झन्डा ढलेको भए

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

मान्छे व्यष्टि न हो समष्टि सबको यो राष्ट्र हो आखिर
बाँचे राष्ट्रिय स्वाभिमान सबको पार्नेछ ठाडो शिर ।
सेक्छन् हात परेर मख्ख दुनियाँ आगो बलेको भए
मान्छे माथ उठाउला र कसरी झन्डा ढलेको भए ।।

गोर्खाली पहिचान धूमिल हुने दुष्कर्म बढ्दै गए
सिङ्गो वस्तु हुनेछ काम नदिने त्यो भित्र सड्दै गए ।
सारा एक भएर साहस गरे के हुन्न खै सम्भव
मान्छे छुन्छ उडेर चन्द्र सजिलै गन्तव्य ठान्छन् जब ।।

 

सानो,सुन्दर देश यो प्रकृतिको भन्डार हो सुन्दर
सेता उच्च हिमाल, शैल हरिया, बोल्ने नदी निर्झर ।
कस्तूरी मृगको सुगन्ध वनमा हावासितै आउँदा
हाम्रो जीवन सुन्छ पञ्चम सधैँ क्वैली यहाँ गाउँदा ।।

हाम्रा धर्म, कला र संस्कृति सबै छन् भिन्नभिन्नै तर
देखिन्छन् अझ ती अभिन्न सबको नेपाल साझा घर
धागोमा फुल भिन्न जात रङका गाँसेर माला बन्यो
धागो देश र पुष्प तुल्य जनता नेपाल प्यारो बन्यो ।।

यौटा थुक्दछ सुक्छ लाख जनले थुक्दा नदी बन्दछ
‘मेरो’ भाव हटेर मात्र जनले ‘हाम्रो’ न हो भन्दछ ।
पुर्खाको बलिदान ती सहिदको त्यो देन ताजा रहोस् ।
नेपाली मन एक होस् विगतझैॅ यो देश साझा रहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.