भयो जन्म मेरो रमाएर सारा
समाएर दादा खुसी बार–बार I
पितामा खुसीले बढेको अपार
बुवाका सुनेथेँ सुनौलो विचार II
थियो बाल्यकालै सुखको चिनारी
कहन्थ्यो कसैले पुकारी पुकारी I
हरायो र नास्यो विचारी विनाले
भएँ आज दुःखी म छोरी हुनाले II
अहो ! भाग्य मेरो कतै भेटिँदैन
छ मोही अझै प्यास मेटिँदैन I
विधाता तिमी नै गरी के रहेछौ
दुखाई मलाई पराई भएछौ II
अझै माइतीकै छ इज्जत् निशानी
खुबै फक्रिएकी सुकाई जवानी I
बचाएर बाँच्दा सुकेको परानी
म देख्दै छु आफैँ उडेको खरानी II
नदीको किनारा सरी बस्नलाई
पठाए पराई सरी कै बनाई I
वघैँचा समीपै गई बस्न सोच्थेँ
दुखैमा दिएका रहेछन् मलाई II
भुजङगप्रयात,
ISS, य, गण x ४,
– भवानी न्यौपाने ‘भावना’
‘ग’लाइन्, तुलसीपुर, दाङ I
