“बिहानै प्रभा छर्छ आदित्य आई
शशी दिन्छ आभा निशामा रमाई
खुलाएर माधुर्य हाँस्छन् हिमाल
महासिन्धु नाच्छन् उठाएर छाल ”
“पुराना सबै पत्रका वस्त्र फाली
लता-वृक्ष फेर्छन् नयाँ पालुवा ती
यहाँ याम फेरिन्छ जाडो र गर्मी
नयाँ सिर्जना रच्तछन् सृष्टिकर्मी ”
“नदी बग्छ निस्केर शैलेन्द्रबाट
समुद्रै पुगी मिल्न बोकेर आँट
सफा व्योम ढाक्छन् जसै मेघ आई
यहाँ हुन्छ वर्षा धरित्री भिजाई ”
“यहाँ इन्द्रिनी हाँस्छ जादू छरेर
नयाँ फूल फुल्छन् पुराना झरेर
युगौँदेखि यस्तै छ सृष्टिप्रसङ्ग
युगौँसम्म चल्ने छ यै रङ्ग-ढङ्ग ”
उघारेर मेरो अहम्-द्वारलाई
भन्यो भित्रको ब्रह्मले यो मलाई
“ढली वृक्ष यौटा वनै रित्तिँदैन
तँ यौटा बिना सृष्टि यो सिद्धिँदैन “
