तेराखको कुशल शिल्पले सुसज्जित कथाकृति

Shriram, Shrestha, Nuwakot, श्रीराम श्रेष्ठ, pallawa, पल्लव

श्रीराम श्रेष्ठ

कथा, उपन्यास, निबन्ध, नाटक तथा कविता विधामा निरन्तर रूपमा क्रियाशील स्रष्टाको नाम हो, तेजराज खतिवडा अर्थात् तेराख । झापामा बसेर साहित्य लेखनमा सक्रिय खतिवडा नेपाली साहित्य आकाशमा आफ्नो छुट्टै आयाम विजारोपण गर्न सफल स्रष्टा हुन् । ‘प्रिया’ काव्य – बि.सं.२०२६)मार्फ् साहित्यकारका रूपमा परिचित भएका हुन उनी । उनका ढाडेको नाकमा घिउ, अलपत्रेका फूलहरू, प्रिय शान्तिनगर, पश्चिमी हावा, रातको बाह्र बजे, टेष्ट्युव बेबी, सहर-गाउँ, दुइ नारीको चेपमा, गोल चिन्तनका साथै सिमीको बोट कथा सङ्ग्रह प्रकाशित छन् ।

 


‘सिमीको बोट’ प्रतिभा, धारो , सुखानी, यथार्थ, जुही, मेची, संगम जस्ता विभिन्न पत्रपत्रिकामा प्रकाशित १३ वटा कथाहरूको सङ्ग्रह हो । यस सङ्ग्रहका कथाहरूमा व्यक्ति, समाज र समयलाई यथार्थ ढङ्गले रोचक शैलीमा प्रस्तुत गरिएकाले कथा सम्प्रेषणीय छन् । भाषाशैली, चरित्रचित्रण, सम्वादशैली, कथ्य आदि तत्वहरूमा कथाकार तेराख अब्बल ढङ्गले छाप छोड्न सफल भएका देखिन्छन् । उनका कथाका भावभूमि गाउँ तथा सहर नै हुन् । थोरै लेखेर धेरै कुरा बुझाउन सक्ने क्षमतावान् कथाकारका रूपमा दर्ज भएका छन् – तेराख । जीवनका अनुभव, अनुभूति, भोगाई र विचारलाई सूक्ष्म रूपमा कथामा उतारेर कथाकार तेराखले आफ्नो परिपक्क दृष्टिकोण प्रस्तुत गरेका छन् ।
उनको लेखनको खास प्रवृत्ति भनेको प्रयोग हो । प्रत्येक कृतिमा छुट्टै किसिमको प्रस्तुति पस्कन आफ्नो ब्रम्हले भ्याएसम्म तल्लिन हुन्छन् उनी । र, यसमा अन्ततः सफल पनि भएका छन् । साहित्यमा सबै भन्दा बढी पढिने विधा कथा हो । विविध परिवेशलाई समेटेर पस्केका उनका यी कथाले नेपाली कथासाहित्यलाई समृद्ध बनाएको पाइन्छ ।
‘एक धर्को सिन्दुर’ शिर्षकको एउटा अभिषापीय कथाबाट शुभारम्भ छ- सिमीको बोट कथा सङ्ग्रह । यस कथामा महिलाहरूको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने दुःख-सुखलाई प्रस्तुत गर्न खोजिएको छ । कथाले जोकोही मान्छेलाई गम्भीर भएर सोच्न बाध्य तुल्याएको छ । जानी जानी आफ्नो सुरक्षाको खातिर अपनाइएको क्षणिक जुक्तिले नेपाली समाजलाई विश्वास दिलाउन नसक्नाले काकी पात्रबाट शकुन्तला नामकी एक युवती अनाहकमा त्यसको शिकार बन्न पुगेकी छिन् । त्यस्तै गरी काठमाडौँको महङ्गी, फेशन र मानवीय पीडाहरूमा केन्द्रित ‘मनोज झस्किरहन्छ’ शिर्षकको कथामा टुङ्गिन्छ सङ्ग्रह ।
