चितौन मेरो र मनाङ मेरो
सुर्खेत, सल्यान र दाङ मेरो
पुर्खाहरूको जयको कहानी
मेरै त हो सुन्दर राजधानी
इलाम, डोटी, मकवान, जुम्ला
डोल्पा, मुगू, राजविराज, हुम्ला
धरान, कास्की र बझाङ, रारा
मेरै त हुन् ज्योति अछाम, बारा
बुटौल मेर,ै धनुषा नि मेरै
डडेल्धुरा, बाग्लुङ, पाङ मेरै
खोटाङ, गोर्खा, रसुवा पखेरै
जतासुकै मालमधेश मेरै
गढी भवानी, त्रिपुरा भवानी
गुह्येश्वरी, पाथिभरा भवानी
बागेश्वरी, बाग्लुङ कालिकाको
पाऊँ सदा आसिक मालिकाको
सिद्धार्थ, गङ्गाधर, भूमिजाको
बुढाबुढीको अनि शैलजाको
बर्सीरहेको छ ममाथि सारा
संसारको आसिकरूप धारा
बराहको घाट र देवघाट,
गोकर्णको घाट, त्रिवेणिघाट
रिणी, पुला, जैमनिघाट सारा
दिऊन् ममा आसिकको सहारा
हिमालमा मोहन मुक्तिनाथ
पहाडमा चन्दन—वैद्यनाथ
मधेसमा श्रीसित रामनाथ
यी नाथले हुन्छु सदा सनाथ
यो ठाउँ, त्यो ठाउँ, हरेक ठाउँ
जहाँ सधैं छोइन रम्न पाऊँ
सबै सबैको सबको म बेस
यै बेसले सुन्दर पार्छु देश
