नुवाकोटकै हुन्ः महाकवि नरेन्द्रनाथ रिमाल

महाकवि पं. नरेन्द्रनाथ रिमाल

महाकवि पं. नरेन्द्रनाथ रिमाल

Shreeram, Shrestha, Nuwakot, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

नूहा कोट श्रीभैरवी शिखरको, फेदी महा त्रीशुल गङ्गा तरिणि पार्क ठेरि
गिरिमा, घर हो रिमालै कुल लेफटेन् श्री कुलदीपका अति गुणी छोरा
दीनानाथ भया वेवासका दुइ फूल छोडि ति सुवास हुँदा त सर्ग गया जेठा
ता हुँ नरेन्द्रनाथ पछिको हो काशी नाथै पनि …….
-नरेन्द्रनाथ रिमाल)
महाकवि नरेन्द्रनाथ रिमालको जन्म वि.सं. १९३७ साल अश्विन शुक्ल महाअष्टमीका दिन नुवाकोट जिल्लाको चारघरे गाविस माझकठेरीमा भएको थियो । यिनी लप्टन कुलदीप रिमालका नाती तथा प. दीनानाथ रिमालका जेष्ठ सुपुत्र हुन् ।

 


नरेन्द्रनाथ रिमालको बाल्यकाल सुखमय तरिकाले बितेको थियो । बाल्य अवस्थामा भकुण्डो ज्यादा खेल्न मन पराउने उनी आमासँग मामाघर जान औधी मन पराउथे । बाल्यअवस्थादेखि नै कवि रिमाल प्रकृति प्रेमी थिए । खोलानाला वर्षाको मुसलधारे पानी परेको हेर्न खुबै मन पराउथे ।
यिनको प्राराम्भिक शिक्षा कठेरीको घरमै भएको हो । काठमाडौँ पकनाजोलमा बसी केही काल अध्ययन गरी यिनी बनारसतिर लागे । यी महाकविले प्रसिद्ध संस्कृतज्ञ श्रीधर शास्त्रीसँग अध्ययन गरे ।
उनको अक्षर आरम्भ ५ वर्षो उमेरमा भएको थियो । तिक्ष्क्ष्ण बुद्धि भएका कारणले एकपल्ट पढेपछि दोराएर पढ्न नपर्ने र लामो समयसम्म पनि आफूले पढेको कुरा सम्झन्थे । उनले बाह्रखरी पढ्न जान्ने भएपछि चण्डी, रूद्री तथा कर्मकाण्डका पुस्तकहरू पढ्न जानेका हुन् । उनले स्वअध्ययनबाट उर्दू, हिन्दि र अङ्ग्रेजी भाषामा दखल थिए ।
पिता दीनानाथ शर्माले उनलाई औंधी मन पराउथे । काठमाडौँ र अन्य स्थानमा जादा पनि कवि रिमाललाई पिताले सँगै लाने गर्दथे । कवि रिमाल १९ वर्षो उमेर हुँदा पिताको मृत्यू हुन गयो, त्यसपछि उनको परिवारमा आर्थिकका साथै कवि रिमालको शैक्षिक गतिविधिमा ठूलै आच पुग्न गयो । त्यस बेला उनको उमेर १९ वर्षो थियो । पाँच वर्षम्म उनका परिवार र उनले कष्टकर जीवन बिताउन बाध्य भयो । किनकि कमाइधमाई गर्ने पिताको अन्त्य भएका कारणले घर व्यवहार चलाउन समस्या परेकाले उनी केही समय मामा घर गएर बसे । कवि रिमाल २६ वर्षो उमेर भएपछि मामाहरूले ओखलढुङ्गा कै गङ्गादेवी शर्मासँग विवाह गरिदिए ।
चार कक्षा पास गरेर सरकारी जागिर अर्न्तगत मूखिया पदमा नियूक्ती भई तौलियामा कार्यरत रहे । तर्राईको हावापानीका कारण औलाले समातेर कवि रिमाल उपचारका लागि काशी गए । श्री ३ चन्द्रशमशेरले क्याण्टोनमेन्ट इलाका नजिक दरवार किनेका हुनाले वि.सं. १९७० देखि उनले बनारसको नेपाली कोठी केसर किल्लामा मुखियामा जागिर थिए ।
श्री ३ चन्द्रशमशेरको यो विशाल दरवार उनको शेषपछि केसरशमशेरको भागमा पर्योो र यसको नाम केसरकिल्ला (Kaisar castle) रहन गयो ।
