छाडा भो किन यो सराब अति नै पर्दै गयौं जालमा ।
रोजै तीस हजार पो लिटर है भित्रिन्छ नेपालमा ।।
यस्तो पातक वस्तुकै शरणमा पर्दै गयौं आखिर ।
बन्ने लक्षण देखिदैन बुझ है यो देश सिङ्गापुर ।।
एक्लै मानिस रातको समयमा घुम्ने कुरा भो पर ।
ढोका बन्द गरेर हुन्छ किन है सुत्दा घरैमा डर ?
चोरी हुन्छ कतै बलत्कृत कतै माया गयो है दूर ।
बन्ने लक्षण देखिदैन बुझ है यो देश सिङ्गापुर ।।
बाली बोट हुने सबै जमिनमा सिमेन्टका बोट छ्न् ।
अन्नै खान नपाइ ती गरिवका सुख्खा कठै!ओठ छ्न् ।।
पाखा औ सब खेत नै बगर भो रुन्छन् कठै धर्धर ।
बन्ने लक्षण देखिदैन बुझ है यो देश सिङ्गापुर ।।
बातै मात्र हुँदैछ पो किन हरे हातै त चल्दैन है ।
नेताकै रुख लाँउदा जगतमा उद्योग फल्दैन है ।।
यस्तो चेतनशील मानव यहाँ चल्दैछ आफ्नै सुर
बन्ने लक्षण देखिदैन बुझ है यो देश सिङ्गापुर ।।
आफ्नो काम गरे प्रसन्न रहने सम्पन्नता भेट्दछ ।
अर्काको भरमा छ जो मुलुक त्यो अस्तित्व नै मेट्दछ ।
आफ्नो काम भुलेर ब्यर्थ कति नै बस्छौ तिमी लाहुर ।
बन्ने लक्षण देखिदैन बुझ है यो देश सिङ्गापुर ।।
छन्दः शार्दूलविक्रीडित