जनशक्ति को पुकार

Mukunda, Sharan, Upadhyaya, मुकुन्द शरण उपाध्याय, pallawa, पल्लव

मुकुन्द शरण उपाध्याय

के गरौं के गरौं जस्तो पाखुरा रग्-रगाउँछन्
के भनौं के भनौं जस्तो विचार सग्बगाउँछन्
के हुन्छ हुन्छ झैं आस्था आत्मा मा अवतीर्ण छ
आज यो दिल नै मेरो उत्कण्ठा परिपूर्ण छ

मलाई लौ न यो बेला कसैले खन्न लाइद्यौ
कसैले एउटा नौलो भाका भन्न लगाइद्यौ
घन्काइदिऊँ झैं हुन्छ होष्टे हैंसे जतासुकै
मच्चाइदिऊँ झैं हुन्छ हात गोडा जतासुकै

 

हुन्छ देशै उचालेर काँध माथी पुर्याउं झैं
भावनावेग सम्पूर्ण माटा मै तह लाऊँ झैं
विकासपथ को लौ न एउटा यात्री बनाइद्यौ
जनशक्ति मँ चोखो छू मलाई काम लाइद्यौ

मञ्च मा हैन बाटा मा बारी मा भीड लाइद्यौ
नाच मा हैन होष्टे मा हैंसे मा गीत गाइद्यौ
तर्क मा हैन कामै मा दिल खोलेर आइद्यौ
हे मेरा भाइ–बैन्ही हो ! यो नेपाल बनाइद्यौ

लौ न सुन्दर नेपाल लाई बान्की चढाइद्यौ
लौ न जाग्रत नेपाल लाई शंख बजाइद्यौ

(जनशक्ति मँ चोखो छू मलाई काम लाइद्यौ)
अमेरिका निवासी बहिनी ललिता शर्मा र अन्य मित्र हरु को अनुरोध मा यो कविता पस्केको छू ।
(आज भन्दा ३७ वर्ष अघि प्रज्ञा कविता महोत्सव मा तत्कालीन राजा श्री ५ वीरेन्द्र बाट कवि हरू लाई जनशक्ति को परिचालन विषय मा कविता को आह्वान भएको थियो र तेसमा जनशक्ति को उचित परिचालन हुन सकेको छैन,र हुनु पर्छ भनेर मैले उक्त रचना प्रस्तुत गरेको थिएँ । आज पुनः आफना समस्त मित्र हरू समक्ष तेसैलाई प्रस्तुत गर्न पाउँदा मलाई धेरै खुशी लाग्नु स्वाभाविकै हो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.