खरिदारको पद दिन्छु, काठमाडौँ हिड । भन्ने केशरशमशेरको हुकुमप्रति अनिच्छा जनार्इ महाकवि बनारसमै बसी मातृभाषाको सेवा गर्ने अठोट गरे । त्यसैले म्यानेजर कहलिए पनि आजीवन मुखियाको खान्गीमा केसर किल्लामा वहाल गरे ।
महाकवि पढाइमा कुशाग्र थिए । बाल्यकालदेखि नै अध्यात्ममा रूची भएका थिए तापनि यिनले संसारभरि राजनीतिक , सामाजिक, आर्थिक समस्याहरूले निम्त्याएका द्धन्दहरूको सुक्षम अध्ययन गरेका थिए । उनी काशीमा छदा विभिन्न साहित्यक र विद्वानहरूसँग भेटघाट बाक्लै हुन्थ्यो । प्रसस्त मात्रामा उनले साहित्यिक कृतीहरू अध्ययन गर्दथ्ये । भनिन्छ उनी तत्कालिन सामाजिक घटनाक्रमका अत्यन्त जनफिकार व्यक्तित्व थिए । त्यसै हुनाले पौराणिक महाभारत युद्ध तथा आधुनिक रचना गर्न महाकवि नरेन्दनाथ सफल भए ।
श्री ३ चन्द्रशमशेरको दरबारको कर्मचारीले सधैं तरवारको धारमा हिड्नुपर्थ्र्यो भनेर सुन्नेहरू भन्ने गर्छन् । त्यस्तो वातावरणमा आफ्नो सामयिक उत्तरदायित्व निर्वाह गरी बाँकी रहेको समयको सदुपयोग गर्दै यिनले नेपाली भाषाको ठूलो सेवा गरेका छन् । यिनले तीनवटा पुस्तक लेखी आफ्नै जीवनकालमा आफ्नै खर्चले वनारसबाट छपाएका थिए । यिनको पहिलो प्रकाशन श्रीमद्भागवत (वि.सं.१९७७) हो । यो नेपाली भाषामा छन्दमा रचना गरिएको पहिलो गीताको पुस्तक हो । संस्कृत नजाने पाठकका निम्ति यो सम्पूर्ण गीता निकै लाभदायक रहेको छ । यो पुस्तक उनले मालिक चन्द्रशमशेरलाई समर्पण गरेका थिए । समर्पण बाक्यमा प्रयूक्त अभिव्यक्तिले महाकविको नेपाली भाषाप्रति अत्यायिक मोह र सम्मान प्रदर्शित गर्दछ ।
रिमालको वि.स. १९८५ सालमा प्रकाशित महाभारत अठार पर्व लोकप्रिय बन्यो । यस पूर्व महाभारत अन्य कविले अनुवाद नगरेको भने चाहिँ होइन तर छुट्टाछुट्टै पर्वमा अनुवाद गरे । महाभारतको अठारै पर्वको अनुवाद गर्ने काम नरेन्द्रनाथ रिमालले नै गरे । यसो भएको कारणले नै गर्दा उनी चर्चित एवम् लोकप्रिय बने ।
रामायणलाई विषयवस्तु बनाएर फुटकर कविता लेख्ने कविहरूको सङ्ख्या धेरै भए तापनि सिङ्गो रामायणलाई नेपाली पद्य कवितामा अनुवाद गर्न पहिलो व्यक्ति भानुभक्त आचार्य नै हुन् भने सिङ्गो रामायणलाई अनुवाद गर्ने अगुवादको रूपमा भानुभक्त आचार्यलाई लिएझै सिङ्गो महाभारतको उद्योपान्त अनुवाद गर्ने अनुवादको रूपमा नरेन्द्रनाथ रिमाललाई लिन सकिन्छ ।
महाकवि रिमालको महाभारत अठार पर्व अघि भोजराज शर्माले सन् १९०४ मा लेखेको कृति, कृष्णप्रसाद उपाध्यायको महाभारत आदिपर्व (१९०४), कृष्णप्रसाद रेग्मीको महाभारत उधोगपर्व (१९०५) , हरिवंशविकुम थापाको महाभारत कर्णपर्व (१९०६), भानुभक्त आचार्यको रामायण (१९१०) प्रकाशित थिए । यी पूर्व प्रकाशित कृतिमध्ये भानुभक्त आचार्यको रामायण महत्वपूर्ण मानिन्छ । त्यस्तै पछि प्रकाशन भएका रामप्रसाद शर्माको पूरै महाभारत (२००६), केदारनाथ खतिवडाको महाभारत (१९५७) शिखरनाथ सुवेदीको महाभारत कर्णपर्व (१९६८), हेमनाथको विरार्टपर्व (१९६७), विश्वनाथ शर्माको समाप्त शान्तिपर्व (२०२६) प्रकाशित भए । यद्यपी अठार पर्व महाभारत पुस्तकमा नब्बे हजार भन्दा बढी श्लोक ११ वटा छन्द -शार्दुलविक्रिडित, शिखरिणी, पृथ्वी, बसन्ततिलक, द्रुतविलम्बित, इन्द्रबज्रा, शालिनी, वंशस्थ, स्वागता, इन्द्रवंशा र अनुष्टुप ) मा रचना गर्नु भयो ।
