हे छोरी घरको सुवास बन लौ, आशा छ तिम्रो अति ,
साराले बसमा परेर गुणको , सिक्नेछ राम्रो मति ।
विद्धानको जहिल्यै बयान गरने, बानी बसालौ अनि ,
आमा वावुसँगै सिकेर अरुमा, देखाउँ तिमी भनि ।
छोराको भरमा परेर सबले, पाए त छोरी कति,
छोरी नै जगमा बचाई रहने, सन्सारको सद्गति ।
त्यो मीठो रसिलो मुहार हँसिलो, पारेर नाना थरी ,
छाडीदेउ सबै कुचाल मनमा, राम्रो गरे सुन्दरी ॥
आफ्नाको गर मान भाव घरमा, देखेर जान्ने कुरा ,
राम्रो ख्याल नभै हुनेछ पछुतो, लाग्नेछ दोषै पुरा ।
नारीको हितमा कुरा गरिरहे, विश्वास गर्नेहरू ,
नारीकै भरमा चलेछ सबको, सन्सार सारा अरु ॥
हाँक्दैछन् जसरी भए पनि यहाँ, देशै चलाए अनि ,
खादैनन् यिनले हरेश नमरी, ज्यूँदै जलाए पनि ।
लागेको कुहिरो फटाइ यिनले, आकाश खुल्ला गरी,
त्यस्तै आस हुँदैछ आज सवमा, होला विकास् क्यै गरी ॥
नारीको महिमा गरेर कसले, सक्नेछ के के कहाँ ?
हाँसी नै रहने अहो नजर त्यो, देखेर जानौँ यहाँ ।
बाँड्नेछन् सुख त्यो सहेर अरुको, आफ्नै परेझैँ गरी ,
गर्नेछन् सहजै विचार क्षणमै, साकार पार्ने गरी ॥
राधा रेग्मी
सेर्ना : २ कालिमाटी
ओखलढुङ्गा
