म हूँ नेपालीको गजल,कविता,गीत र कथा!
म आफ्ना मान्छेमा निशदिन बनेको छु सविता!
सधैं देखून् मेरो मुलुक अरुले गर्वसँगमा
बनून् स्वात्मालम्बी भरिरहुँ सदा जोश सबमा।।
हटून् बाधा जम्मै मुलुक अब फक्रोस् अनि फुलोस्!
सबै नेपालीको हृदयभरि प्रेमस्फुरण होस्!
सबै डाँड़ा-काडा, हिमशिखरका पल्लवहरू!
मुसुक्कै हाँसेको हरित वन देखौं कि त बरू।।
बगून् मेची-काली कलकल गरी प्रेम-पथमा!
उता मर्स्याङ्दीले छलछल गरून् भन्दछ मन!
बगून् कर्णालीका धवल जलधारा घरिघरि
मिलून् जम्मै वारी,सतलुज र टिस्टा वरिपरि।।
फुलून् चम्पा बेली हँसमुख रहून् शैल चुचुरा!
उ़डून् पन्छी जस्तै वरपर सबै देशभरिका!
बनून् माली राम्रा मुलुकतिरकै फूलहरूको!
गरून् रक्षा जम्मै विविध-थरिका पुष्प-कुलको।।
छिमेकी साथी हो! बलजफत गर्छौ यदि भने!
सधैं उल्लू बन्दै मुलुक अब हेर्थ्यो कि नभने!
म हूँ त्यो गोर्खाली रगत जहिल्यै उम्लिरहने!
म भक् भक् गर्दैछू नगर भुल यो जिस्किरहने।।
छन्दः शिखरिणी
रचनाकालः २८ फरवरी २०१७
स्थानः कामाख्या धाम, गुवाहाटी(असम)
