नमस्ते साहित्य परिषद ओखलढुङ्गा र माने भञ्ज्याङ्को मीठो सम्झना 

Jibika, Khatiwada, जिबिका खतिवडा,  pallawa , पल्लव

जिबिका खतिवडा

नया जोश, जाँगर, उत्साहसाथ सन् 07.09.2016- को दिन गान्तोक, सिक्किमबाट लागेँ नेपालतिर पहिलो ओखलढुङ्गा यात्रामा। म हतारिएकी थिएँ ओखलढुङ्गा पुग्न। साँझ बिराटनगर आफ्नै दाजु तोया खतिवडाको घर पुगेँ। बिहान 5.30 बजीको बसमा जानुपर्ने जानकारी पाएँ’थें कवि गण्डकी पुत्रबाट। 8 तारिख हस्याङ्-फस्याङ् गर्दै दाजुसँग कञ्चनबारी चोकसम्म निक्लिएँ। मेरो दाजु हमेशा मेरो भलो चाहने मान्छे। बापछि बा कै ठाँउ लिनु भएकोछ। गण्डकी पुत्र र रमेश चन्द्र अधिकारी पनि आइपुग्नु भयो। केही समयको पर्खाईपछि ७ बजी बस आयो। हामी लाग्यौं गन्तव्यतिर। दुई घन्टा २० मिनटको यात्रा मिर्चैयामा ठोकियो। तराईको चिल्लो बाटो, सहज नै बन्यो यात्रा।

 

