भ्रूणको चेतावनी-भ्रूणहत्यारालाई

Spread the love
Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

तँमा छ जो जिजीविषा ममा उही जिजीविषा
हरेकमा त्यही तडित् तरङ्ग झैं जिजीविषा
विनाविचारले नआ, प्रवाहले समाउला
अटूट धार जान दे अवश्य ज्योति आउला

छ गर्भभित्र कन्यका कि पुत्र या त बीचको
नमार् नमार् अबध्य—घातकी अवश्य नीच हो
बनिस् तँ व्यर्थ पापको निमित्त कारणी किन
कठोर कुम्भिपाकमा हजार जन्म मुन्टिन ?

 

नटिप्नु हेर कोपिला—बताउँछन् महाकवि
महाकवि प्रमाण को विचार गर्छ मत्लबी
त्यसै भएर गर्भमा समेत आउने भइस्
कठै ! निरीहको कथा व्यथा बनाउने भइस्

परान हर्दछस् परन्तु के मनुष्यभित्रको
निभाउलास् परम्परा र शक्ति सृष्टिचक्रको
छ भस्ममाथि सिर्जना मसानमाथि ढुक्ढुकी
भने बनेर घातकी भइस् अघोर पातकी

मलाई बाँच्न दे यहाँ, त्यहाँ म जानुपर्दछ
जहाँ अकारणै अकालमा मनुष्य मर्दछ
बचाउनेछु जाति यो छ साथ न्यायको मसी
नआइदे तँ गर्भमै लिएर धारिलो असि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *