‘‘म’’

Spread the love
Taranath, Bhandari, तारानाथ भण्डारी , pallawa, पल्लव

तारानाथ भण्डारी

म आफ्नै आत्माको विरह कविता कोर्दछु यहाँ ।
म यी पाखाबारी गिरि शिखर ती भुल्दछु कहाँ ।।
म टिस्टाको माटो अति जतनले पोत्छु घरमा ।
म नेपाली छोरो अब दसगजा लिन्छु करमा ।। १ ।।

म गोर्खाली माटो वनचउरमा फुल्दछु कतै ।
म टिष्टाको छेऊ अवतरण भै डुल्दछु सधैं ।
म सीता-मातामा मन मगज यो अर्पण गरि ।
म आफ्नै आस्थामा अटल मनले भज्दछु हरि: ।।२ ।।

 

म मेरै बारीमा मलजल खन्याएर मजले ।
म आफ्नै शैलीमा हरतरहका खान्छु मजले ।।
म आमा-बाबाको अनुशरणमा प्रीति रगडी ।
म यी पाखाबारी सँग धुन जगाऊँ वरिपरि ।।३ ।।

मलाई खाडीका विकट तलमा कुच्न नपरोस् ।
मलाई पुण्यात्मा जनकतनयाको भुज मिलोस् ।।
म मेरो झण्डामा सकल जग यो अंकन गरूँ ।
म मेरो छातीमा पुलकित छटा सिर्जन भरूँ ।।४ ।।

म आफ्नै पुर्खाको परिचय जगाऊँ भुवनमा ।
म आफ्नै भाषाले अतुलित रमाऊँ जगतमा ।।
म रोपूँ पाखामा अति सुलभ यी औसधि हरू ।
म सच्चा नेपाली कृषक हुनुमा गौरव भरूँ ।।५ ।।

छन्द – शिखरिणी ।
तारानाथ भण्डारी ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *