चिल, चल्ला र पोथी

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

सबै तर्सिए देवता, भूमि, खोला
चिसो पश्चिमी वायु आएर होला ।
डराउन्न पन्छी सुसाएर सल्ला
सुतेको छ पोथी कराए नि चल्ला ।।

हुँ स्वाधीन भन्छौॅ विदेशी छ खाना
विदेशी सुरा,वस्त्र,गाना, खजाना ।
बसेछन् विदेशी चलाएर गल्ला
सुतेको छ पोथी कराए नि चल्ला ।।

 

छिमेकी म चोखो भनेको भन्यै छ
र यो राज्य गाडी गनेको गन्यै छ ।
कतातर्फ भारी हुने हो नि पल्ला
सुतेको छ पोथी कराए नि चल्ला ।।

समस्या नपर्दा त कोही रुँदैन
भए स्वावलम्बी समस्या हुँदैन ।
छ न्यास्रो सबैमा हुँदा चाड खल्ला
सुतेको छ पोथी कराए नि चल्ला ।।

मिलेका फुटेछन्, फुटेका जुटेछन्
हिजोका सबैले सकेको लुटेछन् ।
विपक्षी कुरेको छ सरकार ढल्ला
सुतेको छ पोथी कराए नि चल्ला ।।

नगर्ने कुरा जे त्यही गर्न सर्छ
कहाँ युद्धले धर्म निर्वाह गर्छ ?
लुकी द्रोण मारे चलाएर हल्ला
सुतेको छ पोथी कराए नि चल्ला ।।

दुई पाखुरा छन् छ आदर्श बाँकी
छ बाँझो धरा यो र उत्साह बाँकी ।
छरौॅ बीज खन्दै फुटाएर डल्ला
सुतेको छ पोथी कराए नि चल्ला ।।

→भुजङ्गप्रयात
*चिल =छिमेकी
*पोथी=राज्यसत्ता
*चल्ला=आफू (देश) खतरामा भएको महसुस गरी पोथी जगाउन हल्ला गर्ने तपाई हामी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.