेमको क्यानभास हो या हैन ?
जहाँ कुनै पागल दा भिन्ची
कोरिरहेका हुनेछन् सुन्दरी
मोनालिशा
हो, प्रिय,
जसरी छुट्नै लाग्यो समयको रेल,
छट्पटिएँ म यसरी
जसरी दुई चिरा पार्दैछ मुटुलाई कोही
निदर्यी सिकर्मी
काँटी ठोकेर सेन्ट भ्यालेन्टाइनको
हातपाउ
रगताम्य पादैछ कोही तानाशाह
यादहरूको कारागार भित्र
तिनै भ्यालेन्टाइनको रगताम्य
औंलाहरू सापटी मागेर
प्रिय, लेखिरहेछु म तिमीलाई
अन्तिम प्रेमपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.