यो हो संसार हाम्रो तिरमिर नगरी साँच्चि टिक्तैन कैल्यै
अर्को झन् ध्यान गर्दा मिरमिर छ उही नाशमा जान्न कैल्यै
यो जान्ने तत्त्वदर्शी गुरुकन कसरी पाउने ? छैन थाहा
हामी यी श्लोक पढ्दै नमनसित अहो ! भन्दछौँ बाह ! आहा !
गर्दैछौं काम उल्टो, परिणति त्यसको बन्न सक्तैन सुल्टो
भान्साको भात चोर्दा झटपट शिरमा बर्सिएला अगुल्टो
चाले सोझो तरीकासित कदम छिटै लक्ष्यमा पौँचिइन्छ
यस्तै सद्ज्ञान बाँड्ने गुरुजनकन को व्यक्ति साभार बन्छ ?
मिथ्या हो नामरूपात्मक जगत सबै ब्रह्म मात्रै छ एक
संसारीमात्रलाई तर जिउन परयो चाहिए नामरूप
स्रष्टाको नामरूप प्रथित भुवनमा देख्तछौँ काव्यकार
हामी काव्यानुयायीकन सतत दिने शुद्ध छन्दोपहार
राम्रो नै बन्नुपर्ला भरसक नभए चूप लागेर बस्नू
जस्तो पर्ला नराम्रो विषयतिर सखे जान गोडा नधस्नू
हाम्रो चोला महङ्गो, जति तिर यसको मूल्य नै हुन्छ थोरै
बेकम्मा बात मार्दै समय सकिदिए भूल होला अघोरै
हाम्रा दैवी खजानातिर मगज गए बाहिरी यी खजाना
हुन्छन् बेकार बाना फगत, कविसितै जोड्नुहोस् भित्र ताना
आनाकानी गरेमा समय सब चुही पाइने छैन दाना
अन्धा ! नालीहरूमा नखस यति कुरा भन्छ यो जाल पाना
धम्कीका बन्द बोल्छन् अनि जनजनमा पार्दछन् त्रासथर्को
धम्कीका गन्ध घोल्छन् अवनि—गगनमा छर्दछन् ध्वाँस अर्को
धम्कीका उग्र धारासित अभिजनमा ठेल्दछन् संविधान
धम्कीका दूतलाई अब पर नगरे देशकै जान्छ ज्यान
हाम्रा वेदादि शास्त्रप्रति अति गहिरो सोच राखेर लेखी
राखेको जालपानाबिच पदपदका अर्थ छर्लङ्ग देखी
केही लेख्तैछु ऐले कविवर ! ….राख्नुपर्ला विवेक
जम्मैको अर्थ एकै छ तर मनुजका दृष्टि हुन्छन् अनेक
आफू छु स्पष्ट भैगो,अनि त सहजमै हुन्छ आत्मप्रमाण
यस्तो प्रत्यक्ष देख्ता पनि कतिपयको हुन्छ उल्टो रटान
त्यस्ता पाखण्डवादीकन गुरुवरको ज्ञानले दिन्छ धक्का
यो धक्का पाउँदामा पनि अबुझ हुने मानियो स्वाँठ पक्का ।।
बेलामा बेल चाख्नाकन सजग भई उक्लैपर्छ बोट
किंवा भैमा रहेरै पनि थिरमतिले गर्नुपर्ला अठोट
पल्टी ओछ्यानमाथि ध्वनिरहित हुँदै ओर्लिएला अँधेरी
बित्थामा फाल्नलाई मनुज समय यो पाइने छैन फेरि
हामीभित्रै छ ओटा रिपु ढसमस छन् चित्त हर्छन् तिनैले
अर्का छन् ज्ञानरूपी प्रभु छिनछिनमा बुद्धि भर्छन् तिनैले
पैलाको साथ लाग्दा जननमरणका आउँछन् विघ्नबाधा
