उम्लिन्छ कोही किन हुन्छ ठाडो
चुलिन्छ कोही किन बन्छ डाँडो
सफा गुलावी पल खोज्छ कोही
काँढा तिखारी कन घोच्छ कोही ।
को हो त मान्छे कति गर्न आयो
जन्मेर नाङ्गै पछि मर्न आयो
झर्दै छ उस्तै चुहिँदै छ उस्तै
छ बालुवाको घर झैँ दुरुस्तै ।
कोही छ गङ्गा-जल झैँ पवित्र
अर्को खडेरी रुख झैँ दरिद्र
खुम्चिन्छ यौटा मरुका कुला झैँ
फैलिन्छ अर्को मलका मुला झैँ ।
जो छल्छ ज्यादा लिन खोज्छ धेरै
राम्रा बनेका सब ठान्छ मेरै
बटुल्छ बैरी पट-मूर्ख जाली
गम्किन्छ मै हूँ कुलको थकाली ।
नेती, मदानी जब फुट्छ ठेकी
गर्जिन्छ भोको पशु झैँ छिमेकी
तिखार्छ जिब्रो सय गर्छ गाली
बिगार्छ बाटो अनि छेक्छ आली ।
आँखा छ उस्तै तर दृष्टि लाखौँ
कर्ता छ यौटै तर सृष्टि लाखौँ
अनेक बैरी र अनेक मित्र
हे दैव तिम्रो रचना विचित्र ।।
छन्द : उपजाति (इन्द्रवज्रा + उपेन्द्रवज्रा)
सूत्र : त/ज त ज 2 गुरु
● जयदेव गोविन्द (आचार्य), नुवाकोट ।