नेपाली साहित्यमा पृथ्वी छन्दमा बढ्ता कलम चलाउने कवि रिमाल हुन् भने थोरै मात्रामा कलम चलाउने भानुभक्त आचार्य हुन् । छन्दशास्त्रको विधिलाई कवि रिमालले पालन गरेको देखिन्छ ।
शिखरिणी छन्द
हिँडे अर्जुन जुन दिन उहि दिन श्रीभीम्सेन् पनि जसै
गए पूर्वै दीशा फउज खुव ली जीतन तसै । ।
-सभापर्व, पृष्ठ-७९)
यस कृति पनि त्यतिकै महत्वपूर्ण रहेको छ । कृतिमा भएको प्रमुख विषय नै यूरोपमा भएको लर्डाईको वर्णनहो । उनी बनारसमा नै बसी विभिन्न पत्रपत्रिकामा छापिएको समाचार / लेखहरू पढेको भरमा बनारसमा नै बसी लर्डाईको इतिवृतान्त रूपमा वर्णनगर्न सक्नु भनेको चानचुने कुरा होइन । तर्सथ कविको अध्ययनशीलता र विश्लेषण गर्न सक्ने खुबी रहेको सिद्ध हुन्छ । उक्त युरोपेली महाभारत दुइ खण्डमा विभाजित छन् । पहिलो खण्डमा १३५, दोस्रो खण्डमा ७० र १२० सवाई छन् ।
पृथ्वी छन्द
बलैसित ती द्रौपदी खिँचि लिएर रथमा लिँदै ।
भग्यो अधम बेगले तिति रुँदै र चिल्लाउदै । ।

(वनपर्व, पृष्ठ-१२४)

शार्दूल बिक्रिडित छन्द
हाम्रो फेर् तिमरो नपार अहिले हेँस्सी यि शत्रुकन ।
मैले भोलि सबै यि फौज विरली तिम्रो पनी रक्षण । ।
(व्रोणापर्व, पृष्ठ-३४७)

बसन्ततिलका छन्द
हे दाजु भीमसिनको पनि वात् छ साँचो ।
भूल् भो अघि अब कराउनु छन्ट काँचो । ।
(आश्रमवासिकपर्व, पृष्ठ-५८१)
उनको सिङ्गो महाभारतमा एक थान गजलले पनि प्रवेश पाएको छ । उक्त गजल ः
जपूँला की हजुर माला, कुमारी जन्म नै जाला ।
भनिन् के टी धिरज् आयो, अनी आनन्द क्यै छायो । ।
हुने बात् मिट्दथ्यो कैल्हे, बनाइन् पुष्पहार पैल्हे ।
गयो ज्ञान् छीनमै बाला, पैह्राइन् फूलको माला । ।
(आदिपर्व, पृष्ठ-९)
प्रथम विश्वयुद्धको विषयलाई युरोपीय महाभारत (१९७७) नामाकरण गरी नेपाली भाषामा छपाउने पनि रिमाल नै हुन् । यिनले सवाई छन्दमा सशक्त रूपमा तयार पारेको युरोपिय महाभारत आफैले वनारसबाट छपाएका थिए । यसै काव्यका केही पक्तिहरू ः
सुनसुन भाइ हो चारौतर्फभारी ।
पृथिविमा घेरियको समुन्द्रको पारी । ।
टापुहरु यूरोपमा नाना रितका छन् ।
आधा रुस यतातिर यसिया कहन्छन् । ।
(पैल्लो खण्ड,पृष्ठ-१)
गोर्खा र व्रिटिसको रह्यो, अटुट मैत्री
महाराज चन्द्र संशेरले रह्यो अक्षे किर्ति
ऐनासरि सव भाइ, हेरुन संग्राम पनि
लेखो भुल माफ दिइ हेर्नुस् रस छ पनि ।

महाभारतको पहिलो छपाई कार्य वी.एल. पगावी प्रकाशन बनी हितचिन्तक प्रेस रामघाट काशीबाट भएको थियो । उक्त प्रेसबाटै पछि इ.स. १९.६० तिर उक्त महाभारतमा कृष्णप्रसाद रेग्मीका तीन पर्व समाबेश गरी रेग्मीको नामबाट प्रकाशित भए । सबै ठाउँमा छ्यापछ्याप्ती छरिए । कविपुत्र द्वय शिवरत्न उपाध्याय रिमाल र रामरत्न उपाध्याय रिमालले इलाहवाद उच्च न्यायलयमा मुद्दा दायर गरियो । मुद्दाको फैसला अदालतले रिमालको पक्षमा गर्यो । ५० वर्षो अन्तरालमा पुनः प. नरेनद्रनाथ
