अभिलाषा

Govinda, Raj, Binodi, गाेविन्दराज विनाेदी, pallawa,पल्लव

गाेविन्दराज विनाेदी

न शक्तिको घमण्ड होस् न अस्त्र-शस्त्र होड होस्
न मानवीय मार्गमा अवाञ्छनीय मोड होस्
न बाँच्नुमा बिढङ्ग होस् न स्वार्थको तरङ्ग होस्
न जीतको घमण्ड होस् न हारको प्रसङ्ग होस्

न युद्धको प्रभाव होस् न भोकको तनाव होस्
निदान गर्न रोगको न अर्थको अभाव होस्
नहोस् कदापि शत्रुता कहीँ कतै कसैप्रति
मनुष्यभित्र सृष्ट होस् विचारको सुसङ्गति

 

समष्टिनिम्ति एक होस् र एकमा समष्टि होस्
पवित्र पार्न सृष्टि यो विवेकपूर्ण दृष्टि होस्
बनेर जून-घामझैँ समानता-स्वतन्त्रता
प्रकाशमान यो जगत् बनाइ नै रहून् सदा

नहोस् कुनै तँ वा म को विभेदजन्य भावना
स्वदेश वा विदेशको नहोस् कुनै प्रकल्पना
वसुन्धरा हराभरा बनेर विश्ववाटिका
मनुष्य राज्य एक होस् नहोस् विभाज्य मृत्तिका

अनेक वर्ण धर्म वा अनेक जाति-संस्कृति
फुलून् सुवासयुक्त भै जगाउँदै क्षमा-धृति
र विश्वबन्धु भावको विशाल छाहरीमनि
पवित्र मानवत्वले उठोस् मनुष्यको जुनी

गैँडाकोट, नवलपरासी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.