दिनेश पुनका ३२ मुक्तकहरूः

Dinesh, Pun, दिनेश पुन, pallawa, पल्लव

दिनेश पुन

साथमा कत्ति पनि छैन धन, टार्दै छु हेर
जसोतसो गरि बुझाएर मन, टार्दै छु हेर ।
आज छैन, भोलि कमाउला भन्ने आशमा
दुईदिनको यो दु:खद जीवन,टार्दै छु हेर ।।

गर्न सकिएन जतन चोरी भैदियो
होला नियतिकै खटन चोरी भैदियो ।
जसलाई दिलको चौकिदार बनाएथे,
आखिर उसैबाट मन चोरी भैदियो ।।

 

सोचे जस्तै सुन्दर जिबन बनाउन सकिएन।।
कारण आफ्नैलाई दिलमा सजाउन सकिएन।।
म अचेल आफैले आफैलाई यस्तो भन्ने गर्छु
नियतिले ठग्यो र त उनलाई पाउन सकिएन।

नाटक गर्दै समय कटाउन खोजे जस्तो ।
सम्हालेको माया झट्टै घटाउन खोजे जस्तो
तिमी बारबार यस्तो व्यबहार नगर भो प्रिया
चट्क्कै भुलेर मनबाट हटाउन खोजे जस्तो ।।

खाए जिन्दगी देखि ठुलै हार यस्तै सोचुँला
दिल दुखाउन गरिएछ हतार यस्तै सोचुँला ।
मलाई छोडि अर्कैसँग खुसी हुन्छेउ भने तिमी
मेरो भाग्यमा नै रहेनछ प्यार यस्तै सोचुँला ।।

बनाएर बोलीलाई हतियार थरी थरीका
फेरिरह्यौ माध्यम लगातार थरी थरीका ।
कहिले घाँटि रेट्ने त कहिले मुटु छेड्ने गरि
पठायौ निष्ठुरीले उपहार थरी थरीका ।।

यो मन जलेर भैसकेछ खरानी पत्तै पाइन
रुँदारुँदै सकिएछ आँखाको पानी पत्तै पाइन ।
म रङ्गमन्चमा माया प्रेम भन्दै बसिरहदा
यता बितिसकेछ आधा जिन्दगानी पत्तै पाइन ।।

पक्कै छैन हो म पबित्र भन्दा मानिनौ
भो भो नबस दिलभित्र भन्दा मानिनौ ।
आज मलाई धोखेबाज भन्नुको कारण
बिग्रेको छ है मेरो चरित्र भन्दा मानिनौ ।।

सुम्पिदिन्छु, यो जीवन माया गरेउ भने
गर्छु सधै सधैँ, जतन माया गरेउ भने ।
यो जिन्दगी तिमीलाइ नै अर्पण गरि
बनुँला मुनाको मदन माया गरेउ भने ।।

कस्तो रहेछ यो संसार भनी तुलाना गरिएको छ
सुन ठुलो कि हिराको हार भनी तुलना गरिएको छ ।
उसैलाई भुल्न एकै बोतल पिउनु छ भन्दा हिजो
रक्सी कि प्यार एक रोज्नु भनी तुलना गरिएको छ ।।

पहिले त पत्थर जस्तै यो दिल बनाउनु छ
दुनियाँले नै भेट्टाउन मुस्किल बनाउनु छ ।
यो दुनियाँ देखि धेरै धेरै दुर भए भने म
अक्सर तिम्रो यादमा आँसु टिलपिल बनाउनु छ ।।

जीवन मरणको दोसाँधमा शरीर बनेपछी
तिम्रै कारण झुकिरहने मेरो शिर बनेपछी ।
आज समाजले मलाई पागलको संज्ञा दिदैछ
त्यै कान्छीको भट्टी नै आफ्नै मन्दिर बनेपछि ।।

के चानचुने उसलाई एकदम दामी बनार्इ दिनु
उसको चर्चा अनि मेरो बदनामी बनार्इ दिनु ।
तिम्रो बिहेको जन्ती जादा गाउँ रित्तो होला त्यो दिन
मेरो लास बोक्ने दुई–चार जना मलामी बनार्इ दिनु ।।

त्यो अधेरी रात पनि जुनकै बनिदियोस
यो सारा संसार पनि उनकै बनिदियोस ।
मलाई धनकै कारण छोडिजाने निष्ठुरीको
सिरानी र ओछ्यान पनि सुनकै बनिदियोस ।।

मरिमरी पनि जिएको मान्छे हुँ
फाटेको मन सिएको मान्छे हुँ ।
उसैको यादले सताउदा भुल्न
रक्सी पछि चुरोट पिएको मान्छे हुँ ।।

म दुई थरीको माया लाउँदिन तेति सोचिदिनु
छोरी दिनु भन्दै घर–घर्मा धाउँदिन तेति सोचिदिनु ।
मेरो जन्म दिने बा’आमालाई यति भन्नू छ कि
तपाईकी बुहारी मगर्नी आउदिन तेति सोचिदिनु ।।

कसैको यादमा शरीर गलाउनु छ भने प्यार गर्नु
नचाहेर छातीमा आगो बलाउनु छ भने प्यार गर्नु ।
भन्नेले त भन्लान माया नै सबथोक भनेर
सम्हालेर राखेको मुटु जलाउनु छ भने प्यार गर्नु ।।

