आमाको ममता थियो मसँग नै माया बढी बेसरी
कालो बादलको निशान हुनुभो मैले भुलौँ के गरी –
धेरै यादहरू बढेर मनमा चिन्ता भयो माथमा
साह्रै भाव-विभोर आज म भएँ आमा बिना साथमा ।।
एकाएक गरी म देख्छु सपना माता सँगै काखमा
आई टप्प टिपी लग्यो गगनमा तिम्रै डुबेँ शोकमा ।
तिम्रो साथ हुँदा भएन कम क्यै छाडी कहाँ गैगयौ
छोराको गुनगान थ्यो दिनदिनै भागेर स्वर्गै गयौ ।।
चुल्होमा सजिलो थिएन पहिले दुःखी थियौ बेसरी
साह्रै कष्ट सही बसेर घरको खेती गृहस्थी गरी ।
मेरो मष्तकले बुझेन कहिल्यै माता भयौ पीडित
साह्रै शून्य भयो चितौन नगरी तिम्रो कमी निश्चित ।।
माता स्नेह समान आज भवमा क्यै छैन अर्को कहूँ
सेवामा पनि क्यै भएन कहिल्यै छोरो म हूँ के भनूँ ।
छुट्दा साथ यहाँ म देख्छु सपना आमा कहाँ हो कहाँ
व्यूझी खोज्न गएँ म देख्दिन कतै माता पुग्यौ र्स्वर्गमा ।।
गल्तीले त कतै कुनै समयमा दूर्वाच्य भा’को भए
मेरो ज्ञान बिना कतै हजुरमा धोका पुगेको भए ।
गल्तीजत्ति गरेँ सबै भुल तिमी हो पुत्र मेरै भनी
माफी माग्न यहाँ तयार म भएँ माफी म पाऊँ अनि ।।
शार्दूल विक्रीडित छन्द, म स ज स त त गु
१९ अक्षर (SSS.IIS.ISI.IIS.SSI.SSI.S) १२.७ मा विराम
गोर्खे साइँलो,
गजल कटेरी, विशालमार्ग, नारायणगढ, चितवन ।