सुन खानी तामा खानी फलाम खानी बैतडीमा
के को कमि भन्छ्यौ भन प्यारी नानी बैतडीमा
कोदो फल्ने मकै फल्ने धान तोरी फापर फल्ने
पहाड्मै छ चिसो चिसो मूलको पानी बैतडीमा
कहाँ जान्छन् केके खान्छन् पाहुना र साथीहरू
साह्रै मीठो मिठो भन्छन् छानी छानी बैतडीमा
कोही मोज मस्ती गर्ने कोही भारी बोक्दै हिड्ने
अभागीनी होलान् भन्छन् भाग्यमानी बैतडीमा
बाबा-आमा काका काकी जुटेकै छन् दाजुभाइ
ढिकी जातो गर्न सक्छिन् सानी सानी बैतडीमा
राजा छैनन् मन्त्री छैनन् दरबारमा झिंगा छैनन्
साच्चै साच्चै बन्छ बिशाल राजधानी बैतडीमा
यौटा राजा यौटा मन्त्री यौटै बन्छन् प्रधानमन्त्री
अब हजुर बन्नुस् `गौरव´भन्छिन् रानी बैतडीमा
गजेन्द्रप्रसाद अवस्थी गौरब
पाटन ५ बैतडी,सुदुर पश्चिम
मिति: २०७३ फाल्गुन १९ गते