रमाइला अनि खुसिका दिन गनेर बस्नु
कोहि थिएन मेरो जिबनमा भनेर बस्नु ।
अरे म त पागल जस्तै भएको छ्र यार
तिमी सधैँ राम्री अनि सद्दे बनेर बस्नु ।।

मेरो मन दुखाएर, दुखाएको हैन भन्नेहरूलाई
जाबो मुटु दुख्दैमा पिडा हुदैन भन्नेहरूलाई ।
जिन्दगीमा केही प्रगती गरेर देखाउने मन छ
मेरो बोली व्यबहार राम्रो छैन भन्नेहरूलाई ।।

आज साहु आयो अनि मलाई त्यसै थर्काएर गयो
लिएको ऋण छिटो तिर्नु भन्दै भाका लर्काएर गयो ।
पढेर कमाउन सकिएन बिदेश गई दिन्छु साहु भन्दा
घरजग्गा थुतिदिन्छु भन्दै आँखा फर्काएर गयो ।।

उसले तिमिलाई आफ्नै रानी भनेपनि
तिम्रो हात समाई भगाएर लानी भनेपनि ।
दुई दिने माया हो रे उसको तिमीलार्इ
काखमा राखी सुम्सुम्याएर सानी भनेपनि ।।

पढ्न जान्छु भनी जङ्गलतिर डेटिङ धाएर बिग्रीएँ
अर्कि हुदाहुदै दिलमा तिमीसंग माया लाएर बिग्रीएँ ।
हरपल तिम्रै यादले सताउँदा भुल्न कठिन भएर
जवानीमै गाँजा भाङ रक्सी चुरोट खाएर बिग्रीएँ ।।

कहिलेकाही भेट्न आउ भन्दा आउदिन भन्छेउ
गरेपनी माया तिम्लाई बिहेगर्न पाउदिन भन्छेउ ।
के लेखेको छ र तिम्रो त्यो ठुलो जात हुँदैमा र
मगरको हातको सिन्दुर पोते चुरा लाउदिन भन्छेउ ।।

कुनै बहानामा तिम्रै पछि धाउने भएछु
निर्दोषीलाई पनि यहाँ दोष लाउने भएछु ।
हेर्दालठ्ठै मृगनयनी आँखा देखेर होला सायद
हरपल तिम्रै यादहरुमा रमाउने भएछु ।।

बियर पिउन मन छ मलाई तिमी टन्न दिन्नेउ यार
तिमी रिसाएका दिन गन्छु तिमी गन्न दिन्नेउ यार ।
खै तिमीलार्इ मन परेको हो कि मन नपरे झै गर्छेउ
धेरै मायाले मेरी बुढी भन्छु तिमी भन्न दिन्नेउ यार ।।

हातै छैन, टोपी खस्यो, टिप्न साथी चाहिन्छ
आक्रमण भयो, विरुद्धमा, भिड्न साथी चाहिन्छ ।
तिमी एक्लाएक्लै संसार जित्ने सपना देख्छौ मित्र
आँखामा ,भुसुनो पस्यो, झिक्न साथी चाहिन्छ ।।

खुसी नै खुसीले भरिएको शहर देख्न पाउँ
माया गर्नेप्रती सबैको राम्रो नजर देख्न पाउँ ।
अर्को जुनिमा मान्छे भएर जन्मे भने हे दैब
प्रेमरोगको पनि उपचार गर्ने डाक्टर देख्न पाउँ ।।

मुटु नै बिझाउने त्यो वचन, बडो अचम्मको
छेपारो जस्तै बानी त झन, बडो अचम्मको ।
गरेका बाचाकसम पनि सजिलै तोडिदिने
बुझ्नै नसकिने तिम्रो त्यो मन, बडो अचम्मको ।।

हेर प्रिया सुन संग पित्तल दाज्न मिल्दैन
बास्तबमा बुद्धि संग बल दाज्न मिल्दैन ।
तिम्रो देखावटी नजरमा राम्रो छौ भने पनि मलाई
उ कति सज्जन म भने पागल दाज्न मिल्दैन ।।

साच्चै, हातमा गुलाफ लिएर बस्न गार्हो हुदो रहेछ
त्यस्तै यादमा आँसु पिएर बस्न गार्हो हुदो रहेछ ।
तिमीबिना हाँसीखुसी बाच्न सक्छु भनेपनी
छोडि जानेलाई सम्झिएर बस्न गार्हो हुदो रहेछ ।।

के होला तिमी बिनाको मेरो हाल याद गर्नु सानी
अबको छिट्टैमा हुदैछ मेरो काल याद गर्नु सानी ।
एकदिनको बोली बचनले के फरक पर्ला र भनेपनि
भेट्टिदैनन आकाश र पाताल याद गर्नु सानी ।।

सोचेभन्दा राम्रो पाउनु भनिदिए, बिदा हुँदै गर्दा
पिडा भुलेर मुकुराउनु भनिदिए, बिदा हुँदै गर्दा ।
मसंगको प्रेम सम्बन्धमा थिए सोच्दै नसोचेर
जिन्दगीभर नै रमाउनु भनिदिए, बिदा हुँदै गर्दा ।।

दिनेश पुन
पुर्तिमकाँडा १, रुकुम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.