नेपाल वन्दना

Bishnu, Prasad, Upadhyaya, विष्णुप्रसाद उपाध्याय, pallawa, पल्लव

विष्णुप्रसाद उपाध्याय

झर्ना झर्झर झर्छ शैल चुचुरा पग्लेर स्वच्छन्दमा।
लाली चाँप विभिन्न फूल रमिता देखिन्छ नेपालमा।
डाँफे भुर्र उडी हिमाल पहरा खेल्दैछ आकाशमा।
लुक्दै बादल भित्र खेल्छ कुहिरो सानन्द नेपालमा।।

पानी औषधितुल्य रूप रँगको हेमाद्रिका मार्गको।
आफ्नै भाव र भेषमा सु-रसिलो उद्यान नेपालको ।
चोली टम्म कसे जवान युवती गौरी उमा पार्वती।
दौरामा संझिने किशोर गतिला नेपालका सन्तती।।

 

लिङ्गे पिङ्ग झुलाउने घरहरू एकात्मको संस्कृति।
मेरो अन्तिम साँस वायु गतिले पाऔस् यहीँ सद्गगति।
सारा विश्व झुकाउने सगरको माथाछ अग्लो शिर।
नेपाली पन विश्वको मुलुकमा ठाडो छ मेरो शिर।।

डाँडा अन्तु सजाउने रहरले श्रीसूर्य नारायण।
पैलो लोचनले प्रफुल्लित हुने नेपालको प्राङ्गण।
कैलाशादि हिमाल उच्च महिमा नेपालको गौरव।
आँफै पुष्पित हुन्छ फूल लहरा सौगातको पल्लव।।

बारी खेत हराभरा प्रकृतिले सौन्दर्यकी भामिनी।
मेरो अन्तर दृष्टिकोण गरिमा लालित्य सौदामिनी।
आफ्नै रूप र रङ्ग भित्र जनकी जातीयता जानकी।
नेपाली दिल भित्रकी प्रणयनी मातृत्व संचालकी।।

मेरो जीवन जीव रक्तनलकी हे!रक्त संचालनी।
पूर्खाको र सजीव देहहरुकी यो वंस उद्धारणी।
नाना कष्ट सहेर सन्तति। भनी संघर्षमा छ्यौं तिमी।
सन्तान्ले कति चोट दिन्छ तनमा हाँसेर लिन्छ्यौ तिमी।।

स्थान- कामाख्या मन्दिर (असम)
मिति- 05/04/3017

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.