वाङ्मय निधीबाट प्रकाशन गरेर तमाम नेपाली साहित्य अनुरागीको हातहातमा पुग्न सफल भएको छ ।

यी तीनवटा कृति बाहेक अन्य कृति पनि लेखेका थिए । एकदिन बनारसमा बारूणा पुलमा आएको भीषण बाढीले घरमा पानी पसी कवि रिमालका अप्रकाशित सबै पाण्डुलिपी बगाएको थियो ।

त्यसैले महाकवि नरेन्द्रनाथ प्राचीन र आधुनिक विश्व इतिहासका अध्येता र ज्ञाता थिए । उनले लेखिएका कृतिहरू मकैपर्व काल (१९७५-१९९०) का बीचमा भेटिएको हुनाले कवि रिमाल माध्यामिक कालमा होइनन्, मकै पर्व कालका महाकवि हुन् ।

अन्तत वि.सं. २००८ साल कृष्ण दशमीको दिन महाकवि नरेन्द्रनाथ रिमालको मृत्यू हुन गयो ।
नेपाली भाषा र साहित्यको क्रमवद्ध इतिहास केलाउनेहरूका लागि पनि महाकवि नरेनद्रनाथ रिमालद्वारा लिखित श्रीमद्भागवत, महाभारत अठार पर्व र युरोपेली महाभारत सधै नै पठनीय र सङ्ग्रहनीय छ ।

लक्ष्मीप्रसाद देवकोटाका काब्यप्रबृत्ति
श्रीराम श्रेष्ठ
नेपाली साहित्यका अदभूत प्रतिभा लक्ष्मीप्रसाद देवकोटाको जन्म वि.स. १९६६ कार्तिक २७ गते शुक्रवार राति ९ ४५ बजे कृष्ण औंसी लक्ष्मीपूजाको दिन काठमाडौँको धोबिधारा डिल्लिबजारमा पिता तिलमाधव र माता अमरराज्यलक्ष्मी देवकोटाको साहिलो सुपुत्रको रूपमा भएको हो । उनको न्वारणको नाम तिर्थमाधव देवकोटा हो । लक्ष्मीपूजाका दिनमा जन्मेको हुनाले लक्ष्मीको प्रसाद सम्झी यिनको नाम लक्ष्मीप्रसाद राखिएको हो ।
यिनको शिक्षाको आरम्भ दरवार हाइस्कूलबाट भएको हो । हुने विरूवाको चिल्लो पात भने जस्तै बाल्य अवस्थादेखि नै यिनी चलाख थिए । १० वर्षो उमेरदेखि यिनले कविता लेख्न शुरू गरे । त्यसबेला घनघोर दुःख सागर (१९७६) शीर्षकका दुइ हरफ कविता लेखेका थिए । कविता लेखेर यिनले आफ्ना पितालाई देखाउथे भने आफ्नो सहपाठी र जेठी भाउजुलाई कविता वाचन गरेर सुनाउथेँ । वि.सं.१९९१ मा ‘पूर्णिमाको जलाधी’ कविता छपाएर साहित्यमा लागेका उनी सानै उमेरदेखि मान्छेको मन छुने कविता लेखेँ । संस्कृतका विद्धान कवि प. तिलमाधव देवकोटाको सुपुत्र लक्ष्मीप्रसाद देवकोटाले संस्कृतिका साधारण ज्ञान घरबाट प्राप्त गरेका थिए ।
वि.सं. १९८७ मा काठमाडौँ मा उनी र रङ्करदेव पन्त मिलि जनजागरण ल्याउन पुस्ताकालय सञ्चालन गर्न खोज्दा निरकुश राणातन्त्रले जनही १००/- रूपैया जरिवाना गरी छाडेका थिए । यसरी निश्वार्थ भावनाले पुस्ताकालय खोल्न लाग्दा पनि आफू दण्डित भएको हुँदा राणा विरूद्ध उनमा आक्रोश झनै बढ्यो । निरंकुश राणाशासनको ज्यादती विरूद्ध उनी अझ बढी सङ्गठीत र क्रियाशील बन्न पुग्यो ।
त्यस्तै वि.सं. १९९७ सालको शहिद पर्वमा गंगालाल, धर्मभक्त, दशरथ र शुक्रराजलाई फासी दिई मारियो । टङ्कप्रसाद आचार्य र रामहरि शर्मा ब्राम्हण जात परेकोले चारपाटा मुडिएर डाँडा कटाए भने देवकोटालाई पागलको संज्ञा दिई उपचारको नाममा राची पुर्या्इयो ।
