शिरोधार्य गर्दै उनैको प्रभाव
सह्यौँ धेर हामीहरूले दबाव
अझै जाल छन् फैलिँदा दासताका
पुरानै छ गाना र नौलो छ भाका
मिठा मित्रताका कुरा छन् अगाडि
निकै धारिला ती छुरा छन् पछाडि
यहाँ स्वार्थकै खेल छन् खेलिएका
त्यसैमा अहङ्कार छन् जेलिएका
बुझेका त छौं किन्तु छौं चूप हामी
बनी यन्त्र रोबोटका रूप हामी
उनैसङ्ग आफ्ना समस्या बिसाई
अझै छौं सहेका थिचो वा मिचाइ
दियौं गण्डकी कौशिकीको प्रवाह
दियौं स्नेह सम्मान आस्था अथाह
बनी खूब दानी फुक्यौं फुक्नसम्म
गर्यौं सन्धि भन्दै झुक्यौं झुक्नसम्म
जगाएर हाम्रो जलस्रोत आशा
छिमेकी चनाखो भई बोल्छ भाषा
र विश्वासको बन्छ ऊ सूत्रधार
दिई फेरि धोकाहरू बार बार
टुटाएर यो बन्धु एकत्वलाई
धरौटी गरी राष्ट्रअस्तित्वलाई
कुनै अर्थमा फेरि लौ चुक्नुहुन्न
ल है स्वाभिमानीहरू ! झुक्नुहुन्न
गैँडकोट, नवलपरासी ।
