मेरी नौली ललित वदनकी अप्सरा नै हराई
रेटीरेटी सुमधुर सपना रात भारी गराई
एक्लो एक्लो बिजन निरस यो रातले टोक्न थाल्यो
मेरो सानो सरल कलमको वेग नै रोक्न थाल्यो ।।
फर्कीफर्की विगत समयका याद आए सताए
बल्झीबल्झी प्रतिपल नमिठा चोट ढिक्का उदाए
आगोजस्तै हुरहुर मन यो दन्कियो बल्न लाग्यो
हाँगा ढाकी जहर फल यहीँ फैलिँदै फल्न लाग्यो ।।
टाढा भागे नजर सुलभ ती ओठका दिव्य भाका
मानौं मेरो प्रणय भुवनमा वृक्ष हुर्के दशाका
घाटा लाग्ने पसलसरि भयो खस्किँदो जिन्दगानी
लेख्दालेख्दै बिचतिर तुरिई मेटिएको कहानी ।।
आँखाआँखा तनमन नमिली प्रीत के लाइएला
कस्तूरीको वरिपरि नबसे गन्ध के पाइएला ?
कालो लामो तमपटल भयो प्रेम अध्याय मेरो
काँडाघारी, विषजडित बन्यो कामनाको पखेरो ।।
ओहो ! मान्छे कति तरल बने स्वार्थमा टिक्न थाले
आस्था माया, हृदय, मनुजता द्रव्यमा बिक्न थाले
आफ्नै गाथा तलतल थिचिए फैलिए धर्मछाडा
आफ्नै थैलो, घरमुख भरिए बन्धुता छैन गाढा ।।
मेरो खोटो विफल नियतिको आदिको बिन्दु कस्तो ?
भित्री आँखा, हृदय चहकिने चन्द्र नै छैन जस्तो
औंसीजस्तै प्रहर हुनगए जन्म नै हो कि पापी ?
लेले स्रष्टा ! अधिक विष अझै बाँच्छु सर्वस्व थापी ।।
छन्द : चित्रलेखा