उनले बी.ए. वि.एल. र अंग्रेजीमा एम.ए. सम्मको शिक्षा प्राप्त गरेका थिए । स्वाध्यायन रूपमा यिनले नेपाली, संस्कृति, हिन्दि र अंङ्ग्रेजी भाषा साहित्यको गम्भिर रूपमा अध्ययन गरेका थिए । यिनले अंग्रेजी भाषामा धाराप्रवाहले बातचित गर्न सक्दथे । आफू ३८ वर्षो हुँदा यिनले नेपाली भानु परिषदमा जागिर खाए । यिनले त्रिचन्द्र र पद्मकन्या क्यापसमा समेत प्राध्यापन गरे । यी दुबै क्याम्पसमा ६, ७ वर्षमात्रै जागीर खाए । प्राध्यापन गर्दाको अवस्थामा बिहानदेखि बेलुकासम्म दिनको १३ घण्टा विद्यार्थीहरूलाई अङ्ग्रेजी विषयको ट्युसन पढाउनमा नै व्यस्त हुन्थे । टूयसन पढाउनु नै आम्दानीको मुख्य स्रोत बन्यो । टूयुसनको आम्दानीले उनको जीवनयात्रा तथा घरगृहस्थी चलाउन निकै गाह्रो परेको थियो । आफ्नो जीवन गुजारा चलाउन धौ धौ भइरहेका बेला देवकोटाले औषधी गराउन रकमको प्रबन्ध मिलाउन नसक्नाले आफ्नो छोराको मृत्यू हुन गयो । पीडामा परेको बेलामा ‘भाँचु भाँचु कि मेरो कलम’ र ‘बाघले बच्चा किन खान्छ’ जस्ता विद्रोहका कविता लेखेका थिए ।
२००४ सालमा नेपाली साहित्य परिषदका सभापति भएका लक्ष्मीप्रसाद देवकोटा २०१४ सालमा काब्य प्रतिष्ठानका अध्यक्ष समेत भएर काम गरे । यसरी भाषा साहित्यको विकासका लागि लागी पर्ने उहाँले युगवाणी तथा इन्द्रेणीजस्ता साहित्यिक पत्रिकाको सम्पादन समेत गरे । २०१४ सालमै उहाँ नेराप्र्रप्र सदस्य समेत भए ।
वि.सं. २०१३ मा भारतको राजधानी दिल्लिमा एसियाली लेखक सम्मेलन भएको थियो । त्यसमा नेपालको तर्फाट लक्ष्मीप्रसाद देवकोटाको नेतृत्वमा केदारमान ब्यथित, माधव घिमिरे, भवानी भिक्षु, भीमनिधि तिवारी र्,र् इश्वर बराल, शंकर लामिछाने गरी जम्मा आठ जनाको समूह गएका थिए । उक्त सम्मेलनमा लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यको बारेमा अङ्ग्र्रेजीमा लेखिएको मन्तव्य भाषण दिए । जुन भाषण लामै थियो ।
त्यस्तै रूसको तासकन्दमा भएको बुद्धिजीवी भेलामा पनि नेपालको प्रतिनिधित्व गरेर आफ्नो अभिव्यक्ति दिएका थिए । यसरी विश्व सामू नेपाल र नेपालीलाई उनले चिनाउने काम गरे ।
भारतीय प्रसिद्ध समालोचक राहुल सङ्कत्यायनले हिन्दि साहित्यका त्रिमर्ूर्मि सुमित्रान्द पन्त, जयशङ्कर प्रसाद र सूर्यकान्त त्रिपाठी ‘निराला’ एकातिर राख्दा र अर्कातिर लक्ष्मीप्रसाद देवकोटालाई राख्दा देवकोटा नै गहकिलो हुने अभिव्यक्ति दिएका थिए ।
लक्ष्मीप्रसाद देवकोटा राजनीतितिर पनि संलग्न थिए । डा.के.आई सिहको मन्त्रिमण्डलमा करिव तीन महिना जति उनी शिक्षामन्त्री समेत भएका थिए । श्रीमतीको दवावले लक्ष्मीप्रसाद देवकोटा मन्त्री भएका हुन् । उनी शिक्षा मन्त्री रहदा हिन्दी, भोजपुरी र मैथलीजस्ता विविध भाषाहरूको बोलीचाली रहेको तराईका विद्यालयहरूमा समेत नेपाली विषयलाई अनिवार्य गराई छाडे ।
