“नेपाली वर्णविन्याससम्बन्धी चितवन सचेतनापत्र”

dr.Matiprasad, Dhakal, Gaidakot, डा.मतिप्रसाद ढकाल , pallawa, पल्लव

डा.मतिप्रसाद ढकाल

नेपाली लेखक संघ चितवनको आयोजना तथा चितवन र नवलपरासीका विभिन्न विषयका प्राध्यापक, शिक्षक, विद्यार्थी, पत्रकार, कलाकारलगायतको करिब ९० जनाको सहभागितामा आज २०७३ असोज १ गते वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा सम्पन्न ‘वर्णविन्याससम्बन्धी सचेतना कार्यक्रम’द्वारा तपसिलबमोजिमको ७ बुँदे “नेपाली वर्णविन्याससम्बन्धी चितवन सचेतनापत्र” जनसमक्ष प्रस्तुत गरिएको छ :
१. त्रिविको ‘अनिवार्य नेपाली शिक्षण निर्देशिका’ (२०६६ असार), तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्को कक्षा ११ को ‘सबैको नेपाली’ (२०६७ जेठ), नेपाल प्रज्ञा प्रतिष्ठानको ‘भाषा सङ्गोष्ठी’ (२०६७ पुस), २०६९ श्रावण २२ को मन्त्रीस्तरीय निर्णयका आधारमा पाठ्यक्रम विकास केन्द्रद्वारा विद्यालयस्तरका नेपाली पाठ्यपुस्तकहरूमा लागू गरिएको ‘शैली पुस्तिका’ (२०६९) र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा नवीनतम संस्करणका रूपमा प्रकाशित ‘नेपाली बृहत् शब्दकोश’ –

 

