म जन्माउँछु

Spread the love
Kashika, Aryal, काशिका अर्याल, pallawa,

काशिका अर्याल

मैले जन्म दिएँ भने गगनका तारा म जन्माउँछु
सीता बुद्ध र भानु वा अरनिको सारा म जन्माउँछु
जन्मे यै घरमा उमा र भृकुटी यै बुद्ध जन्मस्थल
अर्को व्यास बनाउँदैछु म अझै प्यारा म जन्माउँछु ।

खाँचो खड्किरहेछ भक्ति अहिले ज्यूँदै भएका भए !
पृथ्वी अौ भिमसेन ती समरमा लड्दै रहेका भए!
टिष्टा साथ हुने थियो दशगजा रुन्थेन कैल्यै पनि
किल्लामा बलभद्रले कुशल भै खट्दै गरेका भए !

 

जन्मे कौरव मात्र देश भर नै खाँचो छ युधिष्ठिर
यौटा कृष्ण नभै हुँदैन अहिले यो देशको खातिर
गर्थे शासन रामले यदि भने सत्ता समाईकन
पक्कै उन्नत,शान्त भै मुलुकको फिर्ने थियो तक्दिर ।

जन्मे जङ्गबहादुरै कति अझै जन्मे यहाँ रावण
जन्मे लाख हिरण्य अौ पर भए सम्पूर्ण द्यौता गण
यस्तो सोचिरहेछु आज म यहाँ प्रल्हाद जन्माउँछु
हाँसो दिव्य खुलोस् रमोस् मनहरू समृद्ध होस् जीवन ।

गौरी शंकरका सरी सपूत हुन् साथै रहुन् शारदा
ब्रम्हा बिष्णु महेश्वरादि सबले रक्षा गरून् है सदा
लक्ष्मी साथ रहुन् परे सकसमा काली र चण्डी बनून्
यिन्कै पौरखले समुन्नत बनोस् नेपाल यो सर्वदा ।।

छन्द : शार्दूलबिक्रिडीत

One thought on “म जन्माउँछु

  1. कति मिठो र अहिले चाहिएको कुरा हरू छन यहाँ


Leave a Reply

Your email address will not be published. Required fields are marked *