श्रीमहाकालविरचित सुप्रसिद्ध कर्पूरस्तोत्रको नेपाली भावानुवाद

Spread the love
Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

(चैत्रको नवरात्रका शुभ—अवसरमा)
अङ्गारे मेघ जस्तै असितवदनकी चण्डिके उग्रवामा
हे आमा ! मन्त्र क्रीं यो विधिसहित जपी बस्छ जो साधनामा
त्यस्ताको साथ लाईकन सहजसितै आउलान् सिद्धि सारा
बर्सेलान् ओठदेखिन् अविरल गतिमा गद्य वा पद्यधारा १

घाँटीमा मुण्डमाला, शशि पनि शिरमा लाउँदी चण्डि ! माई !
तिम्रो हुं मन्त्रलाई विधिसित जसले जप्छ त्यो सिद्धि पाई
बोल्नामा देउताका गुरुकन, धनमा जित्न सक्ला कुबेर
रूपासे सुन्दरीका लहर उससितै आउलान् झुम्मिएर २

 

लामो झाँक्रो फिँजेकी फररफर फुको दिव्यताको छ छाँट
निस्कन्छन् रक्तधारा घुटुघुटु पिउँदा ओठका छेउबाट
तिम्रो ह्रीं मन्त्रलाई पनि सविधि जपी सिद्ध गर्ने मनुष्य
हे काली दक्षिणे ! त्यो रिपुदलन गरी विश्व जित्ला अवश्य

देब्रेको माथि माला तल नरशिर छन् सव्यमा अन्य चाला
माथिल्लोमा छ मुद्रा अभय, वर दिने हात तल्लो निराला
जो जप्ला मन्त्र तिम्रो बहुत झलमले रूपको ध्यानसाथ
हे दाह्रे कालि ! माता ! उससित शिवका आउलान् सिद्धि आठ

क्रीं क्रीं क्रीं फेरि हुं हुं अनि पछि उसका साथ ह्रीं ह्रीं उसैमा
दोब्य्राई चौध पारी उससित अघिको दक्षिणे कालिके मा
स्वाहा यो मन्त्र जोडी बिस र दुइ गरी जप्छ जो ध्यानसाथ
लक्ष्मीको वास बन्दो कमल सरहको पाउला भव्य गाथ ५

रक्ताम्मे मुण्डमाला पृथुल कुचसितै वक्षमा शोभिएका
हे देवी ! रूप तिम्रो मनन पनि गरी माथि औंल्याइएका
जो जो छन् मन्त्र जप्तै तिन दुइ अथवा एक यी बीज वर्ण
वाग्देवी साथ लक्ष्मी पनि सँगसँगमा आउलान् भाग्य भर्न ६

मरेका मान्छेका कर लरबराई कमरमा
चिता ओछ्याएरै लसपस महाकाल हरमा
जगत् जन्माएकी जननि ! जुन निर्वस्त्र रहने
तिमीलाई जप्ने शठ पनि महान् सर्जक हुने ७

लडेका छन् हड्डी, नजिक खतरा स्याल पनि छन्
चिताको ज्वालामा धपधप महाकाल पनि छन्
उहीँ चढ्दै उल्टो रतिरस लिएकी त्रिनयना
मृडानी जप्नेको विजय नभई छोड्छ र कहाँ ?८

न बुझ्छन् ब्रह्माजी न गिरिश न ता विष्णु महिमा
कहाँ बुझ्छौँ हामी फगत गनियौँ मूर्ख नरमा
अहो ! हाम्रो भक्ति प्रबल छ र तिम्रो भजन होस्
क्षमा पाऔँ काली ! पशुसित रिसाएर किन होस् ?९

निकै ठूला फाँचा अनि पुठ हुने मस्त तरुनी
लुगा जम्मै फाली छरबर छरी कुन्तल पनि
उनैमा पल्टी जो जपनिरत होलान् कविजन
तिनै धेरै बाँची सुमरिरहलान् सिद्धि गहन १०

सुतेकी मज्जाले अविकल महाकालउपर
रहन्छ्यौ शर्वाणी ! रतिलहर ल्याई लरबर
तिमीलाई जप्ने सुकृतिजनका पद्मकरमा
अवश्यै झर्नेछन् बरबर महान् सिद्धि परमा ११

तिमीबाटै चल्छन् सृजन, लय वा पालन पनि
यसैले ब्रह्माजी, पशुपति कि दामोदर पनि
अशक्तै छन् तिम्रो सकल महिमा गाउन भने
अरू हामी जस्ता अबुझ जनको के गति हुने ?१२

अरू धेरै द्यौतातिर लहसिने भाकलसित
कहाँ बुझ्छन् स्वाँठे मनुज महिमा त्यो अविदित
तिमी हौ ब्रह्माजी, हरि र शिवले पूजित उमा
डुबेकी भित्रैको रसबिच, म आएँ शरणमा १३

धरा, पानी, आगो, पवन अनि आकाश सबमा
तिमी नै छ्यौ काली गिरिशगृहिणी ! मात्र भवमा
गरूँ ऐले कस्तो विनति, म छु आफै अशरण
खुसी होऊ आमा ! अब पछि नहून् जन्म—मरण १४

बसी एकान्तैमा स्थिरमति भई केश नकसी
चढाई फक्रेका कुसुम, दुइटै पट्टल कसी
सँगै जप्दै जाँदा जननि ! अघिका मन्त्र गहन
मलाई मिल्ने भो भुवनभरको मालिकपन १५

नुहाई मज्जाले, तुजुक सब छोडी, विषयमा
नधाई, एकान्तस्थलबिच, रही मध्यनिशिमा
जपोस् कालीलाई शुभदिन ठम्याई बिनुडर
उही चढ्ला हात्ती त्रिभुवन जितेको कविवर १६

उँधो फर्केको जो त्रिभुज छ उसैमा कुसुमले
सिँगारी बालाको जपसित गर्यो ध्यान जसले
उही डुब्ला काव्यात्मक अमृतखोलामुनि कवि
लिएझैं गन्धर्वाधिप अगममा लीन पदवी १७

रहेको एकान्तस्थलबिच सहस्रारकमल
त्यसैमा पल्टेकी शिवसित तिमी मुग्ध तरल
त्यही सोच्दै बस्ता पनि रस लिँदै त्यो विषयको
उही होला आफै मदन सरिको रूपवयको १८

बिरालो—भेडोमा, अज—महिषमा, ऊँट—नरमा
रहेका ती आफ्नै विकृति वलि मानेर मखमा
चढाओस् जोकोही पनि सुजन आस्थासित यता
नसोचेको मिल्ला उसकन अवश्यै सफलता १९

सधैं चोखो खाई नियमित गरी इन्द्रिय पनि
निशामा एकान्तस्थलबिच रतानन्दित बनी
कुनै तिम्रो प्यारो जन जप गरोस् लाखपटक
उही होला मानौं मदनविजयी ताण्डवनट २०

यिनै मन्त्रद्वारा विषय सब उद्धारसहित
शिवे ! तिम्रो पूजा नियमित गरी ध्याननिरत
पढेमा कर्पूरस्तव सुजनले मध्यनिशिमा
छँटाएरै बोलोस्, तदपि गनिने काव्यरसमा २१

यही जप्नेलाई हरिणनयनाको स्मिति मिलोस्
जगत्का सम्राट् हून् वश, धनदको सम्पति मिलोस्
चलून् वैरी कारागृह, अनि सब पुर्याएर रहर
जिओस् धेरै धेरै, मरण पछि होस् भक्त अमर २२

Leave a Reply

Your email address will not be published. Required fields are marked *