मिर्चैयाबाट कटारी जीर्ण बाटोघाटो, भत्किएका पुल, वर्षाले उर्लिएका खहरे। बडो मुश्किलले छिचोल्यो बाटो गाडीले। मनमा सोचिरहें, यदि यो बाटोमा नेपाल सरकारको दृष्टि परिदिए कति राम्रो हुने थियो। ११ नबज्दै कटारी पुगियो। बस बिसौंनीमा ग्राहक तानातान गर्ने प्रवृत्तिबाट अछुतो रहेनछ कटारी पनि। हाम्रो यात्रा अझ बढी छ। यहाँबाट खानापछि घुर्मी हुँदै जानुछ ओखलढुङ्गा। पानी दर्केकोछ मानौं हाम्रै स्वागत गरिरहेछ। गण्डकीको आवाज ‘भुपेन्द्र…।’ अगाडी दुई जना अपरिचित व्यक्ति। चिनजान भयो। उहाँहरू अग्रज स्रष्टा उपन्यासकार घनश्याम पथिक र पत्रकार एवं साहित्यकार भुपेन्द्र तिम्सिना हुनुहुँदो रहेछ। खाना खाएर लाग्यौं गन्तव्यतिर। पानी परिरह्यो गाडी गुडिरह्यो। पुरानो, सानो बाटो। गफको घुनमा छोटिने क्रम जारी। सुनकोशी तरेर नेपालको राष्ट्रगानका रचयिता ब्याकुल माइलाको गाँउ हुदै हानियो गाडी युगकवि सिद्धिचरणदेखि लिएर त्यसपछिका घटराज भट्टराई, कृष्णप्रसाद भट्टराई, मेल्वादेवी, पुरुषोत्तम दहाल, अमर त्यागी, डा. कविताराम श्रेष्ठ, पाण्डव सुनुवार, तोया गुरुङ, ब्याकुल माइला, इन्द्र श्रेष्ठ, तुलसीहरि कोइराला, नवीन दहाल, चेतनाथ धमला, भैरव श्रेष्ठ, भरतमणि भट्टराई, मेघबहादुर श्रेष्ठ, प्रयाग वशिष्ट, कलानिधि दहाल, गणेश राई, अर्जुन दाहाल, गंगा राणा गुरुङ, सीमा आभास, जुलु क्षेत्री, धिरेन्द्र रुम्दाली, नरेश नेम्वाङ, नवराज कार्की लगायतका श्रष्ठाहरूको सृजनशिलताले चिनाएको गाँउ ओखलढुङ्गातिर।
बादल पोखिएका फाँट, कुहिरो पहिरिएको पहाड, बिछट्टै राम्रो। साँझपख ओखलढुङ्गाको रमाईलो डाँडा पुगियो। नमस्ते साहित्य परिषदका अध्यक्ष बिष्णु दीप संकल्पद्वारा स्वागत र चिनजानको कार्यक्रम भयो। विश्राम र खानपिनको व्यवस्था यहीँ मिलाइको रहेछ। विश्राम र खानपानपछि काव्यमय बन्यो साँझ। बिहान चाँडै आँखा खुल्यो, उठें, पूर्वतिर आँखा पर्यो, असाध्यै राम्रो फराकिलो फाँटमा। त्यो रुम्जाटार रहेछ। सुरम्य, शान्त, विशाल वक्षस्थल ओखलढुङ्गाको। हामी बसेबाट केही पर उध्योग बाणिज्य सङ्घको सभा भवनमा कार्यक्रम, हामी सबै लाग्यौ उतैतिर। विष्णुदिपलाई सल्लाह सुझाव दिएर कार्यक्रमको खाका बनाएका चितवनका अतिथि श्रष्ठा पुष्प अधिकारी अञ्जलीले बान्की भर्दै ९, सितम्बर (भदौ 24)-को दिन आफैं कार्यक्रम चलाए। चितवनका गोर्खे साहिलो, कृष्णदेवी श्रेष्ठ, प्रभाकर पण्डित, मकवानपुरका हयाग्रीव आचार्य, दाङकी भवानी न्यौपाने ‘भावना’, रुपन्देहीका निर्मल ढुङ्गाना, नुवाकोटकी राधिका कुइकेल खनाल, झापाका घनश्याम पथिक, मोरङका रमेशचन्द्र अधिकारी, डोटीका विपिन सलामी, ओखलढुङ्गाका चेतनाथ धमला, स्थानीय शिक्षासेवी सुमनराज भण्डारी अनि सिक्किमबाट म स्वयं जीविका खतिवडा ‘अश्रु’ ज्ञानुवाकर पौड्यालको हातबाट सम्मानित भयौ। झन्नै साँझसम्म कार्यक्रम जम्यो।
भोलिपल्ट अथवा 10 सितम्बरको दिन भयो हाम्रो औपचारिक बिदाई। ‘बाइ’ गर्दै हामी पूर्व आउनेहरू छ जनाले सबैसित बिदा लियौं। खुशीसाथ आ-आफ्नो वासस्थान तर्फ लागौं। पानीले शुभ साईतको जाहेरि गरिरहेको छ। बादल अलग-अलग आकृति बनाउँदै नाचिरहेकोछ। चिसो हावाले वस्त्र छिचोलेर सुम्सुम्याई रहेकोछ। रमाईलो वातावरण मीठा-मिठा गफले पत्तै नपाई मानेभञ्ज्याङ आइपुगेछौं।
गाडी टक्क अडियो। ‘किन अडियो?’ सबैमा उत्सुकता थियो। चालकले भने ‘अगाडी पैह्रोले बाटो अवरुद्ध भएको छ।’ हामी अल्मलियौं। ‘के गर्ने?, कति समय लाग्छ बाटो खुल्न?’ त्यसपछि अघि बिदा भएका सबै स्रष्ठा फेरि भेट भयौं। चिया-नास्तापछि स्थानीय पसलमा काव्यमय वातावरण सृजना भयो। गण्डकी पुत्रले हाटहुट गरेर छ घण्टा लामो समय गजल दोहोरी र नाचगानमा छ मिनट झैं बनाए। कार्यक्रममा गण्डकीपुत्र, बिपीन सलामी, त्रिपुरा पौडेल, ज्ञानुवाकर पौडेल, रमेशचन्द्र अधिकारी, घनश्याम पथिक, राधिका कुइकेल, राजकुमार भुजेल, रियाज पौडेललगायतकाले आ-आफ्ना रचना वाचन गरे। म पनि गजल वाचनसँगै नाच्न पछि परिन। यति मात्र हैन सङ्कटमा पनि धैर्य नगुमाउने र आफूलाई सम्हाल्नसक्ने कवि-लेखकहरूको आत्मसंयमको प्रशंसा पनि भयो। झरिले निरन्तरता कम गर्यो। बाटो पनि खुल्यो। मीठो सम्झना माने भञ्ज्याङ्को लिएर हिड्यौं गन्तव्यतिर।
विण्णु दीप संकल्प दाइको अथक प्रयास पेशल खतिवडा र मुना खतिवडाको सहयोगलाई हृदयबाटै आभार।

-जीविका खतिवडा ‘अश्रु’
-सिच्चे गान्तोक, सिक्किम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.