नीतिविचार

Spread the love
Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

धनीलाई कुनै मर्म थाह हुन्न गरीवको
जुत्ता लगाउनेलाई चिसो के होस् जमीनको ?

झिँगा फोहोर—टट्टीमा, माहुरी वन बागमा
जँड्याहा घुम्छ भट्टीमा साधु विद्वत् समाजमा

कोही सुतिरहेकै छन् कोही जागिरहे पनि
व्याधा शिकार छोड्दैन मृग भागिरहे पनि

 

मूसाले कपडा काट्छ, वेदना काट्छ काव्यले
असभ्यले कुरा काट्छ आप्mनै अज्ञान सभ्यले

कोइलीको स्वरै रूप, भेडाको रूप ऊन हो
मान्छेको गुन हो रूप खानाको रूप नून हो

विनाबोट कहाँ फूल ? विनापन्छी कहाँ फुल ?
विनाव्याकरण—ज्ञान कहाँ साहित्य मञ्जुल ?

कुलो काटेर खोलाको पानी आउँछ खेतमा
शिक्षा बाँडेर विद्वान्को वाणी सर्छ सचेतमा

खन्चुवा भोजमा रम्छन् दुष्ट दुर्जन पक्षमा
महान् कवि भने रम्छन् विद्वज्जनसमक्षमा

मान्छे थुपार्न चाहन्छ करोडौँ कोष के भनी ?
अमिबा हेर बाँचेको एउटै कोषिका बनी

सुगा बोलेर राम्रो छ, डाँफे नौरङ्ग पङ्खले
नेता इमानले राम्रो, व्योम पूर्ण मयङ्कले

Leave a Reply

Your email address will not be published. Required fields are marked *