भयो जिन्दगानी दशैँको खसी झैँ
म एक्लो छु नानी दशैँको खसी झैँ ।
जती म्याँ गरूँ खै ढलाएर मार्छन्
चढाएर पानी दशैँको खसी झैँ ।
कहाँ सुत्न पाएँ भयो आज मेरो
अचानो सिरानी दशैँको खसी झैँ ।
सबै हेप्न खोज्ने सबै पेल्न खोज्ने
भयो यो कहानी दशैँको खसी झैँ ।
गरेँ नाइँनास्ती छिनेँ च्वाट्ट आज
नमानी नमानी दशैँको खसी झैँ ।।
छन्द: भुजङ्गप्रयात
बहरे मुतकारिब मुसम्मन सालिम
प्रदीप_खद्योत
