जयदेव गोविन्दका छन्दात्मक मुक्तकहरूः

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

छन्दः वसन्ततिलका 221 211 121 121 22
अड्कन्छ गाँस मुखमा पसिना छ सुक्दै
खाली छ वर्ष, दिन वा महिना छ सुक्दै
हाम्रो दरिद्र युगको उपमा पुरानै
“कौवा फलाक्छ रुखमा र पिना छ सुक्दै !!

थालिन्छ भोट बुँथमा जब ढ्वाङ हुन्छ
घैटो भरिन्न पिँधमा जब भ्वाङ हुन्छ
लाखौं व्यथा र तनका,मनका बिरामी
जानिन्न रोग सहजै जब स्वाङ हुन्छ ।

 

को बन्छ देव गणको गतिलो पुजारी
जो त्याग्छ स्वच्छ दिलले छलको कटारी
को हो त मित्र हरि झैं अति वेदनामा
चीत्कार सुन्छ जसले गह-अश्रु झारी ।।

छन्दः स्रग्विणी
सृष्टिका टाकुरा मैलिए देशमा
प्यारका आँकुरा वैलिए देशमा
प्रातको द्वारमै जालले ढाकिँदा
प्यासका माकुरा फैलिए देशमा !!

प्यारका टाकुरा मैलिए देशमा
बोटका आँकुरा वैलिए देशमा
प्रातको द्वारमै जालले ढाकिँदा
प्यासका माकुरा फैलिए देशमा !!

छन्दः दिक्पाल
निर्धो छ भाइ भन्दै आँठो नसार मान्छे
आत्मा नबेच सस्तै, कुल्ची नमार मान्छे
सम्झेर चाल जिब्रो छानेर झार वाणी
घाँटी छिनेर जाओस् बाचा नहार मान्छे !

छन्दः भुजङ्गप्रयात
भए गोरु छाडा मियो नै हरायो
लुँडो तेल चोरी दियो नै हरायो
सबै वर्ण भाषा थियो स्वर्ण माला
लुछी फूल, धागो सियो नै हरायो !!

हिजो के नशाले ममा फुल्न आयौ
बडो लालसाले ममा फुल्न आयौ
निचोरेर मोती दुनो भर्न हो कि ?
कुनै दुर्दशाले ममा फुल्न आयौ !!

उही एक आकाश तारा अनेकौं
उही देश ! भाषा र नारा अनेकौं
त्यसैले त बन्दी छ यो जिन्दगानी
सयौं-लाख बाधा, तगारा अनेकौं !

हिंडौं साथ यात्रा र लौरो बनेर
मिलौं ओठ-पानी-कचौरो बनेर
फुकाएर छाती बनौं स्वाभिमानी
नमागौं न आगो धुपौरो बनेर !!

छन्दः विध्वङ्कमाला
आँखा, पखेटा र चुच्चा हजारौं
जुत्ता, भकुण्डा र गुच्चा हजारौं
जिब्रो घुमाएर संसार हाँक्ने
जाली, फटाहा र लुच्चा हजारौं !!

खुम्चेर खुल्दै छ यो बन्द नाका
बग्दै छ हावा लिई लाख भाका
यो देश बन्दी भयो पिञ्जडा झैँ
थुन्ने र खोल्ने यताका उताका !!

हान्दै छु कुच्चो तँ जालो उता जा
झ्याप्पै समात्छौँ कठालो उता जा
कोरिन्छ मेरो कठै ! शान्त धर्ती
नङ्ग्रा तिखार्ने बिरालो उता जा !!

कौवा सराप्दै छ घेराहरूमा
छेक्दै छ पानी पँधेराहरूमा
दर्बार-भित्रै भुँडी रुन्छ भोकै
के टिक्नु मान्छे कटेराहरूमा !!

ब्वाँसो सुसेल्दै छ घेराहरूमा
छेक्दै छ पानी पँधेराहरूमा
दर्बार-भित्रै भुँडी रुन्छ भोकै
के बाँच्नु मान्छे कटेराहरूमा !!

हान्दै छु कुच्चो तँ जालो उता जा
च्यातिन्छ तेरो कठालो उता जा
दुख्दै छ मेरो कठै ! शान्त धर्ती
नङ्ग्रा तिखार्ने बिरालो उता जा !!

छन्दः इन्द्रवज्रा
चाँदी उकासिन्छ हिरा मिसाए
सब्जी मिठो बन्छ जिरा मिसाए
एक्लो छ बाटो चुहिँदै छ भट्टी
चल्थे कि गाडी मदिरा मिसाए !!

यो देह गल्दो फल लाग्न थाल्यो
सिन्का-सरी दुर्बल लाग्न थाल्यो
डाँडो छिचोल्दै रवि अल्पिए झैँ
या कर्कलाको जल लाग्न थाल्यो !

छन्दः इन्द्रवंशा
तातो बिना घाम कतै हुने भए
इच्छा नभै काम कतै हुने भए
यो देशको दाग धुने थियो हिजै
संसारमा राम कतै हुने भए !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.