विज्ञान – सिद्धान्तले,,

Spread the love
Taranath, Bhandari, तारानाथ भण्डारी , pallawa, पल्लव

तारानाथ भण्डारी

अर्को सत्य यथार्थ छैन जगमा प्रारब्ध भन्दा ठुलो ।
यो विज्ञान हुँदै-हुँदैन कहिल्यै प्रारब्ध भन्दा ठुलो ।।
गर्जन्छौ किन होर सत्य नबुझी प्रारब्ध नै खेल हो ।
कुर्लन्छौ किन व्यर्थमा भुजग हे सन्सार नै जेल हो ।।

एकाएक हुनेछ विघ्न दुगुना प्रारब्ध टप्केपछि ।
कस्तै मानिसको उदार दिलमा दुख्नेछ भोगेपछि ।।
पुग्छन् पुग्न त चन्द्र सम्म सहजै ती भाग्यमानी नर: ।
अर्को छैन कदापि दूर नभ त्यो अद्ध्यात्म भन्दा पर ।।

 

सच्चा ज्ञान महान हो जगतको सम्पूर्ण ब्रह्माण्डमा ।
हुन्थ्यो पालन शास्त्रको यदि भने के हुन्न सन्सारमा ।।
दोषारोपण गर्दछौं हरघडी कुर्लेर व्यर्थै किन ?
बोलौं सत्य यथार्थ तथ्य जुन हो सोंचेर एकैछिन ।।

साँचो बोल्नु यही ठुलो तपस हो बोल्दा गरौं आदर ।
स्वार्थी सोंच गरेर देश कसरी सुध्रिन्छ-सुध्रिन्छ र ??
आफ्ना मानिसमा स्वदेशजनमा आँखा तरेको किन ?
साथी-भाइ लुटेर पुग्नु छ कहाँ नि:सार सन्सारमा ।।

सत्ता-सम्म पुगेर चीर-निँद मैं घुर्थेन घुर्थेन है ।
पापी रावणको विनाश त्यसरी हुन्थेन हुन्थेन है ।।
द्रोणाचार्य र भीष्म कर्ण रणमा हार्थेन हार्थेन है ।
हिंड्थ्यो-ता धृतराष्ट्र सत्यपथमा रुन्थेन रुन्थेन है ।।

हुन्छन् पूर्ण दुवै मिलेर सहजै अध्यात्म-विज्ञान – ता ।
एक्लो ,,वाद,,सधैं रुनेछ जगमा पुग्दैन लक्ष्यान्तमा ।।
सच्चा ज्ञान दिनेछ भद्र दिलमा अध्यात्मको स्पर्शले ।
ढुक्कै दिन्छ प्रमाण भौतिक-सुधा विज्ञान-सिद्धान्तले ।।

छन्द – शार्दूलविक्रीडित ,
तारानाथ भण्डारी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *