निदाउन चाहन्छु म

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव

मैया सुवेदी

निदाउन चाहन्छु म
फेरिरहेको आफ्नो स्वाससंग
बाँचेकी छु तिम्रो उच्छ्वास लिएर
मन लाग्दो रहेछ कल्पनाशील हुन
नैसर्गिक स्वभाव हो कल्पना
त्यसैले कृतिमताको खोल उघारी
चाहन्छु चिहाउन प्राकृतिक सुरम्यता संग ।
मोतिमा ज्योति भर्न खोज्दा
भावुकहरु भावविह्वल बन्न सक्छ्न्
दुःखीहरु वेदनारहित बन्न सक्छन्
त्यसैले ममताको माछापुच्छ्रेसंगै
निदाउन चाहन्छु म ।

 


कोशीको कलकलसंगै
छ मसंग फेवाको गाग्भीर्यता
झरनाको मधुर गीतसंगै
डाफे र मुनालको संगीत जोडिएको छ
नाच्छ्न कस्तुरीहरु कत्थक
घुँघुँरा बजाउँछ्न् घोरल र चित्तलहरु
त्यसैले नौलाख प्रीतिको कल्पनामा
निदाउन चाहन्छु म।
सेता हिमशिखरहरु चम्केको बेला
कलकल नदीको झङ्कार संगै
पुलकित हुन पुग्दछु म
तिम्रो काखमा लुटपुटिन
अनगिन्ती अन्तराल छिचोल्दै
आउन आतुर छु म
सुगारङि पटुकीले सजिएकी
पहाड जस्तै भुसुक्क हुँदै
निदाउन चाहन्छु म।
हृदयभरि हर्ष संगालेर
उमार्न चाहन्छु मन भरि ममता
मनलाई आह्वालादित तुल्याएर
आफूलाई आफैंमा हराउन चाहन्छु म
शिशिर सगै सुस्ताएर
ग्रीष्ममा उमंगित हुन समेत
मन छ मलाई
यो अलका सगै
नन्दनको काखमा
मुठ्ठी भरिको भुवादार सिरानीमा
लमतन्न परेको नदीसरि र
असंख्य तारा बोकेको आकाश संगै
निदाउन चाहन्छु म।

२०७३ जेठ १,पोखरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.