नाम सुनिएका तर कम भेटिएका मेरा मित्रहरूमध्ये कृष्णशरण उपाध्याय (२०२३) पनि एक हुन् । कन्यादाता मेरै छिमेकीको घरमा आउँदा पनि उनीसँग मेरो भेट हुन सकेको थिएन । तीन वर्षअघि मौलाकालिका मन्दिरमा आयोजित शारदीय कविता गोष्ठीमा उनको गलाबाट कलात्मक कविता सुन्दा म निकै आनन्दित र मोहित पनि भएको थिएँ । त्यसपछि उनका कविताहरू सधैं सुनूँ सुनूँ र पढूँ पढूँजस्तो लाग्थ्यो तर उनी देवघाटका भए पनि तनहुँ बन्दीपुरका दुइटा शिक्षण संस्थामा सेवारत भएकाले उनका कविता सुन्ने अवसर मलाई प्राप्त भएको थिएन । उनले २०७२ असार १२ गते बिहानै फोन गरेर ‘आज देवघाटमा मेरो कविता सङ्ग्रहको विमोचन कार्यक्रम छ, हजुर जसरी भए पनि आइदिनु होला’ भनेर निम्तो गरे ।
आकाशगङ्गाद्वारा अभिषिक्त हुँदै र हर्षित हुँदै म ‘मेरी धरती’को घुम्टो उघार्ने स्थलमा पुगेँ । २०६७ मा आफ्ना बुबाको देहान्त भएपछि उनी छ महिनासम्म राम्ररी निदाउनै सकेनछन् । त्यही अनिद्राले उनलाई वियोगिनी छन्दमा कविता लेख्न घच्घच्याएछ । लेख्न त उनले पहिले पनि समय समयमा धेरै कविताहरू लेख्ने गर्दथे तर पितृवियोगपछि उनले बन्दीपुरको सन्दर प्राकृतिक शिखरमा बसेर दैनिक रूपमा एउटा न एउटा कविता नलेखी उनको दिनचर्या बित्नै छाडेछ । त्यस क्रममा उनले हालसम्म एक हजारभन्दा बढ्ता कविताहरू रचिसकेका रहेछन् । तिनै कविताहरूमध्ये ८४ ओटा छन्दोबद्ध कविताहरूलाई ‘मेरी धरती’ नामक सङ्ग्रहमा समाविष्ट गरेर उनले प्रथम साहित्यिक कृति सार्वजनिक गरेका हुन् ।
त्रिवेणी साहित्य परिषद् नवलपरासीको ५५ औं पुष्पमालाका रूपमा प्रकाशित यस कृतिको नामकरण यसभित्रको ५७ औं कविताको शीर्षकबाट गरिएको हो । यसमा २०७० असार २६ देखि २०७२ वैशाख १४ सम्मका कविताहरू समावेश गरिएका छन् । ६१ र ६३ औं कविताबाहेक सबै कविताको अन्तमा रचनाकाल दिइएको छ । मात्रिक, भुजङ्गप्रयात, द्रुतविलम्बित, शालिनी, रथोद्धता, दिक्पाल, उपजाति, स्वागता, इन्दिरा, अनुष्टुप्, चित्रिका, रूपामाली, स्रग्विणी, मात्रा, मालिनी, रुचिरा, तोटक, शिखरिणी र छन्दिका गरी १९ ओटा छन्दहरू प्रयोग गरिएको यस सङ्ग्रहमा चित्रिका र छन्दिका दुई छन्दको आविष्कार कवि स्वयम्ले गरेका हुन् । कविले यस सङ्ग्रहको लेखकीयमा ‘युक्तिका’ नयाँ छन्दको पनि प्रयोग भएको जनाएका छन् तर यसभित्र कुनै पनि कवितामा त्यसको उल्लेख भएको पाइँदैन । कविताहरूको बाह्य संरचना हेर्दा एउटा कवितामा ४ श्लोकदेखि ११ श्लोकसम्मको संरचना रहेको पाइन्छ । अनुष्टुप् छन्दमा रचिएका ४२, ४७ र ७१ औं कविताहरूमध्ये पहिलो कविता दुई पङ्क्तिमा राखेर श्लोक सङ्ख्या उल्लेख गरिएको छ अन्य दुवै कविताहरू चार चार पङ्क्तिमा रचना गरिएका छन् । अनुष्टुप् छन्दको कविता दुई पङ्क्तिकै हुने प्रचलन रहेका सन्दर्भमा १२ श्लोकको हुनपुग्ने ‘धर्ती बचाऔं’ शीर्षकको ४२ औं कवितालाई यस सङ्ग्रहको लामो कविता मान्न सकिन्छ । सहिदका बारेमा २५ र ४५ औं कविता, नारीका सम्बन्धमा ३३ र ४८ औं कविता तथा राजनीतिका बारेमा २३ र ७१ औं कविता केन्द्रित रहेकाले तिनलाई ‘सहिद’ र ‘सहिदप्रति’, ‘नारी’ र ‘नारीप्रति’ एवं ‘राजनीति’ र ‘कस्तो राजनीति’ शीर्षक राखेर पुनरुक्ति दोषबाट बच्ने प्रयत्न गरिएको छ ।
