शठे शाठ्यम्

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

बागी घातक चोर जार छिचरा चढ्दै रहे मञ्चमा
हामी केवल रामराज्य छ कि झैं झुल्दै रह्यौँ सञ्चमा
आओ मित्र ! पवित्र भाव बटुलौँ सम्झेर आमाकन
वेला घर्किरहेछ निर्भय शठे शाठ्यं बनाऔँ मन ।

यस्ता दुर्जनका विरुद्ध रहँदै कुर्लिन् कि काली पनि
सोहोरेर पछार्छु झैँ बगरमा उर्लिन् कि कोशी पनि
पुर्खाको अपमानमा हरघडी उम्लन्छ झैँ बुल्बुले
ए साथी ! कति बन्धु सुत्न नसकी अर्कै कुरामा भुले ।

 

निर्धक्कै खलका बथान बलले टुक्र्याउलान् साँध यी
आफ्नो भन्नु बिलो लिएर दगुरी भत्काउलान् बाँध यी
धेरै राम जपेँ, सयौँ पिर खपेँ, गर्दै पुकारा हिडेँ
खुर्सानी पछि गोडुँला, म त शठे शाठ्यं लिएरै भिडेँ ।

यी पक्कै पनि आउँछन् घरघरै आशा लिई भोटको
चोरेको रुपियाँ छँदैछ, उसले खोल्टी भरी कोटको
त्यो वेला भनिहाल्नुपर्छ सबले जाओ, नआओ यता
हाम्रो गोठ—दुवार दूषित गरे भड्किन्छ अर्कै कथा ।

यी सिङ्गापुर भन्दछन् त कहिले खोक्छन् मलाया पनि
स्वीजल्र्याल्ड बनाउने पनि भनी जिल्ल्याउँछन् मेदिनी
आफ्नो देश बचाउने मति लिऔँ यै एक आधार हो
दुष्टात्मासित होसियार !! शठमा सौजन्य बेकार हो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.