दोस्राको साथ लागेपछि तर जुनिका पूर्ण हुन्छन् इरादा
जम्मै छन् अल्लि लाटा तर पनि विधिको मार्गमा चल्न मान्छन्
मान्छे छन् अल्लि बाठा र त विधि सिधि नै लात हानेर जान्छन्
यस्तो उल्टो छ चाला अनि गुरुवरको चाहियो श्लोकमाला
जल्ले यो ज्ञान खाला सुरुसुरु उसको लक्ष्यमा पुगन जाला
हानौं ताली मजाली कविवरसँग छौँ धेर सौभाग्यशाली
यस्तो वेला नफाली गुण लिन नसके फेरि खाइन्छ गाली
हालीमाली गरेका शठजनसँगका बात मानेर जाली
नालीमा पर्न जाने पथतिर दगुरे पाइएला कहाली
बाटाकै मात्र धन्दा यदि लिइरहियो, लक्ष्य टाढा हुनेछ
बाटाको ख्याल केही यदि हुन नगए, लक्ष्य टाढा हुनेछ
बाटा छन् शास्त्रद्वारा विहित अब तिनैबाट ताकेर लक्ष्य
हिँड्दामा हुन्छ होला सुगम, यति कुरा भन्छु साथीसमक्ष
केले यस्तो निराशामय वचन दियो ?, विश्वको सिर्जना यो
हो जम्मै दैवबाटै विहित, मनुजको चल्छ दैया कहाँ पो
यस्तैमा दुःख पर्छन् र त कविवरका सान्त्वनाश्लोक सुन्छन्
आजै आयो निराशा किन किन यसरी शोकमा मित्र रुन्छन् ?
मान्छे हुन् वा सहङ्गा पसलपसलका नक्कली स्वर्णहार
ती आगोतुल्य बाधा यदि सहनुपरे बन्न सक्छन् अँगार
जो सच्चा स्वर्ण जस्तै मुनुज छ उसका लागि हो अग्नि बाधा
मानौँ झन् मोलवाला झलमल गहना पूर्ण गर्ने इरादा
हाम्रो उद्देश्य —आत्मा अमर छ, भ्रम हो यो जगत् भन्नु सारा
गर्दै कतव्य आफ्नो अघि बढिरहने व्यक्तिले छुन्छ तारा
रम्भा सम्भाहरूको अनुसरण गरी भोगमा मूर्ख डुब्छन्
सच्चा ज्ञानी बनेमा इह र पर दुवै लोक यी हातमा छन्
बेसारे प्रेम मैलो भुलभुल जलको एक थोपा समान
सच्चा त्यो प्रेम हो जो प्रियतमसितको साधना एकतान
देखौवा फूल साटी तनसित तनले धैर्यको साँध नाघी
यौनेच्छा व्यक्त गर्ने बदचलन लिने व्यक्ति हुन् दोषभागी
कस्तो प्रेमी मजाको जति पनि चिसियोस् प्रेमको दिन्छु न्यानो
त्यो चाहे होस् पुरानो तर पनि म भने हुन्छु आत्मीय मानो
यौटा दाता उनै हुन्, उनसित छ सबै, अन्यको चित्त मानौँ
माखाको पित्त जस्तो …….अब कविवरको लेखनी शक्ति जानौँ
हामी यी श्लोकबाटै सबतिर सहजै शान्ति सञ्चार गर्छौँ
नेता सेता कि काला कुमतिकन सबै झट्ट दुत्कार गर्छौँ
हाम्रो सङ्कल्पलाई अब गुणिजनले वेदका वाक्य जानी
देऊन् सङ्कोच छाडी जय जय जयको दीर्घ उद्गार वाणी
के हेर्ने के नहेर्ने नियम छ जसरी काम गर्ने नगर्ने
यो थाहा पाउनामा असक छ जुन त्यो दुःख बेहोर्नुपर्ने
