खोजीरहें रातै भरी तिम्रै न्यानो साथ ,
गुन्जिरहे तिम्ले गर्ने मायालु ती बात ,
नजिक छौ कि भनी ब्यूझिए’सी हेरेँ
तर सानू सिरानीमा पाइन तिम्रो हात।।
कहिलेकाही पाउँदा एक छाक खाएँ पनि मैले ,
नाङ्गै पाउ सयौं कोष धाएँ पनि मैले ,
के बुझ्छौ र सुन्छु भन्छौ मेरो जीवन कथा ,
टालो माथि टालो खापी लाएँ पनि मैले ।
अत्यास लाग्छ भक्कानो फुट्छ मेरी आमा ,
तिम्लाइ देख्ने सपना टुट्छ मेरी आमा ,
यो पाली त जसरी नि आउछु भन्छु तर ,
फेरि दैव तक्दिर लुट्छ मेरी आमा ।
छिनछिनमा नै मुर्छा परी रुन्छ्यौ होला तिमी ,
आउछे छोरी आशै आशमा हुन्छ्यौ होला तिमी ,
बेचिएकी छोरी न हो कसो गर्छयौ आमा,
आशुले नै त्यो मजेत्रो धुन्छ्यौ होला तिमी ।
मुना अनि मदन आजकल फेरिएछन् क्यारे ,
माया भन्दा कामुकता मा घेरिएछन् क्यारे ,
त्यसैले त प्यारको बदला ज्यान माग्दै छन् रोमियो,
जुलियट त खेलाउनाको नामले घेरीएछन् क्यारे ।
संघर्षका पाहिला चालि जिउनु छ मैले ,
दुख संग लड्न अम्रीत पीउनु छ मैले ,
शत्रुहरु टुक्राइदीन्छन् मुटु बारम्बार ,
फेरि उसै गरि मुटु सिउनु छ मैले ।
माया लग्यौ बदलामा चोट छोडिदिएउ,
संगै जीवन बिताउने अठोट छोडिदिएउ,
आँफु गयौ पराइको मनमा सयर गर्न ,
मेरो मनमा नमेटिने खोट छोडिदिएउ ।
रगत नै रगतले ताल भरेर गए,
यत्रतत्र सर्वत्र लास छरेर गए ,
तर पनि बद्लिएन देश अझै ,
कठ्ठै !अनयासै सपूत मरेर गए ।
पलपल तड्पिएर रुने बानि हुनेछ ,
मात्र आशुले भिजेको जवानी हुनेछ ,
यो बिछोडको कथा सुनाइदिनु कसैलाई ,
श्रोताको नयनमा पनि पानी हुनेछ ।
बेअर्थको यो जीवन साँच्नु कति दिन,
गह भरी आँसु बोकी बाँच्नु कति दिन,
सबैको लागि मात्र बोझ भएकी छु
उद्येश्य बिना संसारमा नाच्नु कति दिन ।
झोलि धरी खुसीका लहर भरेर आउने छु
सबैको मन छुने काम गरेर आउने छु ,
नडगमगाइ कत्तिगरे आमा प्रतिक्षा मेरो ,
म पाइला पाइलामा सुगन्ध छरेर आउने छु ।।
सुजाता देवकोटा,
मिर्कोट, गोरखा. हालः चितवन भरतपुर
