बगरमा ठिङ्ग उभिएर
बगिरहेको नदीतिर हेर्दै
म मनमनै भन्छु-
किन बग्छौ संधै एक्लैएक्लै
अंगालोका किनारहरू छोड्दै ?
पहाड,पखेरा
सुन्दर जंगलको न्यानो सामीप्य तोड्दै ?
के तिमी प्रेममा रमाउदैनौ ?
आलिङ्गनको सुखमा तृप्त हुन्नौ ?
नदी
मान्छेभन्दा धेरै भिन्न हुँदोरहेछ
मान्छेका तिर्खा मेट्दै
फेरि चटक्कै मान्छेलाई नै त्यागेर
अनिश्चित यात्राक्रममा
पुनः सम्मिलित हुँदै
दूर देशतर्फ बगिरहने
निठूरी नदीसित
के गर्नु मायाका कुरा
अङ्गालोका कुरा
सामीप्यका कुरा
जिस्क्याउन खोज्छु
रिस उठाउन खोज्छु
मान्छे बनाउन खोज्छु-एकैछिन नदिलाई
बिस्तारै छोएर
तरङ्ग उठ्छ
केहीबेर अव्यवस्थित भई पानी चल्बलाउछ
म कहाँ पत्याउछु र
नदीको मन छैन ?
नदीसित भावना छैन
उसलाई अङ्गालोको
अपार आनन्द मन पर्दैन !
लाग्छ -नदी मुस्कुराएझैं
मान्छे भएर नदीले-किनार छोपे झैँ
फैलाएर वलिष्ठ पाखुराहरू
पहाड पखेरा चढे झैं
मान्छेभन्दा फरक रहेनछ नदी
नदी त साच्चै
पहाड पखेरा र जङ्गल अनि किनारहरूबाट
युगौदेखि बिछोडिएर ब्याकुल भई
निसासिएको रहेछ
नदी त अतृप्त रहेछ
कसरी थेग्छ्न् अब नदीलाई
पहाडहरूले..जङ्गलहरूले..किनारहरूले ?
सोचेथे
नदीसित मनले पनि कुरा गर्नु हुदो रहेनछ
नदीसित मित्रता जोडनु पनि हुदो रहेनछ
मान्छे पो मायालाई खेल ठान्दो रहेछ
मान्छे पो मायालाई ठट्टा ठान्दो रहेछ
नदी त मौन भईकन पनि निरन्तर रहेछ
नदी त स्वयम् प्रेममय रहेछ ।
“बाबा”