कुनै बेला राष्ट्रिय झन्डा फेर्नुपर्छ भन्ने आवाज पनि उठेको थियो । सम्भवतः त्यसैलाई विचार गरेर होला चन्द्र र सूर्यको ध्वजामा हामी गोर्खालीको निसाना छ, देशलाई सशक्त पार्न र ऊर्जा पिएर चण्डमुण्डलाई समाप्त गर्दै प्रचण्ड भएर देशलाई चम्काउने चाहना यसको छ । यही झन्डामैं नेपालको मानचित्र लेख्न र जिन्दगी पनि सजाउन सकिने ठानेर वर्तमान राष्ट्रिय झन्डाकै गुणगान गाइएको छ । नेपाल नजानिँदो तरिकाले बिक्तै गरेको देखेर कविले नेपालको माटो समातेर स्वर्णको बिज छर्ने, आप्mनो अस्तित्व नै समाप्त गरेर भए पनि नेपाललाई तारेर छाड्ने, देशविना आप्mनो कुनै अस्तित्व नरहने, वक्तव्यवाजी छाडेर कर्तव्यको मूर्ति बन्दै नबोली नबोलीकन काम गर्ने र नेपालको शिर कुनै हालतमा पनि झुक्न नदिने दृढसङ्कल्प लिएका छन् । युवाशक्ति सिमाना काटेर विदेशी मरुभूमिको धूलो चाट्न जाँदा नेपाली आमाको काख खाली रहेको, लाखौंलाख आशा र अपेक्षाहरू पूर्ण गर्न नेपालमैं फर्किएर डुब्न लागेको डुँगालाई किनारा लगाउन कविले आह्वान गरेका छन् । साथै विघ्नबाधाहरू नआई कर्तव्यमा पुग्नै नसकिने ठान्दै नेपाल आमालाई अश्रुधारा नबगाउन र जुनसुकै सङ्कटका बेलामा आफूलाई सम्झिदिन उनले आग्रह गरेका छन् ।
‘चरा’को सामाजिक अध्ययन गर्दै कविले चरा भोलिका लागि मर्दैन, व्यर्थैमा हात बाँधेर पनि बस्तैन, मातेर जुवातास पनि खेल्दैन, चराविनाको संसार वासनाविहीन पूmलजस्तो हुन्छ, चरा एक्लो शरीरलाई सम्पत्ति ठानेर कर्मवीर बन्छ, उसले कहीँ आवास र धर्ती दर्ता गर्दैन, चोर्ने, छल्ने र थुपार्ने बानी पनि उसमा छैन, उसले व्यर्थको राजनीति गर्दैन, उसमा छुवाछूतको रोग र उन्मादिलो भोग पनि छैन, त्यसैले चराबाट अनन्त ज्ञानको उपदेश लिएर आफू र आप्mनो देशलाई अघि बढाउनुपर्छ भन्ने सन्देश दिएका छन् ।
कृष्णसेन ‘इच्छुक’को ‘कान्छी, भट्टी र देश’ कविताबाट प्रभावित भएर होला कविले आप्mनो ‘कान्छी’ कवितामा लोग्ने विदेश गएका कान्छीहरूको अवस्थाको कारुणिक चित्रण गरेका छन्, गरिबी दशाले थाकिरहेका र उज्यालो जपिरहेका कान्छीहरूको मनोदशाको चित्रलाई यस कवितामा उतारेका छन् ।
गाउँबाट ‘सहर’मा पस्ताबित्तिकै कविले सहरलाई चिडियाखानाजस्तो जीवनविहीन र वासनाविहीन कागजको फूलजस्तो ठान्छन्, बाहिर हाँसे पनि भित्र रोइरहेको देख्छन् अनि सहरले स्वजन र दुस्मनलाई चिन्दैन, जति रिङे पनि सहर जहाँको तहीँ रहन्छ र सहरका घर एवं अनुहारहरू पनि नक्कली नै हुन्छन् भन्ने उनको ठम्याइ छ ।
निराशाहरूको सातो लिन जमेको चिसो रगत होइन उम्लिएको तातो रगत आवश्यक छ भन्दै तातो र जिउँदो रक्त लिएर यही देशमा नदी बगाउन, हीरा फलाउन, लुकेका खजानाको अन्वेषण गर्न कविले युवावर्गलाई प्रेरित गरेका छन् । साथै उनले विदेशिएको युवाशक्ति फर्केर स्वदेश आई आफ्नो गाउँठाउँको कालोमैलो पखाल्न र निभ्न लागेको आशाको दियो जलाउन आह्वान गरेका छन् ।
वर्तमानमा हजारौं किसिमका दुर्योधनहरू बढ्दै जानाले ‘आजका द्रौपदी’लाई आफ्नो अस्मिता जोगाउन निकै गाह्रो भएको छ, उनीहरूले निर्लज्जता ढाकेर मरेको जिन्दगी बाँच्नु परेको छ, उनीहरूको लाज बचाइदिने कृष्णहरूले यहाँ जन्म लिनै सकेका छैनन्, सधैं अरूकै त्रासले बाँच्नुपर्ने र मुटुमाथि ढुङ्गा राखेर हाँस्नुपर्ने उनीहरूको वर्तमानतालाई चिर्दै नारीहरू निर्धक्क भएर स्वयंभित्रको शक्तिले संसारलाई छक्क पार्ने दिन आउला त ? भनेर कविले हाम्रो वर्तमान समाजसँग गम्भीर प्रश्न गरेका छन् ।
नेपालमा जताततै ‘डढेलो’ लागेको र त्यस डढेलाले गर्दा बँचेको आस पनि भागेको, सबै रङ्गका जात र धर्म डढ्दै गएको र देशको राजनीतिमा लागेको डढेलाले गर्दा कालो कुरीति बढ्दै गएका कारण कविले डढेलो निभाउने जुक्ति दिन र डढेलो बुझाइदिन सबैलाई गुहारेका छन् ।
सबै एकसाथ मिलेर नेपालरूपी बगैंचा बिगार्ने झारपातहरू उखेल्नुपर्ने र सबै व्यर्थका बात छाडेर अहंकर्ममा हात जोड्नुपर्ने आवश्यकता कविले देखेका छन् । चूलोचौको र ढुटोपीठो जताततै ‘साङ्लाहरू सलबलाउँदै धुतेर एवं लुटेर खान सल्किएका छन् र देशमा तिनै साङ्लाहरूको हुङ्कार, सान र सम्मान पनि बढेको देख्ता कविको मन दुखेको छ ।
केही गर्नै सकिनँ भनेर आत्मालोचना गर्ने सन्दर्भमा कविले राम्रा काम गर्न, देशका लागि मर्न, आपैmलाई बाल्न र बलाउन, देशको रोग जलाउन, ज्ञान र धर्मको दीप बाल्न, देशको दर्विलो पुत्र बन्न, यज्ञमा चरुको दाता र दीनदुःखीहरूको छाता बन्न नसकेकोमा अनि सङ्कल्पले शून्य बाँच्नुपर्दा र जिन्दगीको तरु भाँच्नुपर्दा निकै पछुतो मानेका छन् । त्यसैले कुवाको भ्याँगुतो नबनी साँघुरो तत्त्वमा सत्य हुन्न भन्ने ठानेर सबै नेपाली एकसाथ माथि उठ्नुपर्ने आवश्यकता उनले देखेका छन् । साथै ‘मैले के नै गरेँ ?’ भन्दै आफू नेतालाई गाली गरेर नथाक्ने भएको, आफ्नै अल्छ्याइँले गर्दा राम्रा काम गर्न वा देशका लागि मर्न, उद्योगधन्दा वा पेसा जमाउन, कर्तव्यका साथ पैसा कमाउन, तपस्या गर्न वा समस्या तोड्न, त्यागको राजनीति गर्न वा कुरीति हर्न, देशको आँसु पुछ्न वा पापिष्ठको मासु लुछ्न नसकेको, अरूबाट आशा गर्दागर्दै गरिबी दशामा परेको, निकै बोल्न र छल्न, जहाँ मौका मिल्छ त्यहाँ ढल्न, अरूले माने वा नमाने पनि मपाईंत्वको रङ्ग घोल्नमात्र जानेकाले देशका लागि आपूmले कुनै कर्तव्य पूरा गर्न नसकेको अनुभूति गरेका छन् । त्यस्तै ‘म के गर्दैछु ?’ भन्ने अर्को कवितामा म नै देशको उच्च शिक्षाधिकारी, कर्मचारी, सिपाही, कलाकार, राजनेता, उद्योगी, व्यापारी सबै हुँ तर म बदनामी, पापी, शक्तिले उन्मत्त, सिर्जना चोर्ने र कालोबजारी गर्ने त भएको छैन ? भनेर आफैसँग प्रश्न गर्दै नयाँ जोस र उमङ्गका साथ आफूलाई देशको भक्त बनाउने प्रण गरेका छन् । यसै गरी ‘म नबाँचे पनि हुन्छ’ भन्ने कविताले शरीरमा जोस, विवेकमा उमङ्ग, आफूमा प्रेरक अंश, सुन्दर कर्म गर्ने चाहना, बाँचेसरीको व्यवहार, साहित्य र सङ्गीतको गला, सत्साधना, विचार, जीवन्त बन्ने श्रम र सिप, खेल खेल्ने तन तथा मेल गर्ने मन र काँडैकाँडा भएको तर फूलहरू नभएको हुँदा आफू बाँच्नुको कुनै अर्थ छैन भनेर गम्भीर आत्मालोचना गरेका छन् । यसरी नै सबै नेपाली जनताले आत्मालोचना गरेर देशनिर्माणमा अग्रसर भइदिने हो भने देशको मुहार फेर्न धेरै समय नै लाग्ने थिएन ।
देशमा बेलैमा संविधान नबन्दा नेपाल आमाको मुहार र युवाका आँखाहरू अँध्यारा भएको, दुराचार उठ्तै र सदाचार हराउँदै गएको, धार्मिक सहिष्णुता खलबलिँदै गएको र जाली फटाहाहरू उर्लँदै गएकाले कविले बेलैमा संविधान चाहिन्छ भनेर उद्घोष गरेका छन् । नेपाल हरेक क्षेत्रमा अस्वस्थ हुँदै गएकाले आमाको दिल दुखेको भन्दै कविले नेपाल आमालाई हँसाउन सबै क्षेत्रलाई स्वस्थ बनाउन जरुरी ठानेका छन् ।
हिजो नेपालको जुन मान, गान र सान थियो, त्यो आज बिरानो देशको कहानी हुनपुग्दा, नेपालको काँध उठाउने युवाको लर्को विदेशिँदा, नेपालको नयाँ सपना देख्न र कोर्न थाल्दाबित्तिकै लोभी आँखाले चारै नाका थुनिदिँदा र स्वदेशी बजारमा विदेशी वस्तुको चहलपहल देख्ता कविको मन निकै दुखेको छ ।
यस देशका सबै जनता नबुझ्ने, नलड्ने र नभिड्ने खालका रहेछन् भनेर शासकले देशलाई जसरी लुट्न, हडप्न, चाट्न, निल्न, भकुन्डो ठानेर लात हाल्न खोजिरहेका छन्, त्यसप्रति कविको गम्भीर आक्रोश पोखिएको छ । देशलाई मकैझैं नङ्ग्याउने, उठ्नै नसक्ने गरी देशको ढाड सेक्ने, सबै उद्योग खाने र युवाका सबै नयाँ सपनाहरू पचाउने शासकका कुकर्मको उनले भन्डाफोर गरेका छन् ।
नेपाल आमा आफ्ना लाखौं सन्तान भएर पनि निःसन्तानजस्तै हुनुपरेको हुँदा नेपाललाई हराभरा बनाएर हिन्दुको गन्तव्यग्राम तथा विश्वका बौद्धको मुख्य धाम बनाउन सकिएमा र नेपालको हावापानी सुहाउँदो सिप एवं शिक्षा दिन सकेको खण्डमा लाखौं युवाशक्ति विदेशिन्नथ्यो भन्ने सुझाउ दिएका छन् ।
देशको ‘राजनीति’ राम्रा राम्रा नीतिको मूलनीति हुनुपर्दथ्यो तर त्यही राजनीति स्वेच्छाचारी सेवाका नाममा मेवा खाने, जनतालाई गोरु चुटेझैं चुटेर देश लुट्ने, किनबेच गर्ने वस्त्रजस्तो, लड्नेभिड्ने अस्त्रजस्तो, धुर्त्याइँको शास्त्र, छाना, नाना र दानापानीमा भ्रष्ट भएर मुर्दाग्रस्त भएको तीतो यथार्थ पनि कविले यहाँ व्यक्त गरेका छन् । त्यस्तै ‘कस्तो राजनीति’ कवितामा सेवा र त्यागको अभाव, भाषासंस्कृतिको राग, दुष्टताको दुष्टता नाप्न नसक्ने र कोइलीलाई काग बनाउने स्वार्थको राजनीतिले देश स्वस्थ बन्न नसक्ने, उँभो लाग्नुपर्ने देश कुनीतिले गर्दा दिनानुदिन पातालमा भासिएको अनुभूति कविलाई भएको छ ।
‘बाल घाँसी कि देश’ कवितामा थाङ्ना र ठूलो डोको भिरेर सङ्घर्षको बाटामा हिँडिरहेको एउटा बाल घाँसीसँग देशको तुलना गर्दै देश यतिबेला डोके, ढोके, माग्ने, थाङ्ने, नाङ्गो, निर्धो, जड्यौरी भिर्ने र गिर्ने नभइदियोस् भन्ने कामना गरिएको छ, त्यही बच्चाजस्तै विश्वमा नेपाल कच्चा रहेकाले सबैको सुरक्षा दिने छत्रछाया नेपाललाई आवश्यक रहेको ठहरसमेत गरिएको छ ।
‘सहिदप्रति’ र ‘सहिद’ दुवै कवितामा सहिद फटाहाका निम्ति काल हो भन्दै ऊ यही देशको दियो र मियो हो, उसले अँध्यारो र पराधीनताको साङ्लो हटायो, मरे मर्छु भन्दै ऊ लडाईंमा बढेको थियो, उसले तीतो जिन्दगीभन्दा मृत्युवरण चाहेको थियो, ऊ बियो नै बियो बनेर फलेको र दियो नै दियो बनेर जलेको थियो, उसैको उज्यालो लिएर अघि बढ्न सके देश फल्थ्यो र बगैंचासरी फुल्थ्यो एवं फल्थ्यो भन्ने आशा व्यक्त गरिएको छ ।
नेपाललाई फुलाउने र फलाउने क्रममा यहाँका उद्योग, खोलानाला, खेतबारी, हँसिया, बन्चरो, कुटो, कोदालो, वनकन्दरा, हाँगाबिँगा, पात, जरा, हिमाल, चुलाचौका, थालीकचौरा सबै सबैले आशा गरिरहेका छन् किनभने आशाविना केही पनि हुँदैन र जिन्दगी पनि आशामय नै बन्नुपर्छ भन्ने ठहर कविको छ ।
देशका सबै फोहोरहरू बढारेर लोकतन्त्रलाई स्वच्छ हिमालय भैंm टल्काउने, भ्रष्टहरूलाई नङ्ग्याउने र मुलुकमा सच्चा न्याय पैmलाउने रहर पनि यहीँ व्यक्त भएको छ ।
ठुलै नाउँका ठुलै ठाउँमा ‘क्रीतदास’ (किनिएका दास) हरू रहेकाले नेतृत्व, अस्तित्व, आस्था, आशा, अपेक्षा, कित्ता, बित्ता, राष्ट्रिय ढुकुटी, नापनक्सा र सत्तामात्र होइन समग्र देश नै एकछत्त बिकेको हुँदा कविको मन निकै दुखित भएको छ । त्यस्तै ‘केही बिक्तैन मेरो’ भन्ने अर्को कवितामा देशमा राजनेताहरूको कबड्डी बिक्छ तर काव्यको पङ्क्ति बिक्तैन, उत्ताउला स्वर र कामचोरहरू बिक्छन् तर सत्कर्म र सदाचार बिक्तैन, जालझेलमात्र बिक्छ तर हात, काम, साँचो कुरा, कला र सिप बिक्तैनन्, अरू देशमा जाँदा गिदीमात्र होइन आन्द्रा पनि बिक्छ तर यहाँ उन्मत्त राज्यसत्ताले गर्दा आफ्नो केही नबिक्ने भएको छ तथापि आफ्नै रहरले देशका लागि हाड बेच्न तत्पर रहेको विवशता कविले यहाँ व्यक्त गरेका छन् ।
नेपाल आमाका सन्तानहरू यहाँ निकै क्षुद्र हुँदै गएकाले कुरो नबुझेर एकआपसमा द्वन्द्व गर्दै काम नै बन्द गरेको देखेर कविले नेपाल आमासँग आफ्ना सन्ततिलाई शुद्ध संस्कार दिन अनुरोध गरेका छन् र चुलामा नलडून्, आप्mनो कर्तव्य बुझेर गन्तव्यमा पुगून् र नेपाल आमाका गर्भबाट चाणक्य, लिंकन, गान्धी, मेक्यावली, नेल्सनजस्ता कुनै न कुनै सन्त जन्मन सकून् भन्ने कामना गरेका छन् ।
यदि ‘लोकतन्त्र’ बलियो भइदिएको भए देश यसरी चुहिने थिएन, गास, बास र कपासका निम्ति विदेशिएर नेपालीहरूको हाड कुहिने थिएन, देश यति अशक्त हुने थिएन र स्वर्गजस्ता हाम्रा सबै गाउँ र सहरहरूको अस्तित्व पनि यसरी खस्कने थिएन भन्ने गम्भीर चिन्ता पनि यहाँ अभिव्यक्त भएको छ ।
‘नारी’ र ‘नारीप्रति’ दुवै कवितामा आजका नारी विश्व थाम्न समर्थ छन्, चण्डी बनेर रक्तबीजहरूलाई मार्ने शक्ति नारीमा नै छ, नारी हाँसे सृष्टि नै अनन्तसम्म हाँस्छ भने नारी रोए विश्व नै रुन्छ, नारीहिंसा चर्काएर अनि नारीको आत्मालाई तर्साएर कुनै पनि देशको उन्नति हुन सक्तैन, नारीले चुलाचौकाको साँघुरो घेरा तोड्नैपर्छ, नारीलाई गार्गी, गौरी र जानकीजस्तै सम्मानित बनाउनुपर्छ, आधा आकाश ढाक्ने नारीले नै देशको नाक पनि राख्न सक्छन्, त्यसैले देशको निर्माण गर्ने हो भने नारीलाई नै देशको नेतृत्व सुम्पिनुपर्ने प्रस्ताव कविले राखेका छन् ।
‘पीडा’ कवितामा नेपाल आमाको गम्भीर वेदना अभिव्यक्त भएको छ । नेपाल आमा आपूm भोकी र नाङ्गी रहेको, आफ्ना सन्तानहरूले सहारा नदिँदा निःसन्तानजस्तै भएको, देशमा समयसापेक्ष शिक्षा नभइदिएकाले वर्षेनि अरबौं रकम विदेशिनाले आपूm गरिब बन्दै गएको र सर्वत्र अन्धकार छाउनाले आफू पनि औंसीको रातमा बस्न विवश भएको दुखेसो व्यक्त भएको छ ।
‘परिवर्तन’ कविताले हिजोको सरल जीवन आज असहज बन्दै गएको, शीतल जङ्गल महलमा र निर्मल नदीहरू ढलमा परिणत भएको, धन बढेर हिमाल भए पनि मन अत्यन्त क्षुद्र हुँदै गएको, असीमित धन र दौलतको लालसा बढिरहेको, मुखका अभिवादनहरू कुटिल बन्दै गएको र मुस्कानमा समेत छलछाम बढ्दै गएको देखेर कविले वास्तवमा परिवर्तन भनेको यही नै हो त ? भनेर व्यङ्ग्य गरेका छन् ।
‘बालबालिकाप्रति’ कावितामा बालबालिकाले नै खुसी ल्याएर देशको मुहार फेर्नसक्ने, उनीहरू उठ्न खोजे कसैले रोक्न नसक्ने, सबै खराबीलाई खरानी बनाउन सक्ने, उनीहरू मुस्कुराए देश नाच्न एवं भोलिको देश बाँच्न सक्ने र देशका कर्णधार बनेर उनीहरूले देश हाँक्न सकेमा देश समुन्नतिको मार्गमा प्रवृत्त हुनसक्छ भन्ने सम्भावना व्यक्त गरिएको छ ।
नेपाल आमाले आप्mना सन्ततिहरू ‘बिदाइ’ भएर विदेशी सिमाना छुँदैछन् भनेर छाती गह्रुङ्गो बनाउँदै रोएकी, भक्कानिएकी, दिमागी नसाले खाली भएकी र नचाही नचाही बिदा दिन विवश भएकी छन् । त्यसैले कविले पीरका सबै पर्खाल ढालेर समस्त दुर्दशालाई हटाउनका लागि ‘अब उठ्नुपर्छ’ भनेर सबैलाई आह्वान गरेका छन् ।
जति वसन्त पर्खिए पनि र जति सिसासरी चर्किंदै बसे पनि नेपालको मुहारमा कहिल्यै उषाकाल नआएकाले आँसुको भलमा डुबिरहनुपरेको हुँदा कविले देशबासी जनतालाई फूल झैं बन्न र मिलको मार्ग खन्न प्रेरित गरेका छन् । त्यसै गरी ‘धर्ती बचाऔं’ कवितामा उनले आजको मान्छेले जति उन्नति गरे पनि झन् झन् तल खस्तै गएको, रूख काटेर दुःखको बिउ रोपेको, सुखका लागि अरूको अमूल्य प्राण हर्ने गरेको, जलमा ढल र हावा एवं माटामा विष हाल्ने गरेको, जितेको सपना देखेर विपनामा नराम्रोसँग हार्ने गरेको हुँदा अब धर्ती आमा हुन् भनेर उसले हात जोड्नुपर्ने, खाएको थालमा चुठ्न छाड्नुपर्ने, नदीनाला एवं हरियाली बचाएर धर्ती सजाउने प्रतिज्ञा गर्नुपर्ने र त्यसका लागि आफैबाट सुकर्मको श्रीगणेश गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
‘राजधानी’ कवितामा राजधानीभित्र ठुलठुला कहानीहरू लुकेका छन् भन्ने सन्दर्भमा यहीँ सयौंले लडेर राज्यसत्ता जमाए भने सयौंले राज्यसत्ताकै लागि ज्यान गुमाए, यसको सयौं वर्षको स्वर्णगाथाका कारण माथ पनि उच्च रहेको छ परन्तु वर्तमानमा वयोवृद्ध हुँदा व्यथाले झुकेको, कुनै अङ्ग खाली नभएको, ऊर्जा दिने अन्नबाली पनि नरहेको, गाडी नै गाडी र कंक्रीटको झाडीले गर्दा जतासुकै जाम भइदिनाले सबै काम लथालिङ्ग भएको, विदेशी भूईंको तेल पिएर गाडीहरूको भेल पिउनु परेको र छाती सुके पनि पानी नपाएर काकाकुले जिन्दगी जिउनु परेको छ तर कुनै दिन राजधानी सुध्रिएला भन्ने आशाचाहिँ नमरेको भन्ने भाव व्यक्त भएको छ ।
‘हाम्रो कृषि’ प्रधान देश भएर पनि यहाँ ज्यान फालेर खेती गरिन्छ तर खान पुग्दैन र कृषिजन्य सबै वस्तु अर्कै देशबाट किन्नुपरेपछि नेपाललाई कृषिप्रधान देश भन्न लाज लागेको हुँदा देशमा कृषिक्रान्ति गर्ने सोच बनाई देशको ठूलो ढुकुटी कृषिमा नै लगाउन कविले देशनिर्माताहरूलाई सुझाउ दिएका छन् ।
‘ऊ को हो ?’ भन्ने कवितामा एउटा चरो दक्षिणबाट आएर नसा लाग्ने नयाँ राग अलापेको, आत्माबीच बुद्धलाई राखेर शान्तिको गौरव गाएको, विकासको नयाँ मार्ग सुझाएको, गोर्खालीको सम्मान गर्दै शिर झुकाएको, नयाँ सोच सजाएर सम्भावनाका नगरा बजाएको, तुसारजस्तो मन तताएको, चारा छरेर मनपेट चोरेको, नेताहरूमा ऋषिमन भए राम्रो संविधान बन्ने अनमोल ज्ञान बताएको र सदैव साथ दिनेछौं भनेर गएको भनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमणको सार्थक संस्मरणलाई लिपिबद्ध गरिएको छ ।
धर्ती र नारी दुवै अरूकै निम्ति हाँस्छन् र बाँच्छन् अनि फोहोर निलेर मोहोर बर्साउँछन्, त्यसैले कविले माया, ममता, सहनशीलता, सिर्जनशीलता आदि धेरै कुराले गर्दा धर्ती र नारीमा समानता देखेर त्यसको चित्र कोरेका छन् ।
सानो छँदा नेपाल आमाका सन्तानले पढी लेखी ज्ञानी बन्नेछौं भन्थे र आँखाका नानी बन्थे तर आजकल तिनै बच्चाबच्ची लडिरहेका छन्, एकअर्कामा आँखा तरिरहेका छन्, सेवा प्यारो भनेर मेरा प्यारो ठान्दैछन् र पैलो आप्mनो बोली बिर्सेर आफ्नै झोली भिर्दैछन् । त्यसैले आफूलाई पाल्ने र पोस्ने आमालाई यस्ता कच्चा बच्चाले छाना, खाना र नाना देलान् भन्ने कुरामा कविलाई शङ्का छ ।
‘धनको भोक’ कवितामा चित्तमा बाबुआमा नै महान् ठान्ने एउटा सानो जहान थियो र जसको कटेरामा एकमाना खुसी पाक्थ्यो तर सन्तानमा जब सम्पत्ति कमाएर छाड्ने महारोग लाग्यो तब उसले आकाशपाताल छाम्न थाल्यो, आमाबुबाका कुरा सुन्न छाड्यो, अहोरात्र खटेर करोडौं कमाई अहङ्कारले तम्तमायो, श्रीमती, छोराछोरी र आफन्तीसँग बस्न पनि जानेन, उसमा सेवाभाव पनि हराउँदै गयो र आमाबुबा, श्रीमती, बालबच्चा आदि सबै नाताहरू टुटाएर धनको मृगतृष्णामा लागेको त्यस्तो वर्तमान युवापुस्ताको सजीव चित्रण गरिएको छ ।
‘देश तिम्रो बचाऊ’ कवितामा उपल्लो र तल्लो भेक हेरेर, नबल्ने दियाको धुँवा हटाएर, झुकेका अस्मिता, काँध, व्यापार, नदी, सिमाना र राष्ट्रिय झन्डाहरू उठाएर युवाशक्तिलाई सञ्जीवनी बुटी दिएर ब्युँझाउँदै जलेको देशलाई बचाउन महादेवसँग प्रार्थना गरिएको छ ।
‘मेरी धरती’ कवितामा कविले अरुण उषाको लाली झैं नेपाल आमालाई मुसुमुसु हँसाउने चाहना व्यक्त गरेका छन् । ‘अठोट’ कवितामा कसैले साथ दिए वा नदिए पनि देशका लागि केही न केही महान् कर्म गर्नुपर्छ, यो देश छाडेर कुनै चम्किलो देशमा गुड्नु छैन, छरेदेखि र गरेदेखि यही देशमा नहुने केही पनि छैन, एक्लै भए पनि देश उचाल्नुपर्छ, आफू सङ्लिएमा देश सङ्लिन्छ र आफू अग्लिएमा देश पनि अग्लिन्छ भन्ने अठोट गर्दै कविले विकासे नदी देशमा देशलाई पौडाउने अभिलाषा व्यक्त गरेका छन् ।
‘तिमी आइदिन्थ्यौ’ भने कवितामा विदेशिएका युवाहरू आइदिए मरेका आसहरू जाग्थे, नेपालको प्राणसञ्चार हुन्थ्यो, स्वास्थ्य क्षेत्र र धर्मका नेत्रहरू बिरामी भएकाले तिनको पूर्ण स्वास्थ्योपचार हुन्थ्यो र आमाका सबै अश्रुधाराहरू पनि हराएर जान्थे भन्ने कामना गरिएको छ ।
नयाँ नयाँ पसिनाले ‘देश सिँच्ने बनू म’ भन्ने सन्दर्भमा कविले आप्mनो ध्यान मुलुकतिर नै जान सकोस् र जनताको मन छोएर जनताकै धन हुन सकियोस् भन्ने अपेक्षा गरेका छन् ।
‘यसरी मरूँ’ कवितामा देशका निम्ति जलेर, दीप बनेर, मन उच्च गरेर, नवीन सपना खनेर, अभाव र भोक तरेर, पढेर वा परेर, असीमित रोगसँगै लडेर मर्न पाइयोस् तर निराश, उदास र अरूको भरिया बनेरचाहिँ मर्नु नपरोस् भन्ने कामना गरिएको छ ।
‘गरीब’ म कवितामा आजन्म सीमान्त भई चेपिएको, रक्त सुकाएर सयौं बगैंचा अनि सबै ऊर्जा खन्याएर सयौं आवास बनाए पनि, हड्डीहरू गलाए पनि, चुलेसा, कुलेसा र पुलेसाहरू बनए पनि व्यथाबाट तर्न र आप्mनो गरिबी अवस्थाको अन्त्य हुन नसकेको र कसैले आफ्नो जिन्दगीको कथा र व्यथा बुझ्न नसकेको हुँदा वर्तमानमा आफ्नो बस्ने गाउँ, हाँस्ने ठाउँ, ओत्ने छाना, छोप्ने नाना र अन्न उब्जाउनका लागि माटो पनि नभएका गरिबको कारुणिक अवस्थाको चित्रण गरिएको छ ।
देशमा सहिदका ‘सपना सपनै रहे’, प्रगतिका रटानहरूको अन्त हुन सकेन, वास्तविक परिवर्तन हुन नसक्ता खुसीको नर्तन पनि हुन सकेन, अनेकौं वसन्तहरू फूल नफुलीकन गए, मुलुकमा अघासुरहरूकै अधिकार व्याप्त छ तर व्यथितहरूमा उल्टै वज्र प्रहार भएको भयै छ । प्र
