शान्ति आऊ तिमी छिट्टै आऊ

Bhabana NeupanBhabana, Neupane, Dang, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लवe Tulashipur, Dang

भवानी न्यौपाने ‘भावना’

अहो ! कति दुर्लभ तिमी
आउँछु भन्छ्यौ फेरि
सुटुक्क जान्छ्यौ
टाढा क्षितिजजस्तै टाढा
किन तिमीलाई आउने रहर मेटियो –
यहाँ पालुवा पल्लवहरु तिमीलाई खोजिरहेछन्
कोटिकोटि जनजीवनहरु उदासीन छन्
तिम्रो सम्झनामा
तिमी त सबैले चाहने मनमनकी राजकुमारी होइनौ र –
किन यसरी टाढियौ अचेल –
सारा बस्तीहरु तिमीलाई पर्खिरहेछन्
प्रभातको लालित्यसँगै–

 


लुकामारी खेल्दै आऊ तिमी
कति छट्पटिरहेछन् तिम्रो अभावमा
कति रोइरहेछन् तिम्रो सम्झनामा
किन यति निष्ठुरी बन्यौ अचेल तिमी ?
सायद कलियुगी दैत्यले तिमीलाई लखेटेका हुन् कि !
आऊ तिमी फेरि यहाँ
तिम्रै प्रतीक्षामा कैयौँ जीवन भौँतारिदैछन्
तिम्रो सुन्दर पछ्यौरीमा अर्धचेतन सपना बटुल्दै
तिम्रै घुम्टोभित्र लुकामारी खेल्ने मन छ
तिम्रो अभावमा धेरै अँधेरी रातहरु भोगिरहेछु म
तिमी टाढा हुँदा उजाड मरूभूमि बनी
सुकिरहेछु म ।
तिम्रै पर्खाइमा कैयौँ दिनहरु पलाए
बस् त्यही औँसीको रातसँगै
लड्खडाइरहेछन् पाइलाहरु मेरा
आऊ तिम्रै पर्खाइमा धेरै प्रहरहरु खेपिसकेँ
अब त धेरै गाह्रो भो जिउन
तिमीबिनाको जीवन
हो तिमी छिट्टै आऊ
तिम्रै पर्खाइमा बितिरहेछन्
हरेक पलहरु जीवनमा
तिम्रै पर्खाइमा बेली चमेली मुस्काइरहेछन्
हिमाल हाँसिरहेछन्
तर तिमी नआउँदा ती मुस्कानहरु फेरि दुर्लभ बन्दैछन्
आऊ तिमीलाई हार्दिकताको आलिङ्गन गर्न तम्तयार छु
तिम्रो आगमनको पवित्र मार्गमा
फूल र तुल बिछ्याइरहेछु
तिमी जसरी पनि आऊ
तिम्रै निम्ति यो जीवन जिइरहेछु
तिमी टाढा हुँदा कति अभाव र पीडा खेपेँ मैले
तिमीबिनाको अपूरो जीवन कति दर्दनाक बनाई
परिस्थितिसँग नाचूँ म
तर अब सक्दिनँ अति भो
तिमी बिनाको जीवन
आऊ छिट्टै आऊ
मनमनकी राजकुमारी
शान्ति नामकी सुन्दरी
आऊ छिट्टै आऊ
अहँ सक्दिनँ तिमीबिनाको जीवन
आऊ छिट्टै आऊ
आऊ छिट्टै आऊ !

नोटः यो रचना पल्लव साहित्य प्रतिष्ठानबाट प्रकाशित भएर २०७२ कार्तिक २३ गते लायन्सचोक नारायणागढमा सम्पन्न राष्ट्रीय स्तरको साहित्यिक कार्यक्रममा लोकार्पण भएको ‘भाबनाका बिम्बहरू’ नामक कवितासङ्ग्रह भित्रबाट साभार गरिएको हो I
(निकै परिश्रमपूर्वक लेखिएको लेख–रचनाले बल्लबल्ल पत्रिकामा छापिने अवसर पाउँछन् I लेख–रचनाहरू पत्रिकामा त छापिन्छन् तर ती पत्रिकाहरू पाठकहरू समक्ष पुग्छन् नै भन्न सकिँदैन I कतिपय पत्रिकाहरू प्रकाशक/पुस्तक पसल/गोदाम र दराजमै थन्किएर बसेका हुन्छन् भने कतिपय पत्रिकाहरू विविध कारणले पाठकको मुखै देख्न नपाई बीचैमा तुहिएर बसेका पनि हुनसक्छन् I यी र यस्तै विविध कारणहरूलाई मध्यनजर राख्दै देश–विदेशमा रहनु–बस्नुभएका सम्पूर्ण नेपालीहरूले ती पत्रिकाहरूमा छापिएका लेख अथवा रचना पढ्न पाऊन् भन्ने पवित्र उद्देश्य राखी साभार गर्ने धृष्टता गरिएको हो, यस कार्यलाई सकारात्मक रूपमा लिइदिनु हुनेछ भन्ने पूर्ण विश्वास हामीलाई लागेको छ I —

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.