जयदेव गोविन्दका केही छन्दात्मक मुक्तकहरू

Jayadev, Gobinda,जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

छन्दः तोटक
न छ हर्ष कतै न मिलाप यहाँ
दिन-रात सधैँ छ विलाप यहाँ
दिलमै विष फल्छ कि यो युगमा
सब नै सबको छ खिलाप यहाँ !!

छन्दः वसन्ततिलका
मैलो जमेछ जगमा कुन धुन्छ आमा ?
आवाज मात्र बलको किन हुन्छ आमा
सीता र बुद्ध जनको अति शान्त धर्ती
दङ्गा र युद्ध चुलिँदा मन रुन्छ आमा !!

 

को दिन्छ शान्त लतिका मनको धरामा ?
फैलिन्छु कर्म बलले वन-कन्दरामा
दाना र शिष्ट रसले मन-मोद गर्दै
घन्किन्छु शिष्ट लयमा, सुर-अन्तरामा !

छन्दः मालिनी
चमचम खुकुरीको दापमा हुन्न शान्ति
भलभल रगतैको छापमा हुन्न शान्ति
शुभशुभ पल न्यानो धर्मले फुल्छ धर्ती
अबुझ हठ जुधे झैँ पापमा हुन्न शान्ति !!

बगर अनि पखेरामा अन्न फल्दैन प्यारी
रवि गिरि नछिचोल्दै साँझ ढल्दैन प्यारी
दिलमय जनताको त्यागले फुल्छ धर्ती
छलमय जपनाले देश चल्दैन प्यारी !

छन्द : भुजङ्गप्रयात
म भोग्दै छु कस्तो छ यो जिन्दगानी
दिवा स्वप्न जस्तो छ यो जिन्दगानी
तुलो चढ्छ आफैँ र बेचिन्छ आफैं
महङ्गो न सस्तो छ यो जिन्दगानी !!

छन्दः विध्वङ्कमाला
ले ले खुँडा ले ! म हान्दै छिनाल्छु
फोक्से मुला झैँ म ठान्दै छिनाल्छु
को छिर्छ मेरो धरा-भित्र बैरी ?
एकेक गर्दै म छान्दै छिनाल्छु !

ले ले खुँडा ले ! म हान्दै छिनाल्छु
फोक्से मुला झैं म ठान्दै छिनाल्छु
को छिर्छ मेरो धरा-भित्र बैरी ?
एकेक गर्दै म छान्दै छिनाल्छु !!

छन्दः तोटक
न खुसी छ कतै न मिलाप यहाँ
दिन-रात सधैँ छ विलाप यहाँ
दिलमै विष फल्छ कि यो युगमा
सब नै सबको छ खिलाप यहाँ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.