भूमिकामा साहित्यकार डा.नरेन्द्र चापागाई लेख्छन् उनका कथाहरूको रूपपक्ष कतै चित्रात्मक रहेको र कतै विश्लेष्णात्मक रहेको अनि पात्रका चारित्रिक धरातललाई फराकिलो र युगिन परिवेशलाई सघनरूपमा प्रस्तुत गरिएको पाइन्छ भने कथाका बान्कीले आफ्नो छुट्टै रूप लिइ प्रतिनिधिमूलक पनि बनेको छ । त्यस्तै, भूमिकामै अर्का साहित्यकार प्रा.तारा विविध लेख्छन्- तेराखका कथामा चरित्रहरू सत् र असत् दुबै खाले छन् । यी दुवै खाले चरित्रका बीच द्धन्द पाइन्छ कथामा । दुःखको कुरा के छ भने सत् पात्रहरू सदैब पराजित अवस्थामा पुगेका छन् । सत् पात्रमा परिस्थितिसँग जुधेर विजय हासिल गर्न क्षमता छैन बरू पराजितलाई बाध्यता स्वीकार गर्ने प्रवृन्ति छ । यसरी तेराखका कथामा पात्रहरूमा सामाजिक चेतना छ तर पराजित मानसिकता भित्र बाँचको चेतनाले काम गर्दैन भन्ने सन्देश उहाँका प्राय ः कथाहरूले दिने गर्दछ ।
कथाकार तेराखले २०४६ को जनआन्दोलन अगाडिको पञ्चायतकालीन निरंकुशताबाट आमनागरिकले खेप्नु परेको सास्ती र जनआन्दोलन पश्चात् राजनीतिक दलका नेता तथा कार्यकर्ता व्यक्तिगत तथा पार्टर्ीी स्वार्थमा अल्झेकोले नेपाली जनताको आशामा तुषारापात हुन पुगेको सटिक यथार्थवादी चित्रण हो, उज्यालो कहिले हुने हो र सामान्ती घर शिर्षकको कथा ।
सङ्ग्रहका प्राय ः कथाले नेपाली समाजमा आएको परिवर्तनलाई इङ्गित गर्न खोजेको देखिन्छ । उजाडिएको बस्ती, बेली गाई, डुँडी बाहुनी बज्यै जस्ता कथाहरूले युगौँदेखि चल्दै आएको संस्कारलाई निरन्तता दिनुको साटो समाजमा रहेको मूल्य र मान्यतालाई तहस नहस गर्न खोज्ने संस्कारको विकास भइरहेको व्यङ्ग्यात्मक भाव प्रस्तुत गरेका छन् ।
यस सङ्ग्रहको शिर्षककथा सिमीको बोट उत्कृष्ट कथाको रूपमा देखिन्छ । सिमीको बोटमा लाग्ने कीरा र मानिसको शरीरमा लाग्ने रोग अन्ततः एउटै हो । यद्यपि, यी दुवै रोग औषधी प्रयोग गरेमा निको हुन्छन् भन्ने चेतनामूलक जानकारी पनि सिमीको बोट कथाले दिन्छ ।
सामाजिक यथार्थ हुँदै आलोचनात्मक यथार्थसम्म र्स्पर्शमध्ये अधिकांश प्रगतिशील यथार्थवादी विचारले ओतपोत भएका पाइन्छन् । सिमीको बोट कथासङ्ग्रहभित्रका कथाहरूलाई सरर्सर्ती अध्ययन गर्दा कथाले ग्रामीण क्षेत्रका तमाम सीमान्तकृत मानिसका दुःख-पीडा र संवेदनालाई प्रतिबिम्बित गरेको देखिन्छ । यी कथाहरू ग्रामीण परिवेशका सपाट दृश्यचित्र हुन् भन्न सकिन्छ । सङ्ग्रहभित्र समाविष्ट कथाहरू अत्यन्त उत्कृष्ट छन् । पठनीय, मननीय र चिन्तनीय छन् । विषय, शैली र प्रस्तुति सबै कोणबाट कथाहरू उत्कृष्ट लाग्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.