नेपाली सामाजिक यथार्थलाई कारूणिक र मार्मिक कविता लेख्न सिपालु लक्ष्मीप्रसाद देवकोटाले कविताहरू धेरै लेखे । उनले लेखेका सङ्ग्रहहरूको रूपमा प्रकाशन भएको कविताहरू पुतली (२००९), भिखारी (२०१०), सुनको विहान (२०१०), जन्मोत्सव र मुटुको थोपा (२०१५), छहरा (२०१६), चिल्लापातहरू (२०२१), मनोरन्जन (२०२४), भावनागङ्गेय (२०२४), गाइने गीत (२०२४), आकाश बोल्छ (२०२५), नवरस (२०२५), छागासँग कुरा (२०२६), लक्ष्मी कवितासङ्ग्रह (२०२३), र लक्ष्मी गीतिसङ्ग्रह (२०४०) हुन् भने खण्ड्काव्यतर्फमुनामदन (१९९२), राजकुमार प्रभाकर (१९९७), कुञ्जिनी (२००२), पहाडी पुकार (२००५), बसन्त (२००९), रावणगटायू युद्ध (२०१५), म्हेन्दु (२०१५), लुनी (२०२३), मायमविनी सर्सी (२०२४), सीताहरण (२०२४), दृश्यन्त शकुन्तला भेट (२००२), सुलोचना (२००३), महराणा प्रताप (२०२४), वनकुसुम (२०२५), प्रमिथस (२०२८), र पृथ्वीराज चौहान (२०४९) हुन् ।
त्यस्तै नाटकतर्फसावित्री सत्यवान् (१९९७) र कृषिवाला (२०२१) हुन् भने लक्ष्मी निबन्धसङ्ग्रह (२००२) र प्रसिद्ध देवकोटा द्रष्टा परिबेशमा -समीक्षासङ्ग्रह २०४१) जस्ता कृति प्रकाशन भएको छ । उनले कविता, खण्डकाव्य, महाकाव्य, नाटक, उपन्यास, कथा आदि विधाहरूमा कलम चलाएर असङ्ख्य कृतिहरू प्रदान गरी नेपाली साहित्यको भण्डार भर्ने काम गरेका छन् ।
उनले समालोचना लेख्न र अङ्ग्रेजी साहित्यलाई नेपाली साहित्यमा अनुवाद गर्न समेत अभिरूची राखेका थिए । वि.सं. १९७६ देखि २०१६ सालसम्म अर्थात् ५० वर्षो जीवनकालमा नेपाली भाषासाहित्यमा समर्पित भए । उनले आफ्नो जीवनमा सात सय जति फुटकर रचना, अधाई दर्जन जति खण्डकाव्य र आधा दर्जन जति महाकाव्य लेखे । उनी कल्पना अजस्र स्रोत हुन् । त्यसैबाट उनलाई महा काब्य ब्यक्तित्वको रूपमा लिने गरिन्छ ।
लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यमा स्वच्छन्दतावादलाई भित्राउने कवि हुन् । प्रकृति, समाज , पुराण, इतिहास र संस्कृतिमा केन्द्रित भई उनले नबीन विम्व, प्रतीक र अलङ्कारको सहज प्रयोग गरी कविता लेखे । १० दिनमा सुलोचना, एक रातमा कुञ्जिनी , चार दिनमा मुनामदन र एक दिनमा म्हेन्दु तथा मैना लेख्न सक्ने क्षमता भएका उनै हुन् ।
मुनामदन , यात्री, भिखारी, शकुन्तला जस्ता काब्यहरू उच्च कोटीको पुस्तकहरू हुन् । यी पुस्तकहरूमा मानवतावादी गुणहरूले भरिपूर्ण भएको छ । मान्छेलाई मान्छेको जस्तो ब्यवहार गर्नु नै मानवताबाद हो भन्नु हुन्थ्यो लक्ष्मीप्रसाद देवकोटा ।
उनी आफूले लेखेका रचनाहरू परिमार्जित, परिस्कृत गर्दैनन् । मनमा जस्तो विचार आउँछ । त्यही कुरा लेख्छन् । उनका कवितामा सरल, सहज र सुकोमल पदावलीको प्रयोग भएको देखिन्छ ।
उनले भावनाको हार्दिक कोमलतालाई कवितामा फस्टाउनका साथै पूर्वीय पाश्चात्य साहित्यलाई संयोजन गरी काब्य सिर्जना गरेका छन् । नेपाली कवितामा लोकलयलाई स्थापित गराउने र स्तरीकरण गराउने काममा उनको महत्वपूर्ण भूमिका रहन जान्छ ।