(२०७२) मा समेत सरलीकरणका नाममा नयाँ वर्णविन्यासका नियम र तदनुरूपका प्रयोगहरूले नेपाली शिक्षक, विद्यार्थी, पत्रकारलगायत नेपाली भाषाका बहुसङ्ख्यक प्रयोगकर्ताहरूमा व्यापक अन्योल सिर्जना गरी नेपाली भाषाप्रति नै क्रमशः वितृष्णा उत्पन्न हुने परिस्थिति निम्तिएकाले हाम्रो उद्देश्य नयाँ वा पुरानो वर्णविन्यासप्रतिको विरोध नभई वैज्ञानिक जनमत, प्रचलन, सुगमता र सरलताका पक्षमा रहेको हुँदा सम्बद्ध संस्थाहरूबाट विगतमा भएका विवादास्पद सबै निर्णयहरूप्रति नेपाल सरकार शिक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण हुनु अति आवश्यक छ ।
२. तत्सम शब्दमा जस्तै आगन्तुक शब्दमा पनि श, ष र स तथा ह्रस्वदीर्घको व्यवस्था गर्दा आगन्तुक शब्दको वर्णविन्यासमा एकरूपता नदेखिने र आगन्तुक शब्दको वर्णविन्यास सिकाउन र प्रयोग गर्न पनि झनै गाह्रो हुने भएकाले व्यक्ति र थरलाई बुझाउने शेक्शपियर, शाह, शेर्पाजस्ता शब्दमा बाहेक अन्य सबै आगन्तुक शब्दमा सकारको तथा पदादिमा र पदमध्यमा ह्रस्व गर्ने नीति अवलम्बन गर्नु उपयुक्त हुन्छ ।
३. क्षतिपूर्तिदीर्घीभवनको मान्यताअनुरूप भक्त, अद्य, कर्म आदि संस्कृत शब्दबाट क्रमशः भात, आज, काम आदि शब्दमा अकारको आकार हुन पुगेको हो भन्ने कुरा निर्विवादित रूपमा स्वीकार गरिएको परिस्थितिमा तिक्त, फुल्ल, स्थूल आदि संस्कृत शब्दबाट सोही आधारमा विकसित तीतो, फूल, ठूलोजस्ता शब्दलाई पनि दीर्घ लेख्न उपयुक्त हुने र संस्कृतबाट प्राकृत, अपभ्रंश हुँदै विकसित भएका तद्भव शब्दको पृथक् अस्तित्व स्वीकार गर्न तथा तद्भव शब्दको शिक्षणप्रक्रियामा समेत विद्यार्थीको सन्देह निवारणका लागि क्षतिपूर्तिदीर्घीभवनको मान्यता अवलम्बन गर्नु आवश्यक छ ।
४. नेपाली समास प्रायः दुई शब्दका बीचमा बढ्ता स्वीकार्य हुँदै गएको, दुई शब्दका बीचमा समास भएका शब्दलाई चार वा पाँच अक्षर सङ्ख्याका आधारमा पदवियोग गरेर लेख्नुपर्छ भन्नु युक्तिसङ्गत नदेखिएको र उपमहानगरपालिका, उपप्रधानमन्त्री, सिंहदरबारजस्ता समस्त शब्दलाई समेत टुक्र्याएर प्रयोग गर्न उपयुक्त नदेखिएकाले बहुसङ्ख्यक प्रयोगलाई दृष्टिगत गरी समस्त शब्दलाई पदयोग गरेर लेख्नु राम्रो हुन्छ भने व्यक्ति वा स्थानलाई बुझाउने नामलाई, संयुक्त क्रियालाई र सबै प्रकारका नामयोगीहरूलाई पनि पदयोग गरेरै लेख्नु उपयुक्त हुन्छ ।
५. असंयुक्त वर्णमाला सिकेर अघि बढिसकेका प्राथमिक तहका विद्यार्थीलाई ‘द्’ र ‘य्’ मिलेर ‘द्य्’ बन्छ, जस्तै : विद्+या = विद्या, विद्यालय भनेर नेपालीमा प्रयोग हुने सबै किसिमका संयुक्त व्यञ्जन वर्णहरू सिकाउने र संयुक्त व्यञ्जन वर्णलाई नछुट्याईकन लेख्ने परम्परालाई निरन्तरता दिनुपर्छ र विद्याजस्ता शब्दलाई ‘विद्या’ नलेखेकै भरमा विद्यार्थीको नम्बर काट्ने विद्यमान व्यवस्था हटाइनु आवश्यक छ ।
६. त्रिभुवन विश्वविद्यालय र नेपाल प्रज्ञा प्रतिष्ठानमा मात्र नेपाली भाषाविद् छन् र ती दुवै संस्था वा तिनका प्रतिनिधिहरू सम्मिलित संस्थाले राजधानीमा उपलब्ध सीमित व्यक्तिहरूको सहभागितामा गर्ने गरिएका वर्णविन्याससम्बन्धी निर्णयहरू नै सर्वोपरि हुन्छन् र त्यस्ता निर्णयहरूलाई स्वदेश र विदेशस्थित सबै नेपालीले सहर्ष शिरोधार्य गरिहाल्छन् भन्ने पुरानो मानसिकतामा पूर्णतः परिवर्तन गरी गोरखापत्र, कान्तिपुर, नागरिक, अन्नपूर्ण पोष्ट आदि विभिन्न सञ्चार माध्यम तथा निजी प्रकाशन संस्थाहरूले पनि वर्णविन्यासका सन्दर्भमा आआप्mना शैली पुस्तिका लागू गरिरहेको परिस्थितिमा वर्णविन्यासका बारेमा संशोधन तथा परिमार्जन गर्दा त्यस्ता प्रतिनिधि संस्था र अन्य विश्वविद्यालय तथा प्राज्ञिक निकायलाई पनि प्रतिनिधित्व गराउनु आवश्यक छ ।
७. विद्यालय तथा महाविद्यालय तहमा विद्यार्थीलाई नेपाली वर्णविन्यासका नियमहरू घोकाएर होइन अभ्यासबाट सिकाएका खण्डमा विद्यार्थीहरूले छिटै शुद्ध नेपाली लेख्न सक्छन् र त्यस्तो सिकाइ नै प्रभावकारी हुन्छ भन्ने विषयमा पाठ्यक्रम निर्माताहरूको समेत यथासमयमै ध्यान आकृष्ट हुनु जरुरी छ ।

One thought on ““नेपाली वर्णविन्याससम्बन्धी चितवन सचेतनापत्र”

  1. डा. साहेबले बर्णविन्यासका बारेमा लेख्नु भएछ । मैले त वर्णविन्याससम्बन्धी शब्दनै पहिलाे पटक सुन्दैछु । वर्णिवन्यास सम्बन्धी भन्ने हाेकी ?


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.