उकासूँ कसोरी म यो जिन्दगानी
न काँढा न नौनी भयो जिन्दगानी !
नपुग्ने इरादा बुनी दास बन्दा
नदीमाझ प्यासी छ यो जिन्दगानी !
महा मोह जालो लता जेलिए झैं
यही जेल कुर्दै गयो जिन्दगानी !
यता बिघ्न बाधा उता साँघुरा छन्
छ मिथ्यासरी बन्द यो जिन्दगानी !
न भ्यायो कसैको भलो मान गर्नै
उदायो शशी झैं न यो जिन्दगानी !!
(छन्द : भुजङ्गप्रयात) (122 × 4)
(मुतकारिब मु मु सालिम्)
___ जयदेव गोविन्द ।