लक्ष्मीप्रसाद देवकोटाले लेखेका छापिएको पहिलो कविताको शीर्षक हो -उद्वोधन । यस कविता इन्द्रेणी पत्रिकामा छापिएको थियो भने लक्ष्मी कवितासङ्ग्रहमा सङ्ग्रहीत छन् । कविता ७३ हरफमा संरचित गद्य कविता हो । ब्यङ्ग्यात्मक शैलि प्रयोग गरिएको कविताको भाषाशैलीमा अन्त्यानुप्रास यूक्त भाषाको प्रयोग गरिएको छ । जसले गर्दा कविता सङ्गीतात्मक बनेको छ । कविताको भावमा आजको मान्छेमा देखिएको विकृति र विसंगतिलाई चित्रण गर्दै पुर्खाले सृजना गरेको पहिचान बिर्सेर अर्काको पछि लाग्न थालेको बीडम्वना रहेको ब्यक्त गरेका छन् । चाकडी र चाप्लासु गरेको भरमा सबै स्वार्थपूर्ति हुनेप्रति तिखो ब्यङ्ग्य प्रहार गर्दै सबैले आफ्नो कर्तब्य निर्वाह गर्न सजग समेत गराएका छन् । नेपालीहरू गरिवी र चेतनाको अभावले गर्दा पछ्यौटेपनले जरा गाडेको भन्दै आफ्नो देश र जनताको लागि दृढ सङ्कल्प लिएर अडिक लिई अगाडि बढ्नु पर्दछः
नेपाली भनेको त्यो हो जसले
माँसी माँसी उत्री उढ्दछ खतरापार,
जसले उढाउछ विश्व जगाई
आजको युगको विश्वको भार ।
(उद्बोध, लक्ष्मी कवितासङग्रह-२०२३)
प्रकाशनको हिसावले लक्ष्मीप्रसाद देवकोटाको पहिलो कृति वि.सं. २०१० को दशकमा भिखारी कवितासङ्ग्रह हो । भिखारी कवितासङ्ग्रहमा रहेका कविताहरू शारदा पत्रिकामा पूर्व प्रकाशित भएका थिए । तर्सथ, उनलाई शारदाकालीन कवि पनि भनिन्छ । २२ वटा फुटकर कविता रहेको यस सङ्ग्रहमा यात्री, तिनको घँसिया गीत , सन्ध्या, वन, गरी घाँसी, वादल, प्रश्नोत्तर, आफ्नो घर, जीवन वन, बालककाल, बृक्ष, किसान, चारू, बसन्ती जस्ता कविताहरू छन् । यस कविताहरूमा शिल्पशैलीमा मुख्य गरेर सौन्दर्यता, नविनता र ताजापन पाइन्छ ।
भिखारी कवितामा स्वच्छन्दतावादी प्रवृत्ति मात्र प्रस्फुटित भएका छैनन् । यहाँ समाज परिवर्तन प्रवृत्तिका कविताहरू देखिन्छ । यस कवितामा भिखारीको जीवन यापनमा आइ पर्ने मर्मस्पर्शी वेदनाहरूको मनलाई शान्त पार्न चह्याइरहेको घाउमा महलम लगाउन आग्रह गर्छन् । यसै कवितामा कविले धार्मिक अन्धपरम्पराको विरोधको साथै धेरै अन्धविश्वासलाई सुधारदै लानु पर्दछ । उनि भन्छन् इश्वर मन्दिर भित्रको चिसो मूर्तिमा होइन, मनुष्यको शुद्ध र न्यानो मन-आसनमा निवास गर्छन् । मान्छेभित्र रहेकोर् इश्वर सम्झेर दिन दुःखीको सेवा गर्नु नर्ैर् इश्वरको पूजा गर्नु हो, सच्चा धर्म हो भन्ने बताउने कविता पाइने अस्तिकताको मूल रूप यही नै हो ।
वि.सं. १९९० को दशकमा चर्चित रहेको भिखारी कवितासङ्ग्रह आजसम्म त्यतिनै चर्चित नै छ । उक्त कृति नेपाल र भारतका विश्वविद्यालयमा पाठ्यक्रममा समाबेश गरी पठनपाठन गरिदै आएको छ ।
कुन मन्दिरमा जान्छौ यात्री
कुन मन्दिरमा जाने हो –
कुन सामाग्री पूजा गर्न
साथ कसरी लाने हो –
-यात्री)
हेर भिखारी अडि अडि आयो
करुण दृष्टिले नजर उठायो ।
गाढा दुःखको मौन प्रकाश
झीना आश- तार बजायो ।
(भिखारी)
देवकोटा सासाना कविताहरू लेखेर नै प्रसिद्धि भएका हुन् । महाकाब्य लेखेर नै उनको नाम आकशीयका हुन् । २००२ सालमा उनले् पहिलो पटक शाकुन्तला महाकाव्य लेखे । मौलिक एवम् नवीनता भरेर तीन महिनाको अन्तरालमा लेखिएको उक्त महाकाव्यको प्रमुख आधार महाकवि कालीदासलाई बनाएर लेखेका हुन् उनले । २४ र्सग रहेको काव्यमा मर्मस्पर्सी कविता धेरै नै छन् । सकुन्तलामा ब्यक्त गरिएका भावहरूलाई हेर्दा देवकोटाले कालीदासको विचारलाई पछ्याएको देखिन्छ । पश्चिमी स्वच्छन्दतावादी कविहरू कीट्स, शेली, वर्डर्स्वर्थ, कलरिज, बाड्रन, ल्याव , ह्राजलिट आदि देवकोटाको उत्प्रेरक साहित्यिक दर्शन हुन् । नेपालमा कविता र निबन्धमा स्वच्छन्दतावादी करण गर्ने पहिलो काव्यब्यक्ति उनै हुन् ।
लक्ष्मीप्रसाद देवकोटाको दोस्रो चर्चित खण्डकाव्य कुञ्जिनी हो । आफ्ना मामा ससुराली धादिङ्गको पिडा गजुरी जादा उनले झिल्टुङ डाँडो, कोल्पुखोलाको प्राकृतिक मनोरम दृश्यले भावुक भएर लेखेको कुञ्जिनी खण्डकाव्यको कथाको सार यस्तो छ ।
नुवाकोट जिल्लाको झिल्टुङ गाउँमा बस्ने गोरे राहुल घाँस काटेर फर्कदा कोल्पुखोलाको तीरमा थकाई मेटाउने क्रममा कुञ्जिनी नाम गरेका एक युवतीसँग भेट हुन्छ । दुबै जना एक आपसमा बातचित गर्दा मायाप्रिति बस्छ । दुबै नजिकिन्छ । एकदिन गोरे कुञ्जिनीलाई माग्न जादा कुञ्जिनीको बुवा ठालुंसिहमा पुग्छ । रिसले चुर्रभई गोरेलाई तुच्छबोलीमा गाली गलौच गर्छ ।
त्रिशूलीमा डुबी आइज मेरो छोरी लिन
नत्र भीरको भालुलाई जा ! जा ! मैले दिन ।
(कुञ्जिनी)
यसरी अपमानित भई गोरे आफ्नो घर र्फकन्छ । कुञ्जिनी बहुतै चिन्तित हुन्छे । केही दिन पछि कुञ्जिनी आफ्नो मामा घर जान्छे । उता गोरे कोल्पु खोलाको तिरमा कुञ्जिनीको आगमनको पर्खाइमा बस्छ । आकाशमा कालो वादल मडारिन्छ । कोल्पुखोलामा बाढी आएको हुन्छ । गोरे नजिकबाट खोलामा हामफालीएको महिलाको आवाज सुनिन्छ । तत्काल गोरे आफ्नो ज्यानको प्रवाह नगरी खोलामा पसी कुञ्जिनीलाई बचई घर लगिदिन्छ । ठालुंसिह खुशी भई आफ्नी छोरी गोरेसँग विवाह गरिदिने बचन दिन्छ । काम विशेषले गोरे जर्मनको लडाईमा जान्छ । उता कुञ्जिनी लामो समय गोरेको पखाईमा हुन्छे । लडार्इमा घाइते भई आरामका साथ गोरे कुञ्जिनीको सम्झनामा दिन काट्दै बस्छ । विदेशबाट गोरे फर्कदैनन् भनी कुञ्जिनीलाई अर्कैसँग विवाह गर्न सल्लाह दिई उनकी बुवा पेडा गजुरी स्थित लखन लेप्टेनको छोरा सेतेसँग विवाहको कुरा छिन्न जान्छन् । आफ्नो इच्छा विपरित विवाह गर्न लागेको हुँदा कुञ्जिनी खोलामा फाल हालेर मर्छिन् । यसरी नेपाली समाजमा प्रचलित घटनामा आधारित भएर देवकोटाले लेखेका कुञ्जिनी खण्डकाव्य अत्यन्त प्रचलित लोकलयमा आधारित छ । सवाई छन्द , गाइने झयाउरे , असारे, मारूनी, चुड्का आदि गरी २८ वटा लोकलयहरूको प्रयोग गरेको देखिन्छ । समग्रमा भन्दा उक्त खण्डकाव्य उत्कृष्ट मान्न सकिन्छ ।
अन्तत, क्यान्सर रोगसँग जुदाजुध्दै वि.स. २०१६ साल भाद्र २९ गते आर्यघाटमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको देहाबसन हुन गयो । नेपाली भाषा-साहित्यमा आजीवन समर्पित भएका देवकोटाको उच्च सम्मान गर्दै राज्यले २०२१ सालमा हुलाक टिकट प्रकाशन गर्नुको साथै मरोणप्रान्त त्रिभुवन पुरस्कार (२०२३) प्रदान गरेको थियो ।
बट्टार, नुवाकोट । nlf_nepal@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.