खुशी यत्तिमै

Spread the love
Ramesh,khakurel, रमेश खकुरेल, pallawa. पल्लव

रमेश खकुरेल

मकै या कि कोदो पिठाको ढिंडो होस्
सँगै साग वा सिस्नुको लत्पते होस्
अमीलो कि वा गुन्द्रुकै झोल पाउँ
अरू होस् नहोस् यत्ति नै नित्य पाऊँ ।।

मलाई कुनै केक रोटी नदेऊ
न ता पाउमा ढोग भेटी नदेऊ
न चम्चा न काँटा छुरी चाहिंदैन
मलाई जिलेबी पुरी चाहिंदैन ।।

 

घरैमा बुनेका लुगा पाउँ खाँडी
म सुत्ता जिमीमा भए पुग्छ राढी
मिलोस् रातमा ओढ्नका लागि पाखी
खरैको भए पुग्छ छानो ममाथि ।।

कसैले प्रशंसा गरुन् या कि निन्दा
नहोस् दु:ख केही अरूले उछिन्दा
नथाकूँ म कैल्यै गरी काम धन्दा
नथापूँ अरूनिम्ति पाशो र फन्दा ।।

कसैले लगाउन् हजारौं अडङ्गा
भनुन् मूर्ख लाटो निकम्मा लफङ्गा
बगोस् किन्तु यो चित्तमा शान्तिगङ्गा
म नङ्गा सही किन्तु उन्मुक्त चङ्गा ।।

म आकाश हेरेर उन्मुक्त हाँसूँ
म मैदान जोतेर सम्वन्ध गाँसूँ
कलीला मुना हल्लिंदा साथ नाचूँ
खुशी यत्तिमै जत्ति बाँचूँ नबाँचूँ ।।

छन्दः भुजङ्गप्रयात

One thought on “खुशी यत्तिमै

  1. म आफैलाई धन्य पाएँ यती मिठो कविता पढ़न पाएर।


Leave a Reply

Your email address will not be published. Required